प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ ।
शालिग्राम नेपाल चितवन, मङ्सिर ४ गते । चितवनको निर्वाचन क्षेत्र नं १ राप्ती–८, खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा विप्लव कार्यकर्ताको मतपेटिका जलाउने प्रयास विफल भएको छ ।निर्वाचन बहिस्कारको घोषणा गरेको विप्लव समूहले पर्खाल नाघेर मतपत्र जलाउने प्रयास गरेका हुन् । केही अराजक समूहले अवरोध गर्न खोजेका थिए अहिले अवस्था सामान्य छ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो । "मतदान गर्नेलाई कुनै समस्या भएको छैन, केही मिनेट मात्रै रोकिएको थियो," उहाँले भन्नुभयो, "म मतदान केन्द्रमै छु अवस्था सामान्य छ ।"मतदान केन्द्रमा करिब ५० जनाको सङ्ख्यामा आएको समूहले मतपेटिका जलाउन प्रयास गरेका थिए । एकछिन मतदान रोकिएको थियो । अहिले मतदान पुनः सुरु भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरू उत्साहित भएर बिहानैदेखि लाइनमा लागेका छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
सचिन पोखरेलझापा, मंसिर ४ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापामा मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं ३ बाट गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गर्नुभएको छ ।
राधा लुइटेल फिदिम, मङ्सिर ४ गते । पाँचथरका एक सय ७७ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ । जिल्लाका सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो ।यसैबीच जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले शान्ति बाल विकास मावि र एमालेका वसन्तकुमार नेम्वाङले फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । सुखवोध मावि जोरसालमा भने सुत्लीवम विस्फोट भएपछि केही त्रास फैलिएको थियो । तर अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
केशवचन्द्र महरा दिपायल, मङ्सिर ४ गते । डोटीमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाका एक सय ७८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया हुँदै गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।“शान्तिपूर्ण र भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्," उहाँले भन्नुभयो,"कुनै पनि स्थानमा अप्रिय घटना नहुन सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।"मतदान सुरु भएदेखि ३ घण्टाको अवधिमा ३ प्रतिशत जति मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । बिहानको समय भएका कारण मतदाताहरू कमै मात्रामा मतदान केन्द्रमा पुग्नुभएको छ," उहाँले भन्नुभयो,"यहाँका मतदाता ढिलो गरी मतदान गर्न आउनु हुँदो रहेछ । मतदान केन्द्रमा त्यस्तो भीडभाड देखिँदैन । लाइनमा मतदाता काम देखिन्छन्।"जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।डोटीमा मतदानका लागि एक सय १५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित एक सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र एक सय ३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा छुट्याएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा– १ रुवाखोला स्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ ।
नेकपा एमालेका महसचिव एवंम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले मतदान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका – १९ जनता विद्यापीठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
राममणि दाहालहेटौँडा, मङ्सिर ४ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरमा आइतबार बिहानैबाट मतदान जारी रहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा चहलपहल सुरु भएको हो । मतदान शान्तिपूर्ण सम्पन्न गर्न तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना सुरक्षाका लागि रहेका छन् । सुरक्षाकर्मीले मतदातासँगै, मतदान केन्द्र मतपत्र र मतपेटिकाको सुरक्षा गर्नेछन् । मकवानपुरमा म्यादी प्रहरी एक हजार ६९९, जनपथ प्रहरी एक हजार ६९, सशस्त्र प्रहरी चार सय र नेपाली सेना खटाइएको छ ।जिल्लाको १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाको सबै मतदान केन्द्रमा मतदाताले निर्बाध रूपमा मतदान गरिरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् ।यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।मकवानपुरमा आइतबार जारी निर्वाचनका लागि एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता कायम भएको छ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ हजार ९३० पुरुष, ७५ हजार २२१ महिला र अन्य चार गरी एक लाख ५० हजार १५५ मतदाता मतदानमा सहभागी हुँदै छन् । निर्वाचन क्षेत्र नं. २ मा ७८ हजार ५९८ पुरुष, ७१ हजार ९७९ र अन्य एक जना गरी एक लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १०५ र मतदान केन्द्र १९२ वटा रहेको छ । यसैगरी मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५, क्षेत्र नं. २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको छ ।
प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाकाे आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।
शेरबहादुर सार्कीबाजुरा, मङसिर ४ गते । बाजुरामा शान्त वातावरणमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूले शान्त वातावरणमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले कात्तिक २९ गतेबाट निर्वाचन सामग्री रुजु गर्दै कर्मचारीहरूलाई मतदान स्थलमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र अहिले शान्तपूर्णरुपमा मतदान सुरु भएको छ । सो मतदान केन्द्रमा अहिले ९०१ जना कर्मचारीसमेत खटाएका छन् । आजको निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाताले मतदान गर्न पाउने छन् ।बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा एमालेका कर्ण बहादुर थापा र नेपाली कांग्रेसका पार्टीका बद्रीप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यका उमेदवार रहेका छन् । भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क. एकीकृत समाजवादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट नेकपा एमालेका लालबहादुर थापा नेपाली काँग्रेसका पदम बहादुर शाही उम्मेदवार रहेका छन् । चुनावलाई सभ्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ, अहिले जिल्ला सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको छ ।
आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो ।