जुम्लामा मत गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार प्रतिनिधिसभाको मत गणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।
क्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले) का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनामा हिमाली जिल्ला मनाङमा एमालेको अग्रता छ । प्रतिनिधि सभा र प्रदेश सभा ‘१’ तर्फ नेकपा एमालेको अग्रता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
काठमाडौं क्षेत्र नं. १ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रको अग्रता देखिएको छ ।
सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बेलुका ४ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हँसिया हथौडा चिन्ह लिनुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । २७८० मत गन्दा उहाँले एक हजार ४५० मत प्राप्त गर्नुभएको हो ।
काठमाडौंमा प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । गणना भएकामध्ये तीन स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।
गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
प्रेम अधिकारी पशुपतिनगर, मंसिर ५ गते । इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति भएपछि मत गणना सुरु भएको हो । यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकेको थिएन । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमति भएको थियो । प्रतिनिधिसभा निर्वचन क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार १ सय ३६ मत खसेको छ । खसेको मत ५३ दशमलव ९९ हुन आउँछ । इलाम १ मा गठबन्धनबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
जिल्लाको भोटखोला गाउँपालिकाको ३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ ।
नारायण तुम्बापो फिदिम, मङ्सिर ५ गते । पाँचथरमा आइतबार सम्पन्न निर्वाचनको सबै मतपेटिका सोमबार बिहान ३ बजेसम्ममै सङ्कलन भएपनि मतगणना भने साँझ ७ बजेबाट मात्र सुरु हुने भएको छ। यहाँको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध माध्यमिक विद्यालय तिङ्देन मतदान केन्द्रमा भएको मतपत्रको विषयमा विवाद उत्पन्न भएपछि गणनामा ढिलाइ भएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीको असावधानीका कारण २१ थान मतपत्र प्रदेशसभा तर्फको वितरण हुनुपर्नेमा प्रतिनिधिसभातर्फको पर्न गई सोही मत्रपत्रमा मतदाताले सङ्केत गरेर मतदान गरेको पाइएपछि विवाद भएको थियो । यस सम्बन्धमा निर्वाचन आयोगको राय माग गर्न पत्राचार गर्ने र त्यसपछि प्राप्त हुने आयोगको निर्णय मान्ने सर्वदलीय बैठकको निर्णयपछि अन्य क्षेत्रको मत गणना सुरु गर्ने सहमति भएको छ । मतगणना धाँधलीरहितले सम्पन्न गर्न गराउन फिदिमको मतगणना स्थल परिसरमा उच्च सर्तकताकासाथ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतद्वारा प्रदान गरिएको प्रवेश अनुमति पत्र पाएकालाई मात्र मतगणना स्थलमा जान पाउने व्यवस्था गरिएको छ । मतगणना कक्षमा तार जाली र सिसी क्यामराकोसमेत व्यवस्था गरिएको छ । प्रत्यक्षतर्फको तीन दिन भित्रमा मतगणना सम्पन्न गर्ने योजना रहेको सूचना अधिकारी सिजापतिले बताउनुभयो। त्यसपछि समानुपातिकको पनि तीन दिनमै परिणाम सार्वजनिक गर्नेगरी गणना थालिने उहाँले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय प्रमुख कुमारप्रसाद भट्टराईका अनुसार पाँचथरमा ५४ प्रतिशत मतदान छन् । जिल्लामा कुल एक लाख ३८ हजार ९३२ मतदाता रहेकामा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका छन् । जसमा ३९ हजार ६३७ पुरुष र ३५ हजार २६१ महिला रहेका छन् । यो पटक गत स्थानीय तह निर्वाचनको तुलनामा ११ प्रतिशतले कम मतदान भएको पाइएको छ । निर्वाचनप्रति मतदाताको उत्साह नदेखिनुमा मुख्यगरी राजनीतिक दलप्रति नागरिकको वितृष्णा प्रकट भएको सङ्केत मिल्ने यहाँका नागरिक समाज अगुवाको विश्लेषण छ । एक सङ्घ तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको जम्मा १०२ मतदान स्थल अन्तरगतका १७७ मतदान केन्द्रमा मतदान भएको थियो । निर्धारित मतदान सम्पन्नपछि जिल्लाको विभिन्न ठाउँबाट थालिएको मतपेटिका सङ्कलन गर्न दुर्गमताका कारण सोमबार बिहानको ३ बजेसम्म समय लागेको थियो । निर्वाचन कार्यक्रम भइरहेको अवस्थामा फिदिम नगरपालिका–४, सुखबोध माध्यमिक विद्यालय मतदान केन्द्र क्षेत्रमा दुई पटकसम्म अज्ञात समूहद्वारा सुतली बम विस्फोट गराइएको थियो । निर्वाचन बिथोल्ने प्रयास स्वरूप विस्फोट गराइए पनि मतदान कार्य अवरुद्ध हुन नदिइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । जिल्लाको अन्य ठाउँमा शान्तिपूर्णे निर्वाचन सम्पन्न भएको पाइएको छ ।
पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको लागि मतगणना सुरु भएको छ । यहाँ नेपाली काँग्रेसका विष्णु कार्कीले अग्रता लिनुभएको छ ।
मुस्ताङको प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।
सप्तरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले अग्रता लिनु भएको छ ।