• ९ मंसिर २०८१, आइतबार

शिक्षण पेसाको उन्नयन

blog

शिक्षा पूर्वाधारको पनि पूर्वाधार, विकास एवं समृद्धिको आधार र आर्थिक सामाजिक रूपान्तरणको माध्यम हो । किनकि विकास र समृद्धि ज्ञान र सिपयुक्त दक्ष मानव संसाधनबिना सम्भव छैन । मानव संसाधन विकासका आधारशीला विद्यालय हुन् । शिक्षक यसको मुख्य कर्ता हो । विषयवस्तुको ज्ञान र शिक्षण कौशलमा पोख्त, कामप्रति उत्प्रेरित, सिर्जनशील र पेसाप्रति उत्तरदायी शिक्षकबिना विद्यालय शिक्षाले समाजको माग पूरा गर्न सक्दैन । यसका लागि शिक्षण पेसामा उच्च शिक्षाका मेधावी र अब्बल उत्पादन भित्र्याउनु पर्छ । शिक्षण पेसामा अब्बल र उम्दा जनशक्ति भित्र्याउन यसलाई मर्यादित र थप आकर्षक बनाउनु पर्छ अर्थात् शिक्षण पेसाको उन्नयन र यसको गरिमाको पुनरोत्थान हुन जरुरी छ । 

प्रथमतः शैक्षिक जनशक्ति योजना निर्माण गरेर शिक्षक तयारीबाटै योजनाबद्ध प्रयास हुनु आवश्यक छ । हाल विश्वविद्यालयले स्नातक (बिएड) र स्नातकोत्तर (एमएड) तहको उच्च शिक्षाका माध्यमबाट शिक्षक तयारी गरिरहेका छन् । शिक्षक तयारी कोर्समा सैद्धान्तिकका साथसाथै व्यावहारिक अभ्यास पनि उत्तिकै हुन आवश्यक छ तर सो अनुरूप हुन सकिरहेको छैन । शिक्षण कौशल, शैक्षिक सामग्रीको पहिचान, निर्माण र प्रयोग, कक्षा व्यवस्थापन, विद्यार्थीको विविधता र सिकाइ आवश्यकताको पहिचान र सो अनुरूप सिकाइ वातावरण निर्माण जस्ता विषयमा प्रयोगात्मक अभ्यास पर्याप्त मात्रामा हुने गरी वर्तमान पाठ्यक्रममा परिमार्जन गर्नु पर्छ । 

शिक्षक भर्नाका लागि हालसम्म परम्परागत नकारात्मक भर्ना प्रणाली अवलम्बन हुँदै आइरहेको छ । यसबाट मात्र पूर्ण रूपमा उत्कृष्ट जनशक्ति आकर्षित गर्न सकिएको छैन । अब आवश्यकता अनुसार विश्वविद्यालयसँग सहकार्य गरेर उत्कृष्ट प्रतिभा सोझै भित्र्याउने खालको व्यवस्था गर्नु पर्छ । शिक्षक छनोटका लागि हाल अवलम्बन गरिँदै आएको लिखित परीक्षाले सैद्धान्तिक ज्ञान पक्षको मात्र मापन गर्ने र शिक्षण कौशलको पर्याप्त मापन गर्न सक्दैन । शिक्षक सेवा आयोग नियमावलीमा प्रयोगात्मक परीक्षा लिन सकिने व्यवस्था रहे पनि यसको अवलम्बन हुन सकेको छैन । अब प्रयोगात्मक परीक्षालाई शिक्षक छनोटमा वस्तुनिष्ट मापदण्डसहित अनिवार्य अवलम्बन गरिनु पर्छ । साथै पाठ्यक्रममा सामयिक परिमार्जन र सूचना तथा सञ्चार प्रविधिलाई पनि यथोचित समावेश गरिनु पर्छ ।

शिक्षकलाई शिक्षण सिकाइका क्षेत्रमा आएका नवीनतम अवधारणा, ज्ञान, सिप र प्रविधिसँग अद्यावधिक गराइराख्न निरन्तर पेसागत सहयोग र क्षमता विकास आवश्यक हुन्छ । यसका लागि सेवा प्रवेश, सेवाकालीन, छोटो अवधिका विभिन्न तालिम, कार्यशाला, अन्तव्रिर्mया, अवलोकन भ्रमण आदिको पर्याप्त अवसर प्रदान तथा स्वाध्ययनका लागि प्रोत्साहन गरिनु पर्छ । शिक्षक सञ्जाल, मेन्टरिङ जस्ता उपाय अवलम्बन गर्नु पर्छ । वैदेशिक अध्ययन र भ्रमणबाट सिक्ने मौका प्रदान गर्नु पर्छ । यसबाट शिक्षकमा दक्षता अधिवृद्धि भई पेसागत गौरवको अनुभूतिसमेत हुन जान्छ ।

शिक्षकमा अन्तरनिहित प्रतिभा र सम्भावनाको शिक्षण सिकाइमा पूर्ण उपयोग गर्न विद्यालयको कार्यवातावरण शिक्षकमैत्री हुनु पर्छ । यसका लागि विद्यालयमा आवश्यक न्यूनतम साधन र स्रोतको व्यवस्था हुनु पर्छ । शिक्षण सिकाइलाई समयानुकूल बनाउन सूचना र सञ्चार प्रविधिमा शिक्षकको सहज पहुँच र यससम्बन्धी तालिमको व्यवस्था मिलाउनु पर्छ । विद्यालय सञ्चालन शिक्षण सिकाइका लागि समुदाय र अभिभावकको सहयोगी भूमिका हुनु पर्छ । शिक्षक र अभिभावकबिच निरन्तर समन्वय र अन्तव्रिर्mया आवश्यक छ । शिक्षकलाई राजनीतिक वा अन्य ढङ्गले आफू अनुकूल उपयोग गर्न खोज्ने वर्तमान राजनीतिक र सामाजिक प्रवृत्तिमा सुधार हुन आवश्यक छ ।

शिक्षण पेसालाई आकर्षक बनाउन, यसमा प्रतिभा भित्र्याउन र टिकाइराख्न शिक्षकलाई अन्य पेसाका समान योग्यतावालाको भन्दा बढी सुविधाको व्यवस्था गर्नु पर्छ । यस्तो कुरा बेलाबखत नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख पनि हुने गरेको छ तर लागू गरिएको पाइँदैन । तलबभत्ता निजामती सेवाका कर्मचारीसरह भए पनि अन्य सुविधा नरहेको भन्ने गुनासो शिक्षकको रहेको पाइन्छ । शिक्षक सरुवा व्यवस्थित, अनुमानयोग्य र स्वचालित हुन सकेको देखिँदैन । बाल विकास र माध्यमिक तह (कक्षा ११–१२) मा कार्यरत सबै शिक्षक अस्थायी रहेका छन् । सेवाको स्थायित्व नभएको हुँदा उनीहरूको भविष्यबारे अन्योल देखिन्छ । 

प्रतिभावान्लाई आकर्षित गर्न र टिकाइराख्न सकिएको छैन । सेवाको स्थायित्व र वृत्ति विकास सुनिश्चित नहुँदा उनीहरूलाई पेसागत भविष्यप्रति ढुक्क र कार्यप्रति उत्प्रेरित गराउन सकिएको छैन । जसले शिक्षण पेसा प्रतिभावान् र उम्दाको रोजाइमा पर्न सकेको छैन ।

शिक्षकका लागि वित्तीय तथा गैरवित्तीय सुविधा वृद्धि र वृत्ति विकास सुनिश्चित गर्नु पर्छ । न्यूनतम तलब सुविधाका अतिरिक्त कार्यसम्पादनमा आधारित थप सुविधाको व्यवस्था गर्न सकिन्छ । त्यस्तै शिक्षक र परिवारको उपचारका लागि अस्पतालको व्यवस्था वा सरकारी खर्चबाटै स्वास्थ्य बिमाको व्यवस्था र शिक्षकका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था गर्नु पर्छ । ग्रामीण, विकट र दुर्गम क्षेत्रमा अध्यापन गर्ने शिक्षकका लागि थप आकर्षक सुविधा र निश्चित समय सेवा गरेपछि सुगम क्षेत्रमा सरुवा हुने स्वचालित प्रणालीको व्यवस्था गर्नु पर्छ । शिक्षा क्षेत्रमा निजी लगानीबाट सञ्चालित विद्यालयको पनि महत्वपूर्ण स्थान रहेको छ । यस्ता विद्यालयमा कार्यरत शिक्षकलाई पनि सार्वजनिक विद्यालयका शिक्षकसरह न्यूनतम सुविधा दिनुपर्ने कानुनी व्यवस्था रहे पनि यसको कार्यान्वयन अवस्था कमजोर रहेको छ । ती विद्यालयले शिक्षकलाई दिने सुविधामा एकरूपता र पारदर्शिता छैन । साथै सेवाको स्थायित्व पनि छैन । वृत्ति विकास र सामाजिक सुरक्षाको पनि कुनै निश्चितता छैन । यस्ता विद्यालयमा कार्यरत शिक्षकको न्यूनतम पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गर्न सकिएमा निजी लगानीका विद्यालयमा पनि अब्बल र उम्दा नवप्रतिभालाई आकर्षित गर्न र टिकाउन सकिन्छ ।

शिक्षकको कार्यसम्पादनको उचित एवं वस्तुनिष्ट मूल्याङ्कन र यसलाई सुविधा तथा वृत्ति विकाससँग आबद्ध गर्नु पर्छ । राम्रो काम गर्नेलाई नगद पुरस्कार, कदरपत्र, तलब वृद्धि थप जस्ता माध्यमबाट पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्छ । यसका लागि प्रत्येक स्थानीय तहले शिक्षक कार्यसम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्नु पर्छ । शिक्षकलाई पर्याप्त सुविधा, मर्यादा र वृत्ति विकास सुनिश्चित गर्न पेसाप्रति जवाफदेही र उत्तरदायी बनाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि शिक्षककै सहभागितासमेतमा आचारसंहिता निर्माण र सोको पूर्ण रूपमा पालना गर्ने व्यवस्था हुन आवश्यक छ । वर्तमान शिक्षा नियमावलीमा शिक्षक आचारसंहिता भए पनि यो पर्याप्त छैन । यसको पालनाको निरन्तर अनुगमनको कुनै भरपर्दो व्यवस्था पनि छैन । सङ्घीय प्रणाली अनुरूप निर्माण हुने शिक्षासम्बन्धी ऐन नियममा यसलाई व्यवस्थित गर्नु पर्छ । आचारसंहिता परिपालना अनुगमनको भरपर्दो संयन्त्र व्यवस्था गरी शिक्षकलाई प्रशासनिक रूपमा विद्यालय व्यवस्थापन र शैक्षिक रूपमा विद्यार्थीप्रति उत्तरदायी बनाउनु पर्छ ।

शिक्षण सिकाइका  क्रममा आइपर्ने विविध समस्याको पहिचान र समाधान, विद्यार्थीका विविधताको सम्बोधन, ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीनतासँग निरन्तर परिचित हुन तथा आफूमा अन्तर्निहित प्रतिभा र सम्भावनाको प्रस्फुटनमार्फत कक्षाकोठाको शिक्षण सिकाइमा सोको उपयोग गर्न शिक्षकलाई निरन्तर अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि प्रोत्साहन गर्नु पर्छ । यसका लागि स्वदेश तथा विदेशमा अध्ययन, अनुसन्धान र अवलोकन भ्रमणको अवसर दिन सक्नु पर्छ । शिक्षकले देखाएको सिर्जनात्मकता र नवप्रवर्तनलाई यथोचित कदर र प्रोत्साहन गर्नु पर्छ ।

अन्त्यमा गुणस्तरीय शिक्षाका माध्यमबाट सिपयुक्त र दक्ष जनशक्तिको उत्पादन, स्वदेशमै रोजगारी र स्वरोजगारीको सिर्जना र आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शिक्षण पेसामा मेधावी र प्रतिभावान् जनशक्ति आकर्षण गर्न आवश्यक छ । यसका निम्ति शिक्षण पेसालाई व्यावसायिकता र सुविधाका दृष्टिले आकर्षक बनाउन र यसको गरिमाको पुनरोत्थान गर्न अपरिहार्य छ ।

  

Author

धनसूदन चौलागाईं