‘द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) ले सन् २००२ मा पहिलो पटक वित्तीय साक्षरताको महत्वलाई औपचारिक रूपमा आत्मसात् गर्दै वित्तीय शिक्षा प्रवर्धनलाई व्यापक बनाउने योजना अगाडि सार्यो । सन् २००८ मा उक्त परियोजनालाई विस्तार गर्दै ओइसिडीले ‘वित्तीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सञ्जाल’ स्थापना गर्यो । त्यसयता ओइसिडीले वित्तीय साक्षरता प्रवर्धनका निम्ति विभिन्न नीतिगत र कार्यगत प्रयास गर्दै आएको छ । हाल विश्वका १३१ मुलुकका केन्द्रीय बैङ्क, वित्तीय क्षेत्रका नियामक र सुपरिवेक्षकीय निकाय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालयलगायत करिब तीन सय संस्था यो सञ्जालमा आबद्ध छन् । उक्त सञ्जालमार्फत ओइसिडीले वित्तीय साक्षरता प्रवर्धनमा भएका अन्तरदेशीय अनुभव र असल अभ्यासको आदानप्रदान, नीतिगत व्यवस्थाको तुलनात्मक अध्ययन, निर्दिष्ट व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुगमनका सम्बन्धमा सञ्जालका सदस्य संस्थाहरूबिच सहकार्यको मञ्च तयार गरेको छ । त्यसैको एउटा अग्रणी प्रयास हो– ‘ग्लोबल मनी विक’ । प्रारम्भिक चरणमा ‘चाइल्ड एन्ड युथ इन्टरनेसनल’ नामक संस्थाले अगाडि सारेको ग्लोबल मनी विकलाई ओइसिडीको संयोजनमा विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।
के हो ग्लोबल मनी विक ?
ग्लोबल मनी विक विशेषतः बालबालिका र युवामा वित्तीय शिक्षाको आवश्यकता र महìवबारे जागृत गराउँदै वित्तीय साक्षरता अभिवृद्धि गर्ने एउटा विश्वव्यापी अभियान हो । युवामा वित्तीय सेवाका ज्ञान, सिप र मनोवृत्ति सुधार गर्दै विवेकशील वित्तीय निर्णय लिन सक्षम तुल्याउनु यसको प्रमुख उद्देश्य हो । साथै, वित्तीय शिक्षा प्राप्त भएसँगै उनीहरूले भविष्यमा त्यसको प्रतिफलस्वरूप वित्तीय लाभ पनि हासिल गर्न सकून् भन्ने ध्येय यो अभियानले राखेको छ ।
ओइसिडीको आह्वानमा हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाउने गरिन्छ । सन् २०१२ देखि यो अभियान सञ्चालन हुँदै आएको छ । हालसम्म ग्लोबल मनी विकका ११ वटा संस्करण पूरा भएका छन् । यो अवधिमा विश्वका १७६ मुलुक यस अभियानमा आबद्ध भइसकेका छन् । विश्वका करिब छ करोड बालबालिका र युवाले यो अभियानबाट लाभ लिएको ओइसिडीले जनाएको छ । ओइसिडीका अनुसार गत वर्ष सञ्चालित ग्लोबल मनी विकमा ४० हजार ४१६ वटा संस्था जोडिएका थिए ।
ग्लोबल मनी विकको तेह्रौँ संस्करण गत चैत ५ (मार्च १८) देखि सुरु भएको छ । यो अभियान चैत ११ (मार्च २४) सम्म जारी रहने छ । मनी विकको यस वर्षको नारा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ तय गरिएको छ । यसको सन्देश चाहिँ आपूmसँग भएको वित्तीय स्रोत (पैसा) को सुरक्षित व्यवस्थापन र सम्भावित जोखिमबाट त्यसलाई जोगाउनेतर्पm सजग गराउनु हो । पछिल्लो समय वित्तीय क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा आधारित वित्तीय सेवा (फिनटेक) को विस्तारसँगै जोखिमको सम्भावना पनि उत्तिकै बढ्दो छ । डिजिटल माध्यमबाट हुने ठगी र जालझेलको सिकार बनेका घटना सतहमा आइरहेका छन् । यसो हुनुमा वित्तीय ग्राहक वा उपभोक्तामा कमजोर र सीमित वित्तीय साक्षरताको स्तरलाई नै मुख्य कारक ठानिएको छ । यस वर्षको नाराको सन्देश पनि त्यस्ता सम्भावित ठगीबाट सुरक्षित रहनका लागि सजग तुल्याउनु हो ।
ग्लोबल मनी विकको स्थायी नारा हो, ‘लर्न, सेभ, अर्न’ अर्थात् ‘सिक, बचत गर र आर्जन गर’ । मनी विकको अभियान अन्तर्गत सन् २०१७ मा तय गरिएको सन्देशलाई नै ओइसिडीले स्थायी नाराको रूपमा स्थापित गरेको हो । यो नाराको मूल सन्देश चाहिँ बालबालिका, किशोरकिशोरी र युवाले बुद्धिमत्ता र सुझबुझका साथ वित्तीय ज्ञान सिप हासिल गरून्, जसबाट बचत तथा लगानी गर्न सकून् र त्यही लगानीबाट भविष्यमा आफ्नो र परिवारका निम्ति आयआर्जन पनि गर्न सकून् भन्ने हो । ग्लोबल मनी विक अन्तर्गत बालबालिका र युवा लक्षित वित्तीय साक्षरता प्रवर्धनका विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । वित्तीय साक्षरतासम्बन्धी कार्यशाला, चित्रकला, निबन्ध लेखन, श्रव्यदृश्य सामग्रीको प्रदर्शन, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, मुद्रा सङ्ग्रहालय, धितोपत्र कारोबार हुने संस्थाको अवलोकन भ्रमण जस्ता कार्यक्रमलाई यस अभियानले समेट्दै आएको छ । यसै गरी, वित्तीय साक्षरता ¥याली, साक्षरता मेलालगायतका प्रवर्धनात्मक कार्यक्रम यसमा समेटिँदै आएका छन् ।
ग्लोबल मनी विक आरम्भ भएको पहिलो वर्ष नेपाल यसमा सहभागी थिएन । सन् २०१३ देखि भने नेपालले यो अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले ग्लोबल मनी विकको राष्ट्रिय संयोजन गर्दै आएको छ । यो अभियानमा वित्तीय क्षेत्रका अन्य नियामक निकाय, नेसनल बैङ्किङ इन्स्टिच्युट, बैङ्क तथा वित्तीय संस्था, मर्चेन्ट बैङ्कर, धितोपत्र दलाल कम्पनी, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले विद्यालय र कलेज स्तरका विद्यार्थीको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
ग्लोबल मनी विक, अभियानको पहिलो दिन राष्ट्र बैङ्कले काठमाडौँका सात वटा विद्यालयका कक्षा ७ देखि १२ का पाँच सयभन्दा बढी विद्यार्थीको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा राष्ट्र बैङ्कबाट हुने नियामकीय र सुपरिवेक्षकीय कारबाही, बैङ्क तथा वित्तीय संस्थाको सेवा प्रवाह, धितोपत्र, बिमा र सहकारी क्षेत्रका आधारभूत विषयवस्तुबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।
वित्तीय साक्षरताको महत्व र सान्दर्भिकता
विश्व बैङ्कद्वारा प्रकाशित हुने वित्तीय समावेशीकरणसम्बन्धी प्रतिवेदन ‘ग्लोबल फिन्डेक्स डेटाबेस, २०२१’ अनुसार, विकासोन्मुख अर्थतन्त्रका ७१ प्रतिशत वयस्क जनसङ्ख्यामा औपचारिक बैङ्क खाताको पहुँच पुगेको छ । अर्थात् विकासोन्मुख अर्थतन्त्रका अझै २९ प्रतिशत वयस्क जनसङ्ख्या औपचारिक वित्तीय सेवाबाट विमुख छन् । यसै गरी, विश्वभर ७६ प्रतिशत वयस्क जनसङ्ख्यामा मात्र वित्तीय सेवाको पहुँच रहेको उक्त प्रतिवेदनले देखाएको छ । विश्व बैङ्कका अनुसार विश्वभर अझै एक अर्ब ४० करोड वयस्क जनसङ्ख्या औपचारिक वित्तीय सेवाबाट विमुख छन् । सन् २०११ र २०१७ मा यो सङ्ख्या क्रमशः दुई अर्ब ५० करोड र एक अर्ब ७० करोड थियो ।
नेपाल राष्ट्र बैङ्कले सन् २०२१ मा गरेको वित्तीय पहुँचसम्बन्धी अध्ययन अनुसार नेपालको ६७.३ प्रतिशत वयस्क जनसङ्ख्याको बैङ्क खाता रहेको पाइएको छ । अध्ययन अवधिमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामा कायम रहेका कुल निक्षेप खातामध्ये निक्षेपकर्ताको तीनपुस्ते विवरणका आधारमा एउटा मात्र खातालाई गणना गर्दा उक्त नतिजा आएको हो ।
यसै गरी, राष्ट्र बैङ्कले २०७९ पुस महिनामा सार्वजनिक गरेको ‘नेपालमा वित्तीय साक्षरतासम्बन्धी सर्वेक्षण’ अनुसार राष्ट्रियस्तरमा वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको पाइएको छ । वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिलाई वित्तीय साक्षरताका तीन मुख्य आयामको रूपमा लिने गरिन्छ । यस अन्तर्गत वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्तिको प्रवृत्ति ६४.१ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी १८ वर्ष माथिका ९,३६१ जनामा गरिएको उक्त सर्वेक्षण अनुसार वयस्क जनसङ्ख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तीन वटै आयाममा न्यूनतम अङ्क प्राप्त गरेका छन् । प्रदेश स्तरमा बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५२ प्रतिशत वित्तीय साक्षरता रहेको सर्वेक्षणले देखाएको छ । नेपालमा वित्तीय साक्षरताको स्तरलाई उकास्न अरू धेरै प्रवर्धनात्मक प्रयास गर्नुपर्ने आवश्यकतालाई यो नतिजाले इङ्गित गर्छ ।
वित्तीय सेवाको पहुँचलाई गरिबी निवारणको प्रभावकारी माध्यमको रूपमा स्वीकार गरिएको छ । राज्यका सबै तह र तप्कामा वित्तीय सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नका निम्ति पहिलो खुट्किलोका रूपमा वित्तीय साक्षरतालाई लिने गरिन्छ । जब किशोरकिशोरी र युवा वर्ग वित्तीय रूपमा साक्षर बन्छन्, तब उनीहरू वित्तीय सेवा र वित्तीय प्रणालीप्रति थप जागरुक हुन थाल्ने छन् । त्यसबाट उनीहरूमा सुझबुझपूर्ण ढङ्गले वित्तीय निर्णय लिन सक्ने क्षमता विकास हुने छ । यसले अन्ततः उनीहरूमा उद्यमशीलतातर्पm अग्रसरसमेत गराउने छ । त्यसैले वित्तीय साक्षरतालाई युवापुस्ताको भविष्यको मार्गचित्र कोर्ने सशक्त माध्यमको रूपमा लिइन्छ ।
ग्लोबल मनी विकको अभियानलाई बालबालिका र युवामा केन्द्रित गर्नुको मूल ध्येय पनि यही हो । त्यसमा पनि साक्षरता अभियानमा यो उमेर समूहका पुस्तालाई लक्षित गर्दा उनीहरूले सिकेको वित्तीय ज्ञान/सिप तिनका साथी समूह र परिवारका सदस्यसम्म छिटो प्रसार भई यसको प्रभावकारिता थप अभिवृद्धि हुने भन्ने अपेक्षा पनि राखिन्छ ।
वित्तीय साक्षरता प्रवर्धनका निम्ति नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कमार्फत नीतिगत र कार्यगत प्रयास हुँदै आएका छन् । ती प्रयासलाई थप परिणाममुखी बनाउनुपर्ने अहिलेको आवश्यकता हो । विशेषतः हाल सहर र सहरोन्मुख क्षेत्रमा केन्द्रित रहेको वित्तीय चेतनामूलक कार्यक्रमलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने देखिन्छ । साथै, वित्तीय साक्षरतालाई विद्यालय पाठ्यक्रममा समावेश गरी बालबालिकालाई आधारभूत तहदेखि नै वित्तीय शिक्षाको जग बसाल्न प्रयास हुनुपर्ने छ । पछिल्लो समयमा भुक्तानी कारोबारमा डिजिटल माध्यमको प्रयोग दिनानुदिन लोकप्रिय बन्दै गएको छ । यसै सन्दर्भमा सम्भावित वित्तीय ठगी र जोखिमबाट सेवाग्राहीलाई सुरक्षित तुल्याउन डिजिटल वित्तीय साक्षरतालाई पनि थप परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
सूचना तथा सञ्चार प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोगमा आमसर्वसाधारणको पहुँच व्यापक बन्दै गएको छ । अतः वित्तीय चेतना अभिवृद्धिमा टेवा पुग्ने सूचना, जानकारी र श्रव्यदृश्य सामग्रीलाई सामाजिक सञ्जालमार्फत नियमित प्रकाशन र प्रसारण गर्नु पनि एउटा सशक्त प्रयास हुने छ । वित्तीय साक्षरता प्रवर्धनका निम्ति हालसम्म भएका र आगामी दिनमा हुने प्रयासलाई सार्थक र परिणाममुखी तुल्याउन तीन वटै तहका सरकार, राष्ट्र बैङ्क, पुँजी बजार र बिमा क्षेत्रका नियामक निकाय, बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्किङ वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाहरूबिच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता देखिन्छ ।