• ९ मंसिर २०८१, आइतबार

नयाँ वर्षको उमङ्ग

blog

विक्रम संवत् २०८१ हामीमाझ आएको छ । नयाँ वर्षको आगमनसँगै हामीमा उल्लास त छाउँछ नै । नयाँ थालनी र नयाँ सङ्कल्प पनि कतिपयले सुरु गर्छन् । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ शुभकामना आदानप्रदान गरिन्छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा विक्रम संवत्को पहिलो दिन हो ।

नयाँ वर्षमा गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने सङ्कल्प गर्ने चलन छ । साथै यस दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मिठोमिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना साटासाट पनि गरिन्छ । 

वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । हाम्रो देशमा विभिन्न संवत् प्रचलनमा छन् र तिनका नयाँ वर्ष विभिन्न तरिकाले मनाइन्छन् । विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते सुरु हुन्छ । लहरा तथा रुखबिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू तथा चराहरूको चिर्बिरले सजिएको वसन्त ऋतुको मनोरम दिनहरूसँगै उल्लास एवं आशा लिएर विक्रम संवत्को नयाँ वर्ष आगमन हुन्छ ।

नेपालको राष्ट्रिय पात्रो हिन्दु पञ्चाङ्गमा आधारित विक्रम संवत् अनुसार छ । यो प्राचीन हिन्दु परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवत्को पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन अघि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्रशमशेरको पालादेखि सुरु भएको हो । त्यसो त नयाँ वर्षलाई नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै विशेष उत्साह एवं उमङ्गका साथ मनाइने चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन । तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । 

विक्रम संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबिच मतैक्य भने छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भन्ने गरेका छन् तर यसको पनि पर्याप्त आधार पाइँदैन । भारतको मालवा राज्यमा गणतन्त्र आएपछि विक्रम संवत् त्यहीँबाट इसापूर्व ५७ देखि सुरु भएको पनि भनिन्छ । विक्रम संवत् सौरमान अनुसार सूर्य १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि कतिपयले जोडेर हेर्ने गरेका छन् ।

नयाँ वर्षका दिन काठमाडौँ उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्षसँगै मनाइन्छ । यसरी नयाँ वर्षका रूपमा प्रचलित मेष सङ्क्रान्ति अर्थात् वैशाख सङ्क्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । नयाँ वर्षका अवसरमा नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा पनि यसलाई लिइन्छ । 

मेष सूर्यको उच्च राशि हो । फेरि मेष राशिको स्वामी मङ्गललाई ज्योतिष शास्त्रमा सूर्यको मित्र राशि पनि मानिन्छ । यी दुई प्रक्रियालाई हेर्दा के भन्न सकिन्छ भने जसरी मित्रको घरमा गएर बस्दा आनन्द र खुसी प्राप्त हुन्छ, उच्च पदमा पुग्दा उत्सव मनाइन्छ, त्यसरी नै सूर्यको अवस्थिति विचार गरेर नयाँ वर्षका दिन उत्सव एवं माङ्गलिक कार्य गर्ने चलन चलेको हो । नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ, त्यसबाहेक वर्षभरिका तितामिठा पललाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउने गरिन्छ । 

नयाँ वर्ष मनाउँदा विभिन्न मठमन्दिरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गरिन्छ । नयाँ कपडा लगाइन्छ । वनभोज गइन्छ । रेस्टुराँ तथा क्याफेमा भेटघाट गरेर रमाइलो गरिन्छ । नयाँ वर्ष मनाउने सबैको आआफ्नै तरिका छ तर शुभ होस् भन्ने साझा उद्देश्य सबैमा पाइन्छ । यो दिन व्यक्ति वा सङ्घ संस्थाले गरेका वर्ष दिनको काम समीक्षा गर्ने दिन पनि हो । त्यसैले यो दिनबाट विगतमा गरेका कामबाट पाठ सक्दै भविष्य राम्रो बनाउन प्रयत्न गरिन्छ । कतिपय मानिसले नयाँ वर्षका दिनदेखि नयाँ कामको थालनी र आफ्नो कुलतबाट छुटकारा लिने सङ्कल्प पनि गर्छन् । नयाँ वर्षका दिन सार्वजनिक बिदा पनि हुन्छ । विक्रम संवत्बाहेक नेपालमा अन्य संवत् पनि मनाइन्छ । जस्तै ः नेपाल संवत्, इस्वी संवत्, हिजरी संवत् आदि हुन् । 

नेपाल संवत्लाई नेपालको मौलिक संवत् मानिन्छ । यसको सुरुवात शङ्खधर साख्वाले गरेका थिए । नेपाल संवत् ११४४ वर्ष पहिले चलाइएको थियो । यो संवत्को पहिलो दिन विक्रम संवत्को कार्तिक शुक्ल प्रतिपदा पर्छ । यो संवत्को सुरुवात दिनलाई विशेषतः नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । यो संवत्मा एक औँसीबाट अर्को औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन्छ । तीन वर्षमा एकचोटि अनला अथवा पुरुषोत्तम महिना पर्छ ।

इस्वी संवत् ग्रेगोरियन क्यालेन्डर वा क्रिश्चियन क्यालेन्डरमा आधारित संवत् हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्ष सुरु हुन्छ । यो दिन विशेष गरी क्रिश्चियन धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने गर्छन् तर हिजोआज विश्वका प्रायः सबै देशमा यस संवत्को नयाँ वर्षलाई मनाउँछन् । यो संवत् विश्वमै बढी चलेको संवत् मानिन्छ । नेपालमा पनि यो संवत् अनुसारको नयाँ वर्ष धूमधामका साथ मनाइन्छ ।

इस्लामी पञ्चाङ्ग वा क्यालेन्डर वा मुस्लिम क्यालेन्डर अनुसार हिजरी संवत् मनाइन्छ । यो चन्द्रमानमा आधारित क्यालेन्डर हो । इस्लामिक धार्मिक पर्व यसै पात्रो अनुसार मनाइने हुँदा यो संवत् इस्लामिक मुलुकका साथै विश्वभर छरिएर रहेका मुस्लिमले मान्छन् । यो संवत् अनुसार वर्षमा १२ महिना तथा ३५४ वा ३५५ दिन हुन्छन् । यस संवत्लाई हिजरा वा हिजरी पनि भनिन्छ । हजरत मुहम्मद मक्काबाट मदिना फर्किएको दिनदेखि हिजरी संवत् सुरु भएको मानिन्छ । इस्लामी क्यालेन्डरका महिना मुहर्रम, सफर, रबी अल अब्बल, रबी अल थानी, जुमाद अल उला, जुमाद अल थानी, रज्जब, शआबान, रमजाÞन, शआबान, धू अल किदाह र धू अल हिज्जाह हुन् । 

नयाँ वर्ष मनाउने तरिका

विभिन्न देशमा नयाँ वर्ष मनाउने भिन्नाभिन्नै मौलिक तरिका छन् । हाम्रो छिमेकी देश भारतमा स्थानपिच्छे नयाँ वर्ष मनाउने तरिका फरक फरक रहेको पाइन्छ । बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेँलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ । आसाममा यस दिन पशुको पूजा गरिन्छ । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मिठामिठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ । कुनै कुनै जातिमा त मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलनसमेत छ । 

छिमेकी देश चिनमा नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको सुरुवातसँगै सुरु हुन्छ । यो दिन आकाशमा नयाँ चन्द्रमा हुन्छ । १४ दिनपछि लालटिन पर्वसँगै नयाँ वर्षको रौनक समाप्त हुन्छ । चिनियाँ पात्रो र मितिहरू चन्द्रमामा आधारित हुन्छन् । चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) विश्वभर फैलिएका चिनियाँहरूले धूमधामका साथ मनाउँछन् । यस दिन साँझ चिनियाँहरू परिवारका सबै सदस्य जम्मा भई भोज खान्छन् । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइत जान्छन् । यो बेला चिनियाँहरू हजुरबा, हजुरआमा, आमाबा, साथी र नातेदारसँग भेटघाट पनि गर्ने गर्छन् । वृद्ध तथा विवाहित व्यक्तिले बालबालिकालाई रातो कागजले बेरेको प्याकेट दिन्छन् । त्यो प्याकेटभित्र पैसा हुन्छ, जुन भाग्यले दिएको विश्वास गरिन्छ ।

इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भनिन्छ । यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मिठामिठा परिकार खाएर एक आमसमा बधाई तथा शुभकामना आदानप्रदान गर्छन् । त्यसै गरी मङ्गोलियामा नयाँ वर्षका दिन रातभरि जागा रहेर आफ्ना आमाबा तथा मान्यजनबाट आशीर्वाद लिने तथा मिठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

खाडी मुलुक कुवेतमा नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाचगान गर्छन् । मेक्सिकोमा जनजातिको बाहुल्य भएको स्थानमा नयाँ वर्षका दिन चर्चमा गएर रमाइलो गर्छन् । यस दिन सामूहिक विवाह गर्ने चलन पनि छ । जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको धातुको भाँडामा सिक्का खसालेर त्यसको आकृतिलाई नियाली भविष्यवक्ताहरूले सर्वसाधारणको भविष्यवाणी गर्ने चलन छ ।

यसै गरी पोर्चुगलमा नयाँ वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभरि धुनी जगाएर पटाकाबाजी गरेर धूमधामका साथ रमाउने प्रचलन छ । बेलायतमा ३१ डिसेम्बरदेखि नै झिलिमिली बत्ती बालिन्छ । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाच्छन् भने रातको ठिक १२ बजे बढाइँ हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हो । 

   

Author

फणीन्द्र फुयाल ज्वाला