विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाका दुई वृद्ध नेता जोए बाइडेन र डोनाल्ड ट्रम्प यसै वर्षको नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । वर्तमान राष्ट्रपति बाइडेन ८१ वर्ष र पूर्वराष्ट्रपति ट्रम्प ७७ वर्षको हुनुभयो । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि उहाँहरूबिच नै प्रतिस्पर्धा भएको थियो । ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति बन्नुभएको हो । यस पटक ट्रम्प नै बाइडेनका लागि प्रमुख चुनौती बन्नुहुने छ । उहाँले चुनावमा आफूले हारे रक्तपात हुने चेतावनीसमेत दिनुभएको छ ।
सत्तारूढ डेमोक्रेटिक पार्टीबाट बाइडेन र प्रतिपक्ष रिपब्लिकन पार्टीबाट ट्रम्प चुनावमा प्रतिस्पर्धा गर्दै गर्दा दुवै नेताले उम्मेदवार हुन आवश्यक प्रतिनिधिहरूको समर्थन जुटाउन सफल हुनुभएको छ । कैयौँ राज्यमा भएका प्राइमरी चुनावबाट दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाउनुभएको हो । ७० वर्षयता पहिलो पटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको छ । पार्टीको उम्मेदवारी जित्न भएका प्राइमरी चुनावमा बाइडेनविरुद्ध खासै प्रतिस्पर्धी नै थिएनन् । उम्मेदवारी जितेपछि उहाँले पार्टीले आफूमाथि पुनः विश्वास गरेकोप्रति सम्मानित अनुभव गरेको प्रतिक्रिया दिनुभयो ।
ट्रम्पले पनि प्राइमरी चुनावमा वर्चस्व कायम गर्दै आउनुभएको छ । अहिलेसम्म भएका प्राइमरी चुनावमध्ये एउटाबाहेक सबै ठाउँमा उहाँले जित्नुभयो । उहाँका प्रमुख प्रतिस्पर्धी निकी ह्याली चुनावी मैदानबाट पछाडि हट्नुभएको छ । विभिन्न मुद्दा खेप्नुभएका ट्रम्पलाई यस पटक उम्मेदवार बन्न अप्ठेरो पर्छ कि भनी गरिएका पूर्वानुमान गलत साबित भएका छन् । धेरै उमेरका कारण राष्ट्रपति बाइडेनले निरन्तर राष्ट्रपतिका रूपमा जिम्मेवारी बहन गर्न सक्ने उहाँको क्षमतामाथि केहीले प्रश्नसमेत उठाएका छन् तर उहाँले आफ्नो स्मरण शक्ति ठिक रहेको बताउनुभएको छ । यस पटक पनि उहाँको पार्टीले उहाँलाई नै पत्याउने भएको छ ।
ट्रम्पले कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाउनुभएको छ । बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गर्नुभएको छ । आफूले लिएको असल नीतिका कारण अमेरिकी अर्थतन्त्र बलियो बनेको उहाँको दाबी छ । उहाँले महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रम कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गर्नुभएको छ । ट्रम्पले जितेमा ‘देश पछाडि फर्कने’ जोखिम पनि उहाँले औँल्याउँदै आउनुभएको छ ।
ट्रम्पले चाहिँ खुला सीमा बन्द गर्नेदेखि लिएर ठुलो सङ्ख्यामा अवैध आप्रवासीलाई देशनिकाला गर्ने वाचा गर्नुभएको छ । उहाँले अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, रुस–युक्रेन युद्ध अन्त्य गर्ने र विश्व मामिलामा उहाँको ‘अमेरिका पहिले’ को नारा पुनः लागु गर्ने बताउँदै आउनुभएको छ । ट्रम्पले जलवायु परिवर्तनलाई लिएर सधैँ शङ्का प्रकट गर्दै आउनुभएको छ । उहाँ ऊर्जालाई यस्तो स्रोतका रूपमा विस्तार गर्न चाहनुहुन्छ; जो एक पटक मात्रै प्रयोग हुन्छ । उहाँको लक्ष्य तेल र ग्यास निकाल्ने कामलाई तीव्र गर्नु हो । पर्यावरणसँग सम्बन्धित जे पनि सुरक्षा दिइएको छ, त्यसलाई उहाँ फिर्ता गर्ने पक्षमा हुनुहुन्छ । जलवायुसम्बन्धी पेरिस सम्झौताबाट हट्ने विषयमा उहाँ पुनः प्रतिबद्ध हुनुहुन्छ ।
पेरिस सम्झौतामा पुनः आबद्ध बाइडेन सन् २०५० सम्म अमेरिकाले कार्बन उत्सर्जनलाई शून्यको स्तरसम्म लैजाओस् भन्ने चाहनुहुन्छ । त्यस्तै सार्वजनिक स्थानमा तेल र ग्यास निकाल्न नयाँ लिकमा रोक लगाइयोस् भन्ने उहाँको प्रस्ताव छ । साथै उहाँले हरित ऊर्जाको क्षेत्रमा लगानीको प्रस्ताव पनि गर्नुभएको छ । ट्रम्प नयाँ रोजगारीका अवसर सिर्जना गर्ने, नयाँ साना उद्योग पनि स्थापित गर्ने, आयकरमा कटौती गर्ने र कम्पनीहरूलाई ट्याक्स व्रmेडिट दिने ता कि कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न सकियोस् भन्ने उहाँको योजना छ ।
बाइडेन भने उच्च आय भएका वर्गका लागि कर उठाउन चाहनुहुन्छ । उहाँ त्यस्तो करलाई सार्वजनिक सेवाहरूमा लगानी गर्ने पक्षमा हुनुहुन्छ । राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाइएको छ ।
ट्रम्पले भने अमेरिकालाई फेरि महान् बनाउने नारा अगाडि सार्नुभएको छ । आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने उहाँको योजना छ । अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार र रिपब्लिकन पार्टीलाई अनुदार पार्टी मानिन्छ । डेमोक्रेटिक पार्टी सत्तामा आएपछि अमेरिकालगायत विश्वभर उदारवाद र सुधारवादले स्थान पाउने गरेको छ भने रिपब्लिकन पार्टी सत्तामा आएपछि अनुदारवाद हावी हुँदै आएको छ ।
अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ । त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको छ । अमेरिकी मतदाताले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अप्रत्यक्ष अर्थात् गठित ५३८ सदस्यीय इलेक्ट्रोरल कलेजले गर्ने गर्दछ । अमेरिकी संसद् दुई सदनात्मक छ । हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ ।
अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचन सुरु भएको हो । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेकिकामा बसोबास गर्दै आएको हुनुपर्ने व्यवस्था छ । एक व्यक्ति लगातार दुई पटकभन्दा बढी राष्ट्रपति निर्वाचित हुन नपाउने व्यवस्था छ ।
अमेरिका लामो समय बेलायतको उपनिवेशमा रह्यो । अमेरिकामा सन् १६१९ मा काला जातिका मानिसलाई दासका रूपमा अफ्रिकाबाट भित्र्याइएको हो । सुरुमा काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार थिएन । बेलायती उपनिवेशबाट सन् १७७६ मा मुक्त भई जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे । आन्दोलनले गृहयुद्धको रूप लियो । सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलन गरियो ।
संविधानमा दास प्रथा उन्मूलनको घोषणा गरे पनि व्यवहारमा लागु भएन । आन्दोलन रोकिएन । लामो समयसम्म जारी रङ्गभेदविरोधी आन्दोलन सन् १९६५ मा चरमोत्कर्षमा पुग्यो । आन्दोलनको नेतृत्व गर्नुभएका अश्वेत नेता मार्टिन लुथर किङको १९६८ मा हत्या भयो । यसले आगोमा घिउ थप्ने काम ग¥यो । आफ्ना लोकप्रिय नेताको हत्याले आव्रmोशित काला जातिको रङ्गभेदविरोधी आन्दोलन अरू चर्किन नदिन गोरा अमेरिकी नागरिकसरहका सबै खाले अधिकार दिन सरकार प्रतिबद्ध भयो । त्यसपछि काला जातिका मानिसले प्रशासन तथा सैनिक सेवामा प्रवेश पाउन थाले ।
सरकारको प्रतिबद्धता अनुसार सन् १९८९ मा पहिलो अश्वेत नागरिक कोलिन पावेल अमेरिकी सेनाको कमान्डर नियुक्त हुनुभयो । सन् २००५ मा पहिलो अश्वेत महिला कन्डोलिजा राइस विदेशमन्त्री बन्नुभयो । बाराक ओबामाले अमेरिकामा काला जातिका तर्फबाट पहिलोपल्ट राष्ट्रपति निर्वाचित भई नयाँ इतिहास रच्नु भयो । उहाँ डेमोव्रmेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेर लगातार दुई कार्यकाल अमेरिकाको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकाल सन् २००८ देखि सन् २०१२ सम्म र दोस्रो कार्यकाल सन् २०१२ देखि सन् २०१६ सम्म रह्यो । उहाँले मुलुकमा व्याप्त आर्थिक मन्दी हटाउने, बेरोजगारी समस्या समाधान गर्दै अमेरिकालाई सुरक्षित बनाउने, आतङ्कवादलाई पराजित गर्ने, मध्यम वर्गीय अमेरिकीको हितमा बढी काम गर्ने विषयमा केन्द्रित रहनुभयो । उहाँले अगाडि सार्नुभएका सुधारका कार्यक्रमलाई धेरै अमेरिकीले मन पराए ।
उहाँको जितले करिब चार सय वर्षदेखि पशुसरह दासका रूपमा अफ्रिकाबाट भित्र्याइएका काला जातिका मानिसको रङ्गभेदविरुद्धको शताब्दीऔँ लामो आन्दोलनले सफलता पायो । दास बनाइएका मानिसको समूहबाट पनि मुलुकको सर्वोच्च नेतृत्व राष्ट्रपति निर्वाचित हुन सक्छन् भन्ने सन्देश दिएको चुनावको परिणाम लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा ठुलो उपलब्धिका रूपमा लिइयो । ओबामाको जितसँगै अमेरिकामा रङ्गभेदको पूर्ण रूपले अन्त्य पनि भयो । ओबामाको चुनाव जितको प्रमुख कारण नै शान्ति र मेलमिलापप्रति उहाँको प्रतिबद्धता थियो ।
अमेरिकाका निर्वाचित राष्ट्रपतिहरूमा सबभन्दा कम उमेरमा ४४ औँ राष्ट्रपति बन्ने ओबामा तेस्रो राष्ट्रपति हुुनुभयो । उहाँले ४७ वर्षको उमेरमा राष्ट्रपति हुने मौका पाउनुभयो । दोस्रो कम उमेरमा ४१ औँ राष्ट्रपति बन्ने विल क्लिन्टन हुनुहुन्छ । उहाँ ४६ वर्षमा राष्ट्रपति बन्नुभएको हो । त्यस्तै अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेरमा ३५ औँ राष्ट्रपति बन्ने सौभाग्य जोन एफ केनेडीले पाउनुभयो । राष्ट्रपतिमा निर्वाचित हुँदा उहाँ ४३ वर्षको हुनुहुन्थ्यो । सन् १९६० मा राष्ट्रपति निर्वाचित हुनुभएका केनेडीको सन् १९६३ मा हत्या गरिएको थियो । केनेडी पनि ओबामा जस्तै सारा विश्वको युवा आवाज बन्नुभएको थियो । यस पटक राष्ट्रपतिका उम्मेदवार दुई वृद्ध नेताको अमेरिकालगायत विश्वभर चर्चा भएको छ । बाइडेन र ट्रम्प दुवैले चुनाव जित्ने दाबी गरे पनि चुनाव कसको पक्षमा जाने हो भन्ने कुरा अमेरिकी मतदाताको हातमा छ ।