• ९ मंसिर २०८१, आइतबार

नेपाल–चीन पर्यटन सम्बन्ध

blog

नेपाल–चीन सम्बन्ध देशको औपचारिक तथा आधुनिक स्वरूपको निर्माण हुनुभन्दा पनि हजारौँ वर्ष पुरानो हो । इतिहासले स्थापना गरेको यो सम्बन्ध वर्तमानमा पनि सोही उच्च स्थानमा विराजमान गराउनु नेपाली तथा चिनियाँ नागरिकको दायित्व हो । यो दायित्व पूरा गर्न सरकारले नेपाल–चीनबिच नयाँ पर्यटकीय सम्बन्ध स्थापना गर्नु पर्दछ । अबको भविष्य पर्यटनवाद हो । प्रेम, भ्रमण र आर्थिक उन्नतिको एकीकृत दर्शन नै पर्यटनवाद हो । 

उपप्रधानमन्त्रीको भ्रमण 

गत मार्च २५ तारिखदेखि अप्रिल १ तारिखसम्म नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनको औपचारिक भ्रमण गर्नुभयो । हामी सबैले बुझ्नु पर्छ, यो औपचारिक भ्रमण थियो । उहाँले उक्त अवसरमा सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

उहाँले नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्नुभयो । भ्रमण खुद आफैँमा महत्वपूर्ण त थियो नै । यसको प्रमुख लक्ष्य पनि जनसम्बन्धकै विकास गर्नु थियो । जनसम्बन्धको आधार भनेकै भ्रमण तथा यात्रा हो । जनसम्बन्ध प्राकृतिक हुनु पर्छ । यो सम्बन्धलाई वास्तविक र प्राकृतिक बनाउने विशेष आधार नै पर्यटन हो । दुई मुलुकबिचको पर्यटन सम्बन्ध उत्कृष्ट छ भने मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध घनिष्ट हुन्छ । अन्यथा सम्बन्धहरू कागजमा सीमित रहन्छन् । 

पर्यटनको अवस्था 

नेपाल पर्यटन बोर्डका अनुसार यो मार्च २०२४ मा मात्रै एक लाख २८ हजार १६६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको तुलनामा यो २८.९ प्रतिशतले बढी हो, जसमा भारतबाट ३० हजार ६८९ र चीनबाट १२ हजार ०९३ जनाले भ्रमण गरेका छन् । भारत–नेपाल सम्बन्ध स्पष्ट धार्मिक पर्यटनसँग रहेको देखिन्छ, जसको सामाजिक, सांस्कृतिक महत्व छ भने चीनसँगको सम्बन्ध सम्पूर्ण प्रकारको पर्यटन तथा आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको देखिन्छ । 

भारतीय पर्यटक धेरैजसो धार्मिक पर्यटनकै लागि नेपाल भ्रमण गर्ने गर्दछन् भने चिनियाँहरू सबैखाले पर्यटन क्रियाकलापमा संलग्न हुन्छन् । तथ्याङ्कले भारतीय पर्यटकको सङ्ख्या बढी देखाए पनि प्रतिदिन प्रतिपर्यटक खर्च तथा पर्यटकको बसाइ दिन चिनियाँ पर्यटककै धेरै देखिन्छ । लामो समय कोरोनाको कारणले बन्द रहेको चिनियाँ अध्यागमन खुलेपछि गत वर्ष मार्चको तुलनामा ४.५९ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

नेपालको पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातको सकारात्मक वृद्धिले हाल देखा परेको अत्यन्तै न्यून १.९ प्रतिशतको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्षमा ३.३ प्रतिशतले वृद्धि हुने आकलन विश्व बैङ्कले गरेको छ । ड्यामयुक्त जलाशय क्षेत्रमा राम्रा होटल, गेस्टहाउस निर्माण तथा सञ्चालन गर्न सकियो भने पर्यटनलाई जलविद्युत्सँग जोड्न सकिन्छ ।

पर्यटन र जलविद्युत्को संयुक्त विकास गर्न सकिन्छ । यो क्षेत्रको संयोजन नेपालको विकासको नयाँ दिशा हुन्छ । पर्यटन र जलस्रोत नै नेपालको रूपान्तरणको आधार हो । चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत् तथा पर्यटन व्यवसायमा लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्छ । अब पौराणिक कृषि–उद्योगलाई व्यापारिक होइन, पर्यटनमैत्री कृषि–उद्योगमा रूपान्तरण गर्नु पर्दछ । त्यसैले नेपाल–चीन पर्यटन सम्बन्ध विकास गर्न अग्रसर रहनु सबै दृष्टिकोणले उपयुक्त हुन्छ । 

यद्यपि चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोषको सहकार्यमा धेरै महत्वपूर्ण कार्यक्रम हुँदै आइरहेका छन् । यस्ता कार्यक्रमको दिगोपना तथा जनस्तरीय सम्बन्ध कायम गर्ने खालका हुनु अनिवार्य छ । धेरैजसो कार्यव्रmम बजेट खर्च गर्ने प्रवृत्तिका मात्रै देखिन्छन् । भाषा, संस्कृति, सभ्यता, व्यापार र सम्बन्ध जोड्ने खालका दिगो तथा महत्वपूर्ण कार्यक्रम निर्माण गरी लागु गर्नु पर्दछ । चिनियाँ योजनाहरू नेपालमा समयमै सुरु हुन नसक्नु तथा समयमै सम्पन्न हुन नसक्नु जस्ता गम्भीर समस्यामा दुवै देश गम्भीर हुन जरुरी छ ।

बेल्ट एन्ड रोड 

राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा बेल्ट एन्ड रोड प्रोजेक्टको सुरु गर्नुभयो । यो दुनियाँको सबैभन्दा ठुलो भौतिक विकासको योजना हो । चीनले यो प्रोजेक्टलाई ऐतिहासिक सिल्क रुटकै रूपमा प्रस्तुत गर्दै आएको छ । यो चीनको अत्यन्तै महìवाकाङ्क्षी योजना हो । यसमा लगभग ७० देशले लगानी गर्ने छन् र सन् २०१७ मा यो योजनालाई चीनले संविधानमै उल्लेख गरेको थियो । नेपालले सिक्नुपर्ने वास्तविकता, नेपालले पनि ‘नेपाल पर्यटकीय देश हो’ भनेर संविधानमै उल्लेख गर्नु पर्छ । अन्य विशेषता औँल्याउनुभन्दा ‘पर्यटकीय मुलुक नेपाल’ भन्दा समयसापेक्ष हुन्छ । सन् २०१७ मा चीन र नेपालले ‘बेल्ट एन्ड रोड’ को सहमतिपत्रमा हस्ताक्षर गरे । 

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा राख्नुभएको नेपाल–चीन विकास कोरिडोरको प्रस्ताव स्वागतयोग्य छ । चीन–नेपालमैत्री ‘ड्रागनबोट’ प्रतियोगिता पोखराको फेवातालमा पर्यटन विकासका लागि भएको कार्यक्रम जस्तै चीन–नेपाल ट्रान्स हिमालयन त्रि–आयामिक अन्तरसम्बन्ध सञ्जाल, चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन परियोजना, सीमापार पावर ग्रिड निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग तथा पारस्परिक लाभकारी र जित–जित सहयोगको ‘बेल्ट एन्ड रोड’ ले पनि छिटो र द्रुत गतिमा काम गर्नु पर्दछ । बेल्ट एन्ड रोड योजनालाई नेपालको पर्यटनसँग जोड्नु पर्दछ । सबैलाई बुद्ध र सगरमाथा हेर्ने भोक हुन्छ । चीन तथा भारतले खुला रूपले बुद्ध तथा सगरमाथा सर्किटमा लगानी गरे हुन्छ । 

इतिहास 

झन्डै १६०० वर्षअघि चीनका वरिष्ठ भिक्षु फास्येन र नेपालका वरिष्ठ भिक्षु बृद्धभद्रले आपसी मुलुकको भ्रमण गरेका थिए । चीनको थाङ वंशका भिक्षु स्युएनचाङले लुम्बिनीस्थित शाक्यमुनि जन्मस्थलको भ्रमण सर्वप्राचीन इतिहासको प्रमाण हो । त्यसै गरी युआन वंशको समयमा नेपालका सुप्रसिद्ध कलाकार अरनिकोले चीन–बेइजिङको म्याओइङ मन्दिरको सेतो प्यागोडा स्तूप निर्माण गरेका थिए । त्यसैले नेपाल र चीनका जनताबिचको सम्बन्ध एकदमै उत्कृष्ट र परापूर्वकालदेखिको हो । सन् १९५५ देखि यो सम्बन्धले औपचारिकता पायो तर यसलाई थप उचाइमा पु¥याउन हाल आएर खासै नयाँ उत्साहित कार्यक्रम आयोजना हुनै सकेका छैनन् ।

निष्कर्ष 

विश्व नै आर्थिक कूटनीतिमा दौडिरहेको देखिन्छ । त्यसै गरी आर्थिक, राजनीतिक तथा सामाजिक शक्तिले विश्वलाई नेतृत्व दिन सक्ने अवस्थामा हाम्रा छिमेकी मुलुक पुगेका छन् तर हामी कोही उत्तरपन्थी र कोही दक्षिणपन्थी हुन पुगेका छौँ, नेपालपन्थी हुन सकेका छैनौँ । चिनको बेल्ट एन्ड रोडले नेपालको माध्यमबाट अर्थात् सगरमाथा र लुम्बिनीको मार्गबाट दक्षिण एसिया जोड्नु पर्छ । हामी विविध वादी बन्न जरुरी छैन । नेपाली युगौँदेखि प्रेमवादी, शान्तिवादी, बुद्धवादी, अतिथिवादी हुन् । त्यसैले नेपालको दर्शन सिद्धान्त नै प्रेम, शान्ति र विकास हो । यसको समष्टि स्वरूप नै पर्यटनवाद हो । त्यसैले नेपाल पर्यटकीय देश हो । चिनले ‘बेल्ट एन्ड रोड’ संविधानमै लेख्न सक्छ भने हामी किन नसक्ने ? पर्यटनको मार्ग नै अबको नेपालको रूपान्तरणको मुख्य मार्ग हो ।


Author

डा. बिपी बडाल