• ३१ वैशाख २०८२, बुधबार

सुविधा सम्पन्न स्मार्ट प्रतीक्षालय निर्माण सुरु

blog

वडा नम्बर ५ पिपलबोटमा निर्माण हुन लागेको स्मार्ट प्रतीक्षलय । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, चैत ७ गते । 
दोलखाको सदरमुकाम चरिकोटस्थितको भीमेश्वर नगरपालिका–५ ले १३ लाख रुपियाँको लगानीमा सुविधा सम्पन्न स्मार्ट प्रतीक्षालय निर्माण गर्न लागेको छ ।

पिपलबोट भन्ने ठाउँबाट विविध सुविधा प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो स्मार्ट प्रतीक्षालय निर्माण गर्न लागिएको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँ निर्मित ज्येष्ठ नागरिक भवनले पनि पर्यटक आकर्षित गर्न थालेको छ । यहाँबाट देखिने भर्जिन गौरीशङ्करलगायत रोल्वालिङ हिमशृङ्खलाको दृश्यावलोकन गर्न मिलने वातावरण बनाइन लागिएको हो ।

यहाँ सानो बगैँचा, फ्रि वाइफाई, मोबाइल चार्जिङपोइन्टस्, शौचालय, पिउने पानीको सुविधा रहनेछ । उहाँले भन्नुभयो, ‘‘बिजुली र पिउने पानीको व्यवस्था हुने छ । नजिकै रहेको ज्येष्ठ नागरिक भवनमा कफिसपको व्यवस्था गर्न लागिएको छ ।’’

यो प्रतीक्षालय निर्माण हुँदा पिपलको पनि संरक्षण हुनका साथै निर्मित डबलीले पर्यटकलाई थप आकर्षित गर्ने बताइएको छ । उहाँले भन्नुभयो, ‘‘किराँतीछाप र विष्णुटोलको पिपललाई पनि डबली बनाएर आकर्षित बनाउन लागिएको छ । परम्परागतको विष्णुको अवतार मानिएको पिपलको पनि संरक्षण हुने अपेक्षा राखिएको छ ।’’