• ३१ वैशाख २०८२, बुधबार

बाँझो जमिन नराख्न किसानलाई सेवासुविधा

blog

दोलखा समाचारदाता

दोलखा, चैत ७ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–८ स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाले किसानलाई केही सुविधा उपलब्ध गराई बाँझो जमिनलाई उपयोग गराउन लागेको छ । संस्थाको समन्वयमा ग्रिन इन्टेलिजेन्स कम्पनीले बिरुवा निःशुल्क उपलब्ध गराई रोपे तथा संरक्षण गरेबापत प्रतिबिरुवा ५० रुपियाँ दिएर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने वातावरण बनाउन लागेको संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।  

उहाँका अनुसार किसानले बिरुवा रोपेपछि आफ्नो मोबाइलबाट जिआइ एप्लिकेसनमा रोपेको बिरुवाको फोटो खिची पठाएपछि सुरुमा प्रतिबिरुवा १० रुपियाँ पाउने छन् । बिरुवालाई मलजल गर्दै उत्पादन दिने समयसम्म व्रmमशः चार पटक फोटो खिचेर पठाएपछि थप प्रतिबिरुवा ४० रुपियाँ पाउने छन् । किसानले बिरुवा रोपेबापतको अनुगमन समेतका आधारमा जम्मा अवधिमा प्रतिबिरुवा ५० रुपियाँ पाउने छन् । किसानले खाल्टो खन्ने, माटो तयार पार्नेलगायतका काम आफैँले गर्नुपर्ने छ । कम्पनीले ज्ञान, सिप र प्रविधिबारे तालिमसमेत प्रदान गर्ने छ । अहिलेसम्म १६ जनाले यो कार्यव्रmमको सम्झौता गरिसकेका छन् । एक महिने सूचनाको म्याद चैतको १५ गतेसम्म रहेको छ । अरू धेरै आकर्षित हुने देखिएको जानकारी दिँदै संस्थाका अध्यक्ष पाठकले भन्नुभयो, उत्पादित वस्तुको पनि संस्थाले बजारको व्यवस्था गरिदिने छ । यसरी सानै भए पनि सुविधा पाउन थालेपछि किसानले बाँझो जमिन जोतखन गर्न  लागिसकेका छन् । 

बाँझो रहेको जग्गामा किसानले कागती, मेकाडेमिया नट, एभोकाडो, टिमुर, तेजपत्ता र कफी लगाउने छन् । एक जनाले एक वा दुई जातका बिरुवा लगाउने गरी संस्थासँग सम्झौता गरेका छन् । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई बढावा दिन यहाँको मिलघुम्तीमा महिनाको १० गते र २५ गते हाटबजार सञ्चालनमा आइसकेको छ । किसानले उत्पादन गरेको कृषि सामग्रीको प्रवर्धनका लागि पालिकाले प्रतिबद्धता जाहेर गरिसकेको छ ।