व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने, रोजगारीका आन्तरिक र बाह्य बजारमा सजिलै खपत हुन सक्ने, नैतिकवान् र राष्ट्रिय हितप्रति समर्पित नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षामा पहुँच नागरिकको अधिकार र राज्यको दायित्व हो । शिक्षाको गुणस्तर अभिवृद्धि जति अपरिहार्य छ, त्यति नै चुनौतीपूर्ण पनि छ । यस आलेखमा गुणस्तरीय शिक्षाका लागि चाहिने आधारभूत पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
गुणस्तरीय शिक्षाका लागि सर्वप्रथम विद्यालयमा राष्ट्रिय मापदण्डबमोजिमका आवश्यक न्यूनतम भौतिक पूर्वाधारको व्यवस्था हुनु पर्छ । स्थानीय भूगोल र हावापानी अनुकूल तथा विद्यार्थी सङ्ख्याको अनुपातमा चिसो र धुलोमुक्त कक्षाकोठा, कार्यालय, शिक्षक कक्ष, सभाकक्ष, विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला र पुस्तकालयका लागि छुट्टै कोठाको व्यवस्था हुनु पर्छ । खेल मैदान, सफा र स्वच्छ खानेपानी भएको बालमैत्री धारा, साबुनपानीसहितको शौचालयको व्यवस्था हुनु पर्छ । त्यस्तै विद्यालय हातालाई सुरक्षित हुने गरी घेरबारको व्यवस्था गर्नु पर्छ । आवश्यक न्यूनतम भौतिक पूर्वाधारबिना सिक्ने र सिकाउने कार्य गुणस्तरीय हुन सक्दैन ।
कक्षाकोठामा गरिने शिक्षण सिकाइ क्रियाकलापका माध्यमबाट नै विद्यार्थीले पाठ्यक्रममा तोकिएका सिकाइ उपलब्धि हासिल गर्छन् । बालमैत्री र गुणस्तरीय शिक्षण सिकाइमा कक्षाकोठाको वातावरण प्रमुख निर्धारक तत्व हो । कक्षाकोठा भौतिक र मनोवैज्ञानिक दृष्टिले बालमैत्री र सिकाइ अनुकूल हुनु पर्छ । विद्यार्थीलाई कक्षाकोठाको बसाइ आरामदायी र उत्प्रेरणामूलक हुनु पर्छ । विद्यार्थी सङ्ख्या र उमेर अनुसार आवश्यक फर्निचरको व्यवस्था, पर्याप्त प्रकाश र स्वच्छ हावाको ओहोरदोहोर हुने तथा बाहिरी आवाज र हल्लाबाट मुक्त कोठा चाहिन्छ । सबैले सजिलै देख्न सक्ने गरी लेख्ने बोर्ड (ब्ल्याकबोर्ड वा ह्वाइटबोर्ड) को व्यवस्था भएको, श्रव्यदृश्य सामग्रीको प्रदर्शनका लागि बिजुली र प्रोजेक्टर आदि उपकरणको व्यवस्था जरुरी हुन्छ । शिक्षकले अपाङ्गता र विशेष आवश्यकता भएका विद्यार्थीलाई सुविस्ता हुने गरी बसाइ व्यवस्था मिलाउनु पर्छ । कक्षाकोठाको बसाइ सबै विद्यार्थीमा आत्मसम्मान, सुरक्षा र समानता अनुभूति हुने किसिमको हुनु पर्छ ।
विद्यार्थीमा विषयवस्तुको ठोस धारणा दिन र शिक्षण सिकाइलाई रोचक, प्रभावकारी र दिगो बनाउन विषयवस्तुको प्रकृति अनुसार प्रयोग गरिने विभिन्न सामग्री नै शैक्षिक सामग्री हुन् । शैक्षिक सामग्रीबिनाको शिक्षण निरश र सिकाइ पट्यारलाग्दो हुन्छ । शैक्षिक सामग्रीको प्रयोगले विद्यार्थीमा सिकाइप्रतिको अभिरुचि पैदा गर्छ । तसर्थ विषयवस्तु अनुसारका पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्छ । सिकाइलाई स्थानीय परिवेश र दैनिक जीवनसँग जोड्न स्थानीय कच्चा पदार्थ, सिप र श्रममा आधारित शैक्षिक सामग्रीको निर्माण र प्रयोगमा जोड दिनु पर्छ । शैक्षिक सामग्रीको व्यवस्था गरिसकेपछि यसको प्रयोग र संरक्षणमा पनि ध्यान दिनु पर्छ । बुक कर्नर, पुस्तकालय र पत्रपत्रिका पढ्ने ठाउँको व्यवस्था हुनु पर्छ । विद्यालयमा इन्टरनेट सुविधा चाहिन्छ ।
विद्यार्थी शिक्षण सिकाइको केन्द्रबिन्दु हुन् । विद्यार्थीको अर्थपूर्ण सहभागिताबिना शिक्षाका लागि गरिएको लगानी र जुनसुकै पूर्वाधार निरर्थक हुन्छन् । शिक्षाका निर्धारित उद्देश्य हासिल गर्न र शिक्षालाई गुणात्मक बनाउन विद्यार्थीको सक्रिय सहभागिता अपरिहार्य छ । प्रथमतः विद्यालय उमेरका सबै बालबालिका विद्यालय भर्ना गर्नु पर्छ । भर्ना भएकालाई नियमित विद्यालय आउन र सिकाइप्रति उत्प्रेरित गर्नु पर्छ । कक्षाकोठाभित्रको शिक्षण सिकाइमा सबै विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्नु पर्छ । शिक्षकले सबै विद्यार्थीमा दृष्टि पु¥याई सिकाइ क्रियाकलापमा कम सक्रिय रहेका, कक्षाकोठाको पछाडि बस्ने र अन्तर्क्रियामा कम सहभागी हुने विद्यार्थीमा विशेष ध्यान दिई उनीहरूलाई सिकाइप्रति उप्रेरित गर्नु पर्छ ।
कक्षाकोठाको बसाइ र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनमा विद्यार्थीले कुनै भौतिक, सामाजिक एवं मनोवैज्ञानिक कठिनाइ अनुभूत गरेका रहेछन् भने शिक्षकले त्यसको तत्परतापूर्वक पहिचान र निराकरण गरी सिकाइमा सक्रिय सहभागिताका लागि सहजीकरण र मूलप्रवाहीकरण गर्नु पर्छ । विद्यार्थीका जिज्ञासाको समान रूपमा सुनुवाइ र समाधान गर्नु पर्छ । विद्यार्थीबाट आउने नवीन विचार र नवप्रवर्तनात्मक सोचलाई प्रोत्साहन गर्नु पर्छ । शिक्षण सिकाइमा विद्यार्थीको सहभागिता र सक्रियताको शिक्षकले अनुगमन गरी सुधार गर्नु पर्छ ।
शिक्षासम्बन्धी राष्ट्रिय दर्शनको कार्यान्वयनकर्ता, सिकारुको सहजकर्ता, पथप्रदर्शक र उत्प्रेरक हो, शिक्षक । शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरमा भर पर्छ । सबै विद्यालयमा आवश्यक न्यूनतम शिक्षकको व्यवस्था हुनु अपरिहार्य छ । दरबन्दी मिलान र विद्यालय समायोजनका माध्यमबाट मौजुदा शिक्षक दरबन्दी आवश्यकताका आधारमा पुनर्वितरण गर्नु पर्छ । सामुदायिक स्रोतबाट सञ्चालन गर्ने गरी अनुमति प्राप्त विद्यालयमा स्थानीय तहबाट स्रोत व्यवस्था गरी आवश्यक न्यूनतम शिक्षकको व्यवस्था गर्नु पर्छ । शिक्षण पेसालाई आकर्षक र मर्यादित बनाई प्रतिभावान् जनशक्ति भित्र्याउने र टिकाउने व्यवस्था हुन आवश्यक छ ।
गुणस्तरीय शिक्षण सिकाइका लागि विद्यालयको सञ्चालन र व्यवस्थापन प्रभावकारी बनाउनु पर्छ । अभिभावकको सहभागिता र अपनत्वबिना त्यो सम्भव छैन । विद्यालय व्यवस्थापन समितिमा अभिभावकको सार्थक सहभागिता चाहिन्छ । व्यवस्थापन समितिमा वास्तविक अभिभावकलाई छनोट गरेर पठाउन सकिएमा मात्र विद्यालय व्यवस्थापन प्रभावकारी र अभिभावकको स्वामित्व एवं अपनत्व कायम हुन सक्छ । अभिभावकले विद्यालयको विकासमा योगदान गर्न सक्ने, सक्षम र अब्बल व्यक्तिमध्येबाट मात्र व्यवस्थापन समितिमा पठाउनु पर्छ । विद्यालयको विकासका लागि समुदायमा भएको साधनस्रोत, श्रम, सिप र ज्ञान विद्यालयका लागि उपयोग गर्नु पर्छ । विद्यार्थीको सिकाइ उपलब्धि र समग्र व्यक्तित्व विकासबारे विद्यालयले अभिभावकसँग निरन्तर अन्तर्क्रिया र छलफल गरी पृष्ठपोषण लिने काम गर्नु पर्छ । व्यवस्थापन समितिले विद्यालयका शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्ने र विद्यालयको निरन्तर अनुगमन गरी सुधारमा सहजीकरण गर्नु पर्छ ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो । सिकाइका परम्परागत विधि र सामग्रीले त्यो सम्भव छैन । शिक्षामा जति आधुनिक प्रविधिको प्रयोग गर्न सकियो भने अहिलेको सन्दर्भमा शिक्षाको गुणस्तर पनि त्यत्ति नै बढ्दै जान्छ । यसका लागि सूचना तथा सञ्चारलगायत आधुनिक प्रविधिमा विद्यार्थीको पहुँच हुन आवश्यक छ । शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग बढाएर मात्र शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ ।
गुणस्तरीय शिक्षाका लागि शिक्षण सिकाइ प्रक्रियाको पनि गुणात्मकता अभिवृद्धि आवश्यक हुन्छ । विद्यार्थीकेन्द्रित शिक्षण विधि अवलम्बन गर्नु पर्छ । गरेर सिक्ने, प्रत्यक्ष अवलोकन, परियोजना कार्य र जानकारसँगको छलफल जस्ता कार्यका माध्यमबाट सिकाइमा विद्यार्थीलाई अधिकतम सहभागी गराई शिक्षक सहजकर्ताका रूपमा रहने र मार्गदर्शन गर्नु पर्छ । साथै सिकाइलाई यथाशक्य काम, दैनिक जीवन र स्थानीय परिवेशसँग जोड्नु पर्छ । विद्यार्थी विश्व बजारमा आवश्यक पर्ने ज्ञान, सिप र दक्षताका साथै स्थानीय परम्परागत ज्ञान, सिप, पेसा, व्यवसाय, संस्कृति र सम्पदाबारे जानकार भई यसको संरक्षण, संवर्धन र उपयोगमा सक्षम हुनु पर्छ । सिकाइलाई क्रियाकलापमुखी बनाउनु पर्छ । सिकाइ सँगसँगै मूल्याङ्कन र सुधार गर्दै जानु पर्छ ।
शिक्षकलाई शिक्षण सिकाइका क्रममा आइपर्ने विविध समस्याको पहिचान र समाधान, विद्यार्थीका विविधताको सम्बोधन, शिक्षण सिकाइका क्षेत्रमा आएका नवीनतम अवधारणा, ज्ञान, सिप र प्रविधिसँग अद्यावधिक गराई राख्न निरन्तर पेसागत सहयोग र क्षमता विकास आवश्यक हुन्छ । यसका लागि विभिन्न तालिम, कार्यशाला, अन्तर्क्रिया, अवलोकन भ्रमण आदिको पर्याप्त अवसर प्रदान गर्नु पर्छ । अध्ययन, अनुसन्धान, नवप्रवर्तन र स्वाध्ययनका लागि प्रोत्साहन गरी अन्तरनिहित प्रतिभा र सम्भावनाको प्रस्फुटनको अवसर दिनु पर्छ । शिक्षकले देखाएको सृजनात्मकता र नवप्रवर्तनलाई यथोचित कदर र प्रोत्साहन गर्नु पर्छ । विद्यालयको नियमित अनुगमन र सुपरिवेक्षण तथा कक्षाकोठाको शिक्षण सिकाइको अवलोकन गरी समस्याको पहिचान र समाधान, कार्यसम्पादनको उचित मूल्याङ्कन गरी शिक्षक कर्मचारीलाई उत्तरदायी बनाउँदै विद्यालय सुशासन प्रवर्धन गर्नु पर्छ ।
अन्त्यमा शिक्षा विकास र समृद्धिको वाहक हो भने विद्यालय शिक्षा त्यसको आधारशिला हो । विद्यालय शिक्षाको लगानी (इनपुट) र प्रक्रिया (प्रोसेस) गुणस्तरीय हुन सकेमा मात्र यसको उत्पादन पक्ष गुणस्तरीय हुन्छ । यसका लागि विद्यालयमा भौतिक पूर्वाधार, आवश्यक मानवीय स्रोतको व्यवस्था र उपयोग, प्रविधिको प्रयोग, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, अभिभावक संलग्नता र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था हुनु पर्छ ।