विद्यार्थीहरू कोही आफैँ पढेर जान्न चाहन्छन्, जसलाई शिक्षकको सङ्केत मात्र पर्याप्त हुन्छ । कोही नपढेरै जान्न चाहन्छन्, जो शिक्षकमा पूर्ण निर्भर हुन्छन् । केही विद्यार्थी यस्ता हुन्छन्, जो न जान्न नै चाहन्छन् न त नजान्न नै । उनीहरूलाई आफ्नो उद्देश्यको बारेमा पनि धेरै थाहा हुँदैन । केवल साथीभाइसँग भेटघाट र रमाइलो गर्न उनीहरू कक्षाकोठासम्म आइपुगेका हुन्छन् । तीनथरि विद्यार्थीको उपस्थितिमा एउटा शिक्षकले कक्षाकोठामा आफूलाई प्रस्तुत गर्दा असाध्यै सन्तुलन मिलाउनुपर्ने हुन्छ ।
शिक्षक एउटा स्वभाव समूह मात्रको प्रशिक्षक नभएर सबै विद्यार्थीको गाइड हो । त्यसैले एकथरि विद्यार्थीलाई सम्बोधन गर्दा अर्को स्वभाव समूह चिढिने भयो भने शिक्षक कक्षाकोठामा असफल हुन जान्छ । एउटा शिक्षक कक्षाकोठामा सफल हुनका लागि उसले मध्यमार्गी बाटोमा हिँड्नुपर्ने त हुन्छ नै तर धेरै जसो समय मध्यमार्गी बनेरै पनि उसले बेला बेलामा उच्च स्मरणशक्ति र निम्न स्मरणशक्ति भएका विद्यार्थीलाई पनि सुटुक्क उत्प्रेरणा जगाइरहेको छनक दिइरहनु पर्छ । कुनै कुनै शिक्षक तीक्ष्ण बुद्धि भएका विद्यार्थीलाई राम्रो मान्ने र कमजोर विद्यार्थीलाई घोचपेच मात्र गरिरहने खालका हुन्छन् । एउटा असल शिक्षक तीक्ष्ण बुद्धि भएका विद्यार्थीको मात्र शिक्षक नभएर कक्षाकोठामा उपस्थित सम्पूर्ण विद्यार्थीको पथप्रदर्शक बन्न कोसिस गर्नु पर्छ । त्यसै गरी कमजोर छात्रछात्रालाई लक्षित शिक्षण गर्दा तीक्ष्णलाई पट्यार लाग्दो हुन नदिन शिक्षक चनाखो हुनु पर्छ । शिक्षक विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै छन् भन्ने आरोप लागिरहेको बेला उनीहरू आफ्नो पेसामा इमानदार बन्नै पर्छ ।
विद्यार्थीले अभिरुचि राख्ने गरी गरिने प्रस्तुति, गृहकार्यमा जोड, सरल भाषाशैली, आफूले पढाउने पाठको पूरा तयारी र वैज्ञानिक शिक्षण विधिलाई शिक्षकले प्रत्येक कक्षाकोठामा हरेक दिन लागु गर्ने प्रयास गरिरहनु पर्छ । शिक्षण विधिलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा हरेक शिक्षकले पूर्वतयारी गर्नै पर्छ र पूर्वतयारीकै एउटा विधि अन्तर्गत ‘मजाक’ लाई कसरी कक्षाकोठामा प्रस्तुत गर्ने भन्ने सन्दर्भमा यस लेखमा केही कुरालाई केलाउने प्रयास गरिएको छ ।
शिक्षकहरू विभिन्न तरिकाबाट विद्यार्थीमाझ प्रस्तुत हुन्छन् । उनीहरूको अनुभव, योग्यता, क्षमता, वा एउटा निश्चित शैक्षिक वातावरणमा उनीहरूको आबद्धताले उनीहरूले विद्यार्थीतर्फ देखाउने व्यवहार निर्धारित गर्छ । कोही शिक्षक निकै कडा स्वभावका हुन्छन् । विद्यार्थीले उनीहरूलाई चुपचाप सुन्नै पर्छ । नत्र ती शिक्षक रिसाउँछन् । विद्यार्थीको प्रतिक्रियाको उनीहरूलाई खासै मतलव हुँदैन र त्यसलाई उनीहरू कुल्चिएरै कक्षा लिन्छन् । विद्यार्थी पनि अनुत्तीर्ण हुने डर, शिक्षकको डर र उच्च अङ्क ल्याउने आकाङ्क्षाले गर्दा यस्ता निरस कक्षा पनि शान्तसँग पढ्छन् तर कुनै कुनै शिक्षक विद्यार्थीको स्तर, रुचिलगायत पक्षलाई बुझेर विद्यार्थीले सिकाइ प्रक्रियालाई कसरी लिइरहेका छन् भन्ने कुरामा निकै सचेत हुन्छन् । यस्ता शिक्षकहरू प्रायःजसो आफ्नो शिक्षण विधिलाई प्रभावकारी बनाउन हरपल प्रयत्नरत हुन्छन् । ‘मजाक’ लाई विभिन्न व्यक्तिले फरक फरक ढङ्गबाट बुझेको देखिन्छ । कोही यसको प्रयोगलाई कक्षाकोठामा गरिने समयको बर्बादी, विषयवस्तुबाट बहकिने काम भन्ने ठान्छन् भने कोही यसलाई शिक्षकमा आएको परिपक्वता वा उच्च आत्मविश्वास जसले अप्ठेरो विषयलाई पनि सजिलोसँग बुझाउन सक्ने क्षमता ठान्छन् ।
शिक्षण विधिलाई प्रभावकारी बनाउन शिक्षकले ‘फन’ अर्थात् ‘मजाक’ लाई जानी नजानी सान्दर्भिक वा असान्दर्भिक प्रसङ्गमा प्रयोग गरेको पाइन्छ । कक्षाकोठामा मजाकको प्रयोगको कुरा गर्दा यो एक वैकल्पिकभन्दा पनि अनिवार्य तत्व नै हो । विलिएम ग्लासरका अनुसार जिविका, स्वतन्त्रता, स्वामित्व, शक्ति र मजाक मानिसलाई नभई नहुने मनोवैज्ञानिक आवश्यकता हुन् । अरू आवश्यकताका आआफ्नो ठाउँ अनुसारको महत्व होलान् तर उनका अनुसार विद्यार्थीले कक्षाकोठामा ‘मजाक’ को आवश्यकता पूरा गर्न सकेन भने कक्षा बाहिरका क्रियाकलापबाट यसको आनन्द खोजिरहेको हुन्छ ।
कक्षाकोठामा मजाकको प्रयोग गर्नु अति आवश्यक शिक्षण विधि हो । स्वयम् जीवन नै दुई दिनको मजाक हो भने यसलाई कक्षाकोठामा अनुपस्थित राख्नु पर्दैन । त्यसैले एउटा कक्षाकोठा मजाकबिना सञ्चालन गर्न खोज्नु हाम्रो कमजोरी हो । कृत्रिम वातावरण सभ्यताको पर्याय भए पनि एउटा व्यक्ति धेरै बेरसम्म कृत्रिम वा औपचारिक मात्र रहिरहन सक्दैन । प्रत्येक विद्यार्थीले शिक्षकबाट अनौपचारिक चटनी वा मजाकको अपेक्षा गरिरहेका हुन्छन् । शिक्षक औपचारिक रूपमा मात्र प्रस्तुत भएमा कक्षा प्रस्तुति निरस मात्र होइन, रिस उठ्दोसमेत हुन सक्छ । त्यसैले मजाकलाई विभिन्न सन्दर्भसँग जोडेर पस्कनै पर्छ । हाँसखेल गर्दै ज्ञान हासिल गर्ने विद्यार्थी शारीरिक र मानसिक रूपले सिर्जनशील र स्वस्थ हुन्छन् । मजाकको प्रयोग गर्दै अध्यापन गराउने शिक्षक र विद्यार्थीको आपसी सम्बन्धको दुरी पनि नजिक हुन्छ र उनीहरू कक्षाकोठाभन्दा बाहिरको सामाजिक वातावरणमा समेत एक आपसमा मित्रवत् व्यवहार गर्न सक्छन् ।
कक्षाकोठामा मजाकको प्रयोग गर्ने शिक्षकले कहिल्यै पनि आफूलाई बुढो भएको महसुस गर्नु पर्दैन भने विद्यार्थीमा पनि यसले हौसला, जिज्ञासा र सिर्जनशील बानीको विकास गर्छ । मजाकलाई कक्षाकोठामा प्रभावकारी शिक्षण गर्न प्रयोग गर्न सक्नु भनेको शिक्षणमा परिपक्वताको विकास गर्नु हो । यति हुदाहुँदै पनि मजाक त्यति सजिलो कला भने पक्कै होइन । जोन एम. क्यारोल र जे. थोमसका अनुसार यो न त त्यति सजिलो वा न गाह्रो कला हो तर विषयवस्तुमा निपुण नभईकन केवल समय कटाउन र विद्यार्थीलाई ठग्ने नियतको असान्दर्भिक मजाकलाई प्रोत्साहन गर्न हुँदैन । त्यसो गरिएमा यो दुर्घटनातर्फ उन्मुख हुन सक्छ । यदि मजाक प्रसङ्गबेगर प्रयोग भयो भने कक्षा कोठामा शिक्षण सिकाइको वातावरण खल्बलिन जान्छ । विद्यार्थीको नजरमा शिक्षक केवल हास्यकलाकार मात्र बन्न जाने सम्भावना हुन सक्छ ।
विद्यार्थीहरू सिक्दै गरेका व्यक्तिको समूह भए पनि यो एउटा बौद्धिक पस्काइलाई रुचाउने समूह हो । मजाकको नाममा गरिने भद्दा अभिव्यक्तिलाई विद्यार्थीले पनि मूल्याङ्कन गरिरहेका हुन्छन् । तसर्थ विद्यार्थीको स्तर र अभिरुचिलाई सम्बोधन गर्न सक्ने खालको मजाकको प्रयोगमा शिक्षकले ध्यान दिनु पर्छ । विषयवस्तुमा यथेष्ट ज्ञान र प्रसङ्गवश गरिने मजाकको प्रयोगले मात्र विद्यार्थीको सिकाइ सहज बन्छ । कक्षाकोठामा शिक्षकले मजाकको प्रयोग गर्दा विषयवस्तु गलत दिशामा मोडिन गई कक्षाकोठा तनावग्रस्त भई शिक्षकले बिचैमा छोडेर हिँड्नु परेका उदाहरण पनि हाम्रा अगाडि नभएका होइनन् । यसो हुनुका कारण शिक्षकको कमजोरी नै हो । विद्यार्थीको रुचि, स्वभाव, तह र अपेक्षालाई नबुझेर कक्षाकोठामा मजाक गर्दा प्रायः यस्तै हुने गर्छ । त्यसैले त मजाक एउटा परिपक्वताको स्थितिमा मात्र सफल हुन्छ । आफूले पढाउने विषयवस्तुमा दक्षता हासिल नगर्दै, विद्यार्थीले शिक्षकलाई आफ्नो गुरुको रूपमा नस्वीकार्दै यदि कुनै शिक्षकले मजाक गर्छ भने त्यसको परिणाम नराम्रो पनि हुन सक्छ । मजाकको सफल प्रयोग भनेको कक्षा कोठाभित्रको औपचारिक शिक्षण सिकाइको वातावरणलाई बचाउँदै शिक्षक विद्यार्थीबिचको सम्बन्धमा हुने गरेको लामो दुरीलाई घटाउन थोरै अनौपचारिक वातावरण निर्माण गर्नका लागि गरिएको प्रयास मात्र हो । यो विषयवस्तुको मूलभावबाट बहकिनु हुँदैन ।
मजाक विद्यार्थीलाई प्रसङ्गबाट बाहिरिन नदिन र पट्यारलाग्दो मुडलाई हटाउन प्रयोग गरिने एउटा औजार मात्र हो । यो शिक्षण विधिमा सबैथोक भने अवश्य होइन । मजाक मात्रको प्रयोगले कक्षा शिक्षण सफल हुँदैन । मूल कुरा त विषयवस्तुको ज्ञान नै हो । एउटा शिक्षक विद्यार्थीका लागि पठन संस्कृतिको रोलमोडल हुनु पर्छ । विद्यार्थीलाई आजीवन पढाइको भोक जगाउन, प्राप्त ज्ञानलाई न्याय, देश विकास तथा समाजहितमा लगाउन प्रेरित गर्न शिक्षक आफैँमा ज्ञानको भोक, विषयगत दक्षता र उच्च नैतिक चरित्र हुनु त पर्छ नै तर यो पनि पक्का हो कि विषयवस्तुको यथेष्ट ज्ञानले मात्र शिक्षण क्रियाकलाप सफल हुन सक्दैन । एउटा शिक्षक विषयवस्तुको दक्ष जानकारका हुनुका साथै ‘ह्युमर’ को चेतनासमेत भएको हुनु पर्छ । उक्त चेतना हास्यकलाकारकै सरह हुनु पर्छ भन्ने होइन तर हरेक विषयवस्तुलाई रसिकताका साथ बुझ्न सक्ने र त्यसै अनुसार आफ्ना विद्यार्थीलाई पनि बुझाउन सक्ने शिक्षक भयो भने त्यो सिकाइ जीवन्त हुने कुरामा सन्देह छैन ।