हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ ।
गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सोमबार साँझ सवा सात बजेबाट गणना सुरु भएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो।
धनुषाको चार वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १, २ र ३ मा मतगणना जारी रहे पनि क्षेत्र नं. ४ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले एक निर्वाचन क्षेत्रमा चार ठाउँमा मतगन्ना गर्न दिएको निर्देशन बमोजिम पुर्वाधार तयारी गर्नमा ढिलाइ भएपछि एउटा निर्वाचन क्षेत्रको मतगणना अझै सुचारु हुन सकेको छैन ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेम महर्जनको अग्रता कायमै रहेको छ।
तिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनाको क्रममा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा (एमाले) ले अग्रता लिएको छ ।
डडेलधुरामा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत प्राप्त गर्नुभएको छ।
धरान सुनसरी क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसोदेखि मतगणना सुरु गर्ने निर्णय भए पनि मतगणना कार्य ढिलो सुरु भएको हो ।
आइतबार राति नै मतपेटिका सदरमुकाम चरिकोट ल्याइए पनि मतगणना भने अझै सुरु हुन सकेको छैन। दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका कारण मतगणना सुरु हुन नसकेको हो।
कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार हुने भएको छ। मुख्य निर्वाचन अधिकृत अस्वस्थ भएपछि एक दिन ढिलो गरी कैलाली-५ मा मतगणना हुने भएको हो। मङ्गलबार बिहान ८ बजे मतगणनाको कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ।
सोमबार बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी निकै तनावग्रस्त बनेको छ । त्रिवेणी नगरपालिका–७ मा मतदान स्थलमा विद्यार्थी नेता चेतन एडीको हत्या गरेको आरोप सहित अनेरास्ववियु सदरमुकाम मार्तडीमा आन्दोलित छ ।
नेपाली काग्रेंसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १८५ मत र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका जगदीश कुसियैतले १३१ मल ल्याउनुभएको छ ।
दाङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा (एमाले) का नेत्री शान्ता चौधरीलाई पछि पार्दै अग्रता लिनुभएको हो ।
स्याङ्जा क्षेत्र नं. २ का चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा एमालेले आरोप लगाएको छ । चापाकोट नगरपालिका वडा नम्वर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ ।
स्याङ्जाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले प्रारम्भिक अग्रता लिनु भएको छ । एक हजार ५८९ मत गणना हुँदा थापाले ७२६ मत हात पार्दा नेकपा एमालेका नारायण मरासिनीले ५६६ मत हात पार्नु भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।