निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।
सप्तरी प्रतिनिधिसभा क्षेत्र – २ का उम्मेदवार रहनुभएका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिके राउतले सप्तरीको महदेवा वडा नम्बर २ को आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदात गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. १० उम्मेदवार नेत्री अञ्जना बिशंखेले चन्द्रागिरि नगरपालिकाकाे वडा नम्बर १० भैरब आधारभूत विद्यालय, सतुंगल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।
पाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे ले मतदान गर्नुभएकाे छ । भक्तपुर –५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे ।
बाजुराको तीन मतदान स्थलमा मतदान कार्य स्थगित भएको छ । बूढीगङ्गा नगरपालिका ९ को त्रिशक्ति मावि ८ को गिरी खेल्ने आधारभूत र बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन आयुक्तले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।
उहाँ परिवारसहित केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । मतदानपछि उहाँले पत्रकारहरूसँग कुरा गर्दै मतदान गर्ने अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनु भयो ।
मुसीकोट नगरपालिका १ रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी रहेको बेला आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
नेपाली काङ्ग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा बिहान मतदान गर्नु भएको छ ।
चित्र मिजारसिन्धुपाल्चोक, मंसिर ४ गते । पूर्वमन्त्री एंवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मतदान गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र–१ को बाह्रबिसे नगरपालिका–४ स्थित क्षमादेवी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–२ का गठबन्धन उम्मेदवारसमेत हुनुहुन्छ । यस्तै, २०७० साल र २०५६ सालमा निर्वाचन क्षेत्र–१ बाट बस्नेत नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई विजयी हुनुभएको हो । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बस्नेत गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार हुनुहुन्छ भने एमालेबाट शेरबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ । यो पटकको प्रतिनिधि सभा निर्वाचनमा बस्नेतले आफूलाई मतदान गर्न पाउनुहुन्न । मतदान गर्न क्षमादेवी मावि केन्द्रमा पुग्नुभएका बस्नेतसँग क्षेत्र नं.१ का गठबन्धन उम्मेदवार माधव सापकोटासँगै बस्नेत पनि मतदान केन्द्रमा पुग्नुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सर्लाही २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र महतोले मतदान गर्नुभएको छ ।