प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । सोमबार दिउसो २ः०० बजेसम्म भएको ६०० मत गणनामा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई २६९ मत आएको छ ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो ।
सल्यानमा मतगणना सुरु भएको छ । दिउँसो १ः १५ बजेदेखि मतगणना सुरु भएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सत्ता गठबन्धन दलको मैत्रीपूर्ण प्रतिस्पर्धा रहेको काठमाडौं क्षेत्र नम्बर १० को चुनावी ताजा नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजन केसीले एकहजार ७७ मत प्राप्त गर्नुभएको छ । चौथौँ पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँले तेस्रो पटक विजयी हुने दौडमा हुनुहुन्छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार तीन हजार १८९ मतगणना हुँदा सिंहको अग्रता देखिएको हो ।
प्रतीक इच्छुक शर्मा सल्यान,मङ्सिर ५ गते । सल्यानमा ११ बजेबाट मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म मतगणना हुन सकेको छैन । व्यवस्थापनमा समय लागेको कारण सल्यानमा मतगणना ढिला भएको हो । जिल्लाका २०५ मतदान केन्द्रबाट जिल्लाको मुख्य निर्वाचनको कार्यालयमा आइतबार राति ३ बजेसम्म मतपेटीका आइसकेको थियो । यस्तै, मतगणनाको लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठकसमेत बसेको थियो । तयारी नपुगेकाले मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो । उहाँका अनुसार जतिसक्दो छिटो मतगणनाको लागि तयारीका काम भइरहेको छ र अबको आधा घण्टा भित्र मतगणना सुरु हुनेछ । मतगणनाको लागि सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।यस्तै, सल्यानमा ५३ दशमलव २७ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरी ८४ हजार २२ मत खसेको छ । एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । र प्रदेश सभा (क) मा ७८ हजार ६ सय ६८ र प्रदेश सभा (ख) मा ७९ हजार ३३ मतदाता रहेका छन् ।
काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ ।
धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो ।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ ।
अमरराज नहर्कीतनहुँ, मङ्सिर ५ गते । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले आज दिउँसो २ बजेबाट मतगणना गर्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँमा प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । आइतबार मध्यरातसम्म मतपेटिका ल्याउन समय लागेकोले आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उहाँले बताउनुभयो । तनहुँ–१ को मतगणना दिउँसो २ बजे सुरु गरिने भएपनि तनहुँ-२ को मतगणना भने दिउँसो १२ः३० बजेबाट सुरु गरिने ढकालले जानकारी दिनुभयो । यसपटक तनहुँमामा ५५ प्रतिशत मत खसेको छ । जिल्लामा दुई लाख ४८ हजार ४९५ मतदाता मध्ये सो प्रतिशतमा मत खसेको ढकाल बताउनुहुन्छ । २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थल सुरक्षाको लागि तारजाली र सिसी क्यामराजिल्लामा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थलमा तारजाली राख्नुका साथै सिसी क्यामेरा सहितको अन्य सुरक्षा प्रबन्ध मिलाइएको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मतपेटिका राख्ने ठाउँमा सिसिटिभी क्यामरा जडान गर्नुका साथै बत्ती गएको समयमा बत्तीको व्याकअपको व्यवस्थासमेत गरिएको छ । मतगणना स्थलमा दलका उम्मेदवार/प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतगणनाका लागि चारवटा कोठा व्यवस्थापन गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो । यसका अतिरिक्त मतगणना स्थल जिल्ला समन्वय समितिको भवनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सुरक्षा मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपनाइएको बताउनुभयो । "मतगणना निकै संवेदनशील हुने भएकाले मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो", प्रजिअ अर्यालले भन्नुभयो ।
गोपी ज्ञवाली नवलपरासी, मङस्रि ५ गते । पश्चिम नवलपरासीमा दिउँसो एक बजेबाट मतगणना सुरु हुने भएको छ । नवलपरासी सङ्घीय क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको सभाहलमा र २ को मतगणना रामग्राम नगरपालिकाको सभाहलमा एक बजेदेखी सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । मतगणनाका लागि दुई वटै मतगणना स्थलमा सुरक्षाको लागि भन्दै तारजाली, सिसी क्यामरा, रातीको समयमा उज्यालोका लागि विद्युतीउपकरणसहित सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ । नवलपरासीको क्षेत्र नं १ मा ८० हजार ५३० र क्षेत्र नम्बर २ मा ८८ हजार ५२३ गरी जम्मा १ लाख ६९ हजार ५३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा दिउँसो सबा १ बजेबाट मतगणना हुने छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना गर्ने समय तय भएको हो । मतगणना एकै पटक प्रत्यक्ष र समानुपातिक गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।