आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना कार्य सुरु भएको छ । बागमती प्रदेशका केही जिल्लामा ढिला गरी मतगणना सुरु भए पनि अधिकांश जिल्लामा सोमबार बिहानैबाट मतगणना प्रक्रिया सुरुभएको छ । मतदान स्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । प्रतिनिधि सभाको ३३ र प्रदेश सभाको ६६ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अगाडि रहेका छन् । यस प्रदेशमा प्रदेश सभा सदस्यमा प्रत्यक्षमा ६६८ उम्मेदवार प्रतिस्पर्धामा गरेका थिए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। निर्वाचन आयोगका अनुसार सयभन्दा बढी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्कबमोजिम नेपाली कांग्रेसले ३८ भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ कांग्रेसका तीन उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एमाले)ले एक स्थानमा विजय प्राप्त गरेको छ भने २५ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ।
सर्वोच्च अदालतले ढुङ्गा, गिट्टीको उत्खनन र बिक्रीलाई सङ्घीय तहबाटै नियमन गरिनुपर्ने व्याख्या गरेको छ। कर सङ्कलनको अधिकार स्थानीय तहसँग भए पनि नियमनको अधिकार दिन उचित नहुने सर्वोच्चको व्याख्या छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत व्यापार घाटा न्यूनीकरणका लागि ढुङ्गा, गिट्टी निकासीको व्यवस्था गरेपछि सर्वोच्चमा रिट दायर गरिएका थिए। अदालतले निकासीसम्बन्धी उक्त व्यवस्था कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ। ०७९ वैशाख ७ गतेको फैसलाको पूर्ण पाठ अदालतले हालै सार्वजनिक गरेको हो।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी)मा रहन चाहनेको खोजी सुरु भएको छ । संरक्षक समितिका सदस्यको नाम सिफारिस गर्न सरकारले गठन गरेको समितिले संरक्षक समितिको सदस्यका रूपमा रहन चाहनेबाट आवेदन माग गरेको छ । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति (सर्च कमिटी) गठन गरिएको थियो ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै गएको खोकनाका बासिन्दाले परम्परागत परिकार योमरी, बारा, चटामरीलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । ललितपुर महानगरपालिका–२२ स्थित परम्परागत बस्तीका महिलाले समूहमा मिलेर हाल परम्परागत खानाको परिकार बनाउने र त्यसको बिक्रीवितरणबाट मनग्गे आम्दानी गर्न थालेका हुन् । विभिन्न संस्थाले खोकनाका महिलालाई परम्परागत परिकारलाई व्यापारीकरण गर्न तालिम तथा सहयोग गरेपछि सो क्षेत्रका महिलाले क्याफे सञ्चालन गरी परम्परागत परिकार बिक्री गरेर टोल बस्तीमै रोजगारी सिर्जना गरेका हुन् ।
पितृ मोक्षको कामना गर्दै मङ्गलबार बालाचतुर्दशी मनाइँदै छ । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महादीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ ।
पाँच वर्षमा आउने निर्वाचनजस्तो महत्त्वपूर्ण राष्ट्रिय उत्सव सकिएको छ तर धार्मिक, सांस्कृतिक र यस्ता उत्सवमा समेत प्रयोग गरिने चात्रोको प्रयोग घट्दो छ। यस पटक उम्मेदवारहरू गाउँमा भोट माग्न जाँदा आक्कलझुक्कल मात्र चात्रोको प्रयोग भयो। धेरै वर्षसम्म लोप भएको चात्रो यति बेला खप्तड छेडेदह गाउँपालिकाको नाइनामा देखियो। खप्तड छेडेदह गाउँपालिका–७, नाइनाका बासिन्दाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चुनावी मैदानमा उत्रेका उम्मेदवारको स्वागतका लागि चात्रो राखेका थिए।
डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई हजार ९४८ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ। अन्य क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना जारी छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो ।
हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता लिनुभएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०,४४० मत ल्याएर दोस्रो स्थान बनाउनुभयो । निर्वाचन आयोगले आधिकारिक रुपमा विजयीको घोषणा गर्न भने बाँकी छ ।
ओखलढुङ्गामा मतगणना सुरु भएको छ। सोमबार दिउँसोदेखि मतगणना सुरु गर्ने भनिए पनि केही विषयमा भएको विवाद समाधान नहुँदा मतगणनामा ढिलाइ भएको हो।
रुपन्देहीको क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणले सुरुवाती अग्रता लिनुभएको छ । दिउसो २ बजेबाट यहाँ मतगणना सुरु भएको थियो ।