समकालीन विश्व व्यवस्थाले गरिबी घटाउन सकेन । अहिले धेरै मुलुकले पुँजीवादी व्यवस्था अङ्गीकार गरेका छन् । केही थोरै मुलुक समाजवादी व्यवस्थामा र केही मुलुक राजतन्त्रवादी व्यवस्थामा छन् । व्यवस्था जे अङ्गीकार गरे पनि विश्वमा धनी झन् झन् धनी हुँदै जाने र गरिब झन् झन् गरिब हुने अवस्था अन्त्य भएन । यसले मानवताका लागि दिइएको समानता र स्वतन्त्रताको नारालाई चुनौती दिन थालेको छ । धनी र गरिबबिच बढ्दो खाडल पुर्न विश्वका धनी देश र धनी मानिसले गरिब देश र गरिब मानिसका लागि त्याग गर्नु पर्छ । गरिब राष्ट्रमा लगानी र सहयोग बढाउनु पर्छ । अहिलेको ढङ्गले धनी र गरिबबिच असमानता बढ्दै गयो भने भोलि बाध्य भई विद्रोह गर्नुपर्ने अवस्था आउन सक्छ, किनभने भोको पेटले कानुन जान्दैन ।
विश्वको जनसङ्ख्या अहिले आठ अर्बभन्दा केही बढी पुगेको छ भने करिब एक अर्ब मानिस अझै पनि गरिबीको रेखामुनि छन् । अफ्रिका महादेशका ३३ देश, उत्तर अमेरिका महादेशको एउटा देश, एसिया महादेशका नौ वटा देश र प्रशान्त क्षेत्रका तीन वटा गरी ४६ वटा देश गरिब छन् । सम्पन्न ठानिएका अमेरिकी र युरोपेली देशमा पनि धनी र गरिब मानिसबिच ठुलो खाडल देखिएको छ । विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएका एसियाका दुई ठुला विकासशील मुलुक भारत र चीनमा पनि यो समस्या विकराल बन्दै छ । सीमित मानिस छोटो अवधिमा डलर अर्बपति बनेका छन् भने धेरै मानिसको दिनचर्या निम्न वर्ग र मध्यम वर्गबाट माथि उठ्न सकेन ।
लामो समयसम्म युरोपेली मुलुकको औपनिवेशिक शोषण र दमनमा परेका अफ्रिकाका धेरै मुलुक अहिले पनि गरिबीबाट मुक्त हुन सकेका छैनन् । यसरी गरिबीको पीडा भोगिरहेका मुुलुकमा अङ्गोला, बेनिन, बुर्किना फासो, बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, चाद, कोमोरोस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, जिबुटी, इरिट्रिया, इथियोपिया, गिनी, गिनी बिसाउ, लेसेथो, लाइबेरिया, माडागास्कर, मलावी, माली, मौरिटानिया, मोजाम्बिक, नाइजर, रुबान्डा छन् ।
त्यसै गरी अन्य अफ्रिकी मुलुक साओ तोमे र प्रिन्सिप, सेनेगल, सिएरालियोन, सोमालिया, दक्षिण सुडान, सुडान, तान्जानिया, गाम्बिया, टोगो, युगान्डा र जाम्बिया पनि गरिबीको चपेटामा परेका गरिब मुलुक हुन् ।
उत्तर अमेरिका महादेशमा एउटा मात्र देश हैटी चरम गरिबीको मारमा छ । कालाजातिको पहिलो गणतान्त्रिक मुलुक भएर पनि यो देश कठिन अवस्थामा छ । एसिया महादेशमा अफगानिस्तान, नेपाल, बङ्गलादेश, भुटान, कम्बोडिया, पूर्वी टिमोर, लाओस, म्यानमार र यमन गरिबीबाट माथि उठ्न सकेनन् । त्यसै गरी प्रशान्त क्षेत्रका किरिबाटी, सोलोमन द्विप र तुवालुले पनि गरिबीको भारी बोकिरहेका छन् ।
आजको यथार्थ के हो भने धनी देश र धनी व्यक्तिले हृदयदेखि मन खोलेर लगानी र सहयोग नगर्ने हो भने यथास्थितिमा यी ४६ वटा गरिब देशलाई तत्काल विकासशीलसम्म बनाउन सक्ने अवस्था पनि देखिएन । एकातिर धनी मानिसलाई धेरै खाएर अपच हुने अवस्था अर्कातिर गरिब मानिसले दुई छाक खान नपाएर भोकै बस्नुपर्ने यस्तो विरोधाभाष तस्बिरले एक्काइसौँ शताब्दीको समृद्धि, शान्ति र सभ्यतालाई गिज्याइरहेको छ । मानिसको आधारभूत आवश्यकता गाँस, बास र कपास साथसाथै स्वास्थ्य, शिक्षा र रोजगारीका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन । सबै मानिसलाई सुखी र खुसी हुने रहर हुन्छ । यसका लागि सबैभन्दा ठुलो जिम्मेवारी राज्यको हो । राज्यले सबैलाई समान अवसर दिँदै समान व्यवहार गरे मात्र सुखी बन्न र खुसी हुन सकिन्छ । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्दा धेरै मानिस सुखी र खुसी हुने सकेका छैनन् ।
आज वितरण प्रणाली न्यायोचित नहुँदा पर्याप्त खाद्यान्न र पानी हुँदाहुँदै पनि गरिब मानिसले सहज रूपमा पाउन सकेका छैनन् । आउँदा दिन जलवायु परिवर्तनको असरले विश्वमै पर्याप्त खाद्यान्न उत्पादन नहुने र पानीका स्रोत पनि सुक्दै जाने खतरा बढेकाले खाद्यान्न र पानीकै लागि युद्ध र द्वन्द्व हुने छ, जसले मानव जीवनलाई झन् जटिल र कठिन बनाउने छ ।
विश्व अर्थतन्त्रको आकार बढेर अहिले १०१.७ ट्रिलियन डलर अर्थात् एक हजार १७ खर्ब डलर पुगेको छ । विश्वमा अहिले भइरहेको कुल खाद्यान्न उत्पादनको समुचित वितरण हुने हो भने कोही पनि मानिस भोकै बस्नु पर्दैन, सबैलाई पर्याप्त खान पुग्छ । यति ठुलो अर्थतन्त्रको आकार र खाद्यान्न उत्पादन हुँदाहुँदा पनि विश्वमा गाँस, बास र कपासकै समस्या किन समाधान हुन सकेन ? सबै विश्ववासीले पेटभरी खान पाउने अवस्थाको व्यवस्थापन गर्न किन सकिएन ? विश्वको कुल उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्दा नै यो समस्या आएको होइन र ? विश्वको अधिकांश धन र सम्पत्ति सीमित देश र सीमित व्यक्तिको हातमा मात्र किन थुप्रिँदै गयो ? अब यसको समधान खोज्न ढिलो गर्नु हुँदैन ।
विश्वका ठुला अर्थतन्त्र भएका १० मुलुकको हातमा विश्व अर्थतन्त्रको ७० प्रतिशत हिस्सा पुगेको छ भने अहिलेका दुई हजार ७८१ डलर अर्बपतिको हातमा मात्र १४.२ ट्रिलियन डलर सम्पत्ति छ । अहिले विश्वमा सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिका हो । उसको अर्थतन्त्र २७.९७४ ट्रिलियन डलर पुगेको छ । त्यसै गरी, दोस्रो ठुलो अर्थतन्त्र चीनको १८.५६६ ट्रिलियन डलर, तेस्रो अर्थतन्त्र भएको जर्मनीको ४.७३० ट्रिलियन डलर, चौथो अर्थतन्त्र भएको जापानको ४.२९१ ट्रिलियन डलर र पाँचौँ अर्थतन्त्र भएको भारतको ४.११२ ट्रिलियन डलर छ । त्यस्तै छैटौँ अर्थतन्त्र भएको बेलायतको ३.५९२ ट्रिलियन डलर, सातौँ अर्थतन्त्र भएको फ्रान्सको ३.१८२ ट्रिलियन डलर, आठौँ अर्थतन्त्र भएको इटालीको २.२८० ट्रिलियन डलर, नवौँ अर्थतन्त्र भएको ब्राजिलको २.२७२ ट्रिलियन डलर र दसौँ ठुलो अर्थतन्त्र भएको क्यानडाको २.२४२ ट्रिलियन डलर रहेको छ ।
विश्वमा डलर अर्बपतिको सङ्ख्या पनि बढ्दै गएको छ । गत वर्षभन्दा १४१ जना डलर अर्बपतिको सङ्ख्या थपिएर यस वर्ष विश्वमा डलर अर्बपतिको सङ्ख्या दुई हजार ७८१ पुगेको हो । उनीहरूको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा दुई ट्रिलियन डलर धेरै हो । अर्बपतिमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ ।
शीर्ष २० जना अर्बपतिको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्षभन्दा उनीहरूको कुल सम्पत्तिमा सात खर्ब डलर वृद्धि भएको छ । सर्वाधिक अर्बपति भएको देशका रूपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा ८१३ जना अर्बपति छन् । दोस्रो स्थानमा रहेको चीनमा ४७३ जना अर्बपति छन् । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपति दुई सय जना पुगेका छन् ।
विश्वका शीर्ष २० अर्बपतिमध्ये फ्रान्सका बर्ना आर्नो पहिलो नम्बरमा हुनुहुन्छ । लुई भिटन तथा सेफोरालगायतका फेसन तथा कस्मेटिक ब्रान्डका मालिक आर्नोको सम्पत्ति दुई खर्ब ३३ अर्ब डलर छ ।
दोस्रो नम्बरमा रहनुभएका एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कुल सम्पत्ति एक खर्ब ९५ अर्ब डलर छ । तेस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति एक खर्ब ९४ अर्ब डलर छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग एक खर्ब ७७ अर्ब डलरसहित चौथो नम्बरमा हुनुहुन्छ । ओरेकलका संस्थापक ल्यारी इलिसन एक खर्ब ४१ अर्ब डलरसहित पाँचौँमा, वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेट एक खर्ब ३३ अर्ब डलरसहित छैटौँमा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स एक खर्ब २८ अर्ब डलरसहित सातौँमा, माइव्रmोसफ्टका पूर्वसिइओ बाल्मर एक खर्ब २१ अर्ब डलरसहित आठौँमा, भारतीय उद्यमी र रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एक खर्ब १६ अर्ब डलरसहित नवौँमा, गुगलका संस्थापक ल्यारी पेज एक खर्ब १४ अर्ब डलरसहित १० औँ स्थानमा हुनुहुन्छ ।
त्यसै गरी गुगलका सहसंस्थापक सर्गेइ ब्रिन एक खर्ब १० अर्ब डलरसहित एघारौँमा, वित्त तथा लगानी क्षेत्रका माइकल ब्लुम्बर्ग एक खर्ब छ अर्ब डलरसहित बाह्रौँमा, स्पेनका फेसन तथा रिटेल क्षेत्रका अमान्सियो ओर्टेगा एक खर्ब तीन अर्ब डलरसहित तेह्रौँमा, ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठुलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक कार्लोस स्लिम हेलु एक खर्ब दुई अर्ब डलरसहित चौधौँमा, एल ओरियल ब्रान्डका मालिक फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स ९९ अर्ब ५० करोड डलरसहित पन्ध्रौँमा, माइकल डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सिइओ माइकल डेल ९१ अर्ब डलरसहित सोह्रौँमा, अडानी ग्रुपका अध्यक्ष गौतम अडानी ८४ अर्ब डलरसहित सत्रौँमामा, फेसन तथा रिटेल क्षेत्रका जिम वाल्टन ७८ अर्ब ४० करोड डलरसहित अठारौँमा, वालमार्टका रब वाल्टन ७७ अर्ब ४० करोड डलरसहित उन्नाइसौँमा र ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सिइओजेन्सेन हुआङ्ग ७७ अर्ब डलरसहित बिसौँ स्थानमा हुनुहुन्छ ।
अतः विश्वका धनी देश र डलर अर्बपतिले आफ्नो सम्पत्तिको एकतिहाइ अंश मात्र गरिब देश र गरिब मानिसका लागि खर्च गर्ने हो भने विश्ववासी कोही पनि भोको, नाङ्गो र बेरोजगार भएर बस्नु पर्दैन । गरिबी र बेरोजगारी विश्वकै समस्या हो । यो समस्या समाधान भएन भने विद्रोह र अशान्तिको कारण नै यही बन्ने छ । विश्व धनी देश र धनी मानिसको मात्रै पेवा होइन, सबैको साझा घर हो । विश्ववासी जहाँ बसे पनि स्वतन्त्र र स्वाभिमानी भएर बाँच्न पाउनु पर्छ । विश्व व्यवस्थाले धनी देश र धनी मानिसको मात्र हित संरक्षण गर्ने, उनीहरूको मात्र स्वार्थ पूरा गरिदिने, गरिब र बेरोजगार मानिसलाई बेवास्ता गर्दै जाने हो भने धनी देश र धनी मानिस सम्पन्न भए पनि शान्तिपूर्ण रूपले बाँच्न र सुरक्षित हुन पाउने छैनन् । अन्याय र अत्याचार बढ्दै जाने, शोषण र दमन कायमै रहने हो भने विद्रोह, हिंसा र विध्वंशलाई रोक्न सकिने छैन । विश्व शान्ति नारामा सीमित हुने छ ।