(ध्यानाकर्षण : उद्धरण चिह्नभित्रका सामग्रीको हिज्जे प्रकाशित सामग्री अनुसार नै गरिएको छ ।
पछिल्लो खेलमा पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले सोमबार उरुग्वेविरुद्ध खेल्दै छ। उरुग्वेविरुद्धको जितले पोर्चुगललाई समूह ‘एच’बाट नकआउट चरणमा पु¥याउनेछ। पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ ले हराएको थियो। चालू विश्वकपमा एउटा विश्व कीर्तिमान बनाएपछि रोनाल्डोको प्रमुख लक्ष्य भनेको विश्वकप ट्रफी उचाल्नु नै हो। उहाँले पनि भन्नुभएको छ, “यो सुरुआत मात्र हो। असम्भव भन्ने केही हुन्न।” आफ्नो नेतृत्वमा पोर्चुगललाई युरो च्याम्पियन बनाइसकेका रोनाल्डोलाई विश्वकप ट्रफीले भने लोभ्याइरहेको छ। एट्लेटिको म्याड्रिडका फरवार्ड जोआवो फेलिक्स, म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर बु्रनो फर्नान्डेज र म्यान्चेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भाको उपस्थितिका कारण रोनाल्डोले आफ्नो अन्तिम विश्वकपमा ट्रफी उचाले आश्चर्यचकित हुनुपर्ने छैन। उरुग्वेले पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा खेलेको थियो।
पाँच पटकको विश्वविजेता तथा उपाधिको प्रमुख दाबेदार ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराउँदा रिचर्लिसनले दुवै गोल गर्नुभयो। त्यसैले रिचर्लिसन अहिले भगवान् उहाँको साथमा रहेको विश्वास गर्नुहुन्छ। स्विट्जरल्यान्डविरुद्ध सोमबार हुने खेलअघि रिचर्लिसनले सो भनाइ राख्नुभएको हो। रिचर्लिसनले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल गर्नुभयो।
लियोनेल मेसी चम्किएपछि अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। मेसी र अर्जेन्टिनाको प्रभावका कारण लुसैले रङ्गशालामा सो खेल हेर्न ८८ हजार ९६६ दर्शकको उपस्थिति रहेको थियो। सन् १९९४ मा अमेरिकामा ब्राजिल र इटालबीचको विश्वकपको फाइनल हेर्न क्यालिफोर्नियाका रोज बल रङ्गशालामा ९१ हजार १९४ दर्शकको उपस्थिति रहेको थियो। सो खेलपछि अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न रङ्गशालामा सर्वाधिक दर्शक उपस्थित थिए। यद्यपि यो दर्शक सङ्ख्या विश्वकपको सर्वाधिक धेरै दर्शकको शीर्ष ३० मा पनि छैन। सन् १९५० मा उरुग्वेले ब्राजिललाई हराएर पहिलो विश्वकप जित्दा ब्राजिलको रियो दी जेनेरियोमा अवस्थित माराकाना रङ्गशालामा एक लाख ७३ हजार ८५० दर्शकको उपस्थिति थियो। यो नै अहिलेसम्मको सबभन्दा धेरै दर्शकको कीर्तिमान हो।
स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेले ।
पुराना पार्टीलाई पछि पार्दै चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो। तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा (एमाले) ५५ हजार ३१२ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस ३९ हजार १३० मत ल्याएर तेस्रो भएको छ।
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायको कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न निर्माण सुरु गरिएको दनुवार कला सङ्ग्रहालय बजेट अभावमा अलपत्र बनेको छ। दनुवार जागरण समितिले २०७६ सालमा नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सुरु गरिएको उक्त सङ्ग्रहालयको काम अहिले बजेट अभावमा अघि बढ्न सकेको छैन। सिन्धुली जिल्लाको दुधौली नगरपालिका–५, सिर्थौलीमा पाँच हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुन लागेको दनुवार कला सङ्ग्रहालयको डीपीआरअनुसार निर्माण लागत ११ करोड ६९ लाख रुपियाँ रहेको समितिले जनाएको छ।
गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका वर्तमान मन्त्रीदेखि निवर्तमान सभामुखसम्म पराजित हुनुभएको छ। वर्तमान १८ सदस्यीय मन्त्रिमण्डलका मुख्यमन्त्रीसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गरी आठ मन्त्री उम्मेदवार बनेकामा एक मात्र मन्त्री पराजित हुनुभएको छ। नेकपा (माओवादी केन्द्र)बाट चितवन जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (क)मा प्रदेश सभा सदस्य उम्मेदवार बन्नुभएका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल नेकपा (एमाले)का कृष्णप्रसाद सिलवालसँग पराजित हुनुभएको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशमा विद्यालय तह (कक्षा ११ र १२)मा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको वातावरण विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीलाई तल्लो तहदेखि नै गुणस्तरयुक्त बनाउनुपर्ने भए पनि यही तहमा अध्यापन गराउने शिक्षकको अभाव रहेको बताउनुभयो।
सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरू, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इन्डोर र आउटडोर खेल मैदानहरू हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकताहरू हुन् तर रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरमा रहेको भीमेश्वर आधारभूत विद्यालयमा यी कुनै पनि पूर्वाधार पुग्न सकेको छैन। मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्कमा रहेको यो विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुन्छ। यो विद्यालयसँग ३४ जना विद्यार्थी पढिरहेको तथ्याङ्क भए पनि नियमित पढ्न विद्यालय आउने विद्यार्थी निकै कम छन्।
नेपाल बीमा प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालन गर्न सातवटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले आइतबार तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा कम्पनीका प्रस्तावलाई छनोट गर्दै लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको हो । लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेड, विराटनगर (प्रदेश १), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, वीरेन्द्रनगर (कर्णाली) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, पोखरा (गण्डकी) छनोट भएका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएका छन् । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्री : वन मोदर’ लाई निमाबल, क्याटिबेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को समयमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीका रूपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत भएको थियो ।
चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २३ गते प्रदर्शन हुने चलचित्रको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोका, विखण्डन र असमझदारीको कथा छ । कमल एक्चैमगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजङ्ग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय रहेको छ ।
शारीरिक सुन्दरता तथा स्वस्थ हुनका लागि गरिने व्यायामलाई युवापुस्ताले जीवनशैली बनाएको छ । युवापुस्ता आफूलाई फेसनेबल देखाउन साथीको लहैलहैमा लागेर पनि ‘जिम हाउस’ धाउने गर्छ । पछिल्लो समयमा युवतीहरूमा ‘एरोविक’ र पुरुषहरूमा ‘जिम’ लोकप्रिय बन्दै गएको छ । युवापुस्ताले व्यायामलाई स्वास्थ्यको हिसाबको साथसाथै फेसनको हिसाबले लिने गरेको पाइन्छ । शरीरलाई स्वस्थ, तन्दुरुस्त र फेसनेबल राख्न मानिसले अनेकौँ उपाय अपनाउने युवापुस्ताले आफ्नो जीवनस्तरलाई राम्रो देखाउन यस्ता व्यायाम गर्ने गरेको काठमाडौँ इन्जिनियरिङ कलेजका जतिन लामिछाने बताउनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तरलाई अझै साँघुरो पारेको छ । आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूको स्प्रेडदर ४ प्रतिशत र विकास बैङ्क र फाइनान्स कम्पनीहरूको ४.६ प्रतिशतमा सीमित गरेको हो । पछिल्लो समय वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको भन्दै बैङ्कहरूले अत्यधिक प्रिमियम असुलिरहेको र ब्याज बढाएको भन्ने आरोप लागेका बेला राष्ट्र बैङ्कले यस्तो कदम चालेको हो । हाल ‘क’ वर्गका वित्तीय संस्थाका लागि ४.४, ‘ख’ र ‘ग’ वर्गका लागि ५ प्रतिशतको स्प्रेडदरको सीमा तोकिएको थियो । यसलाई ०.४ प्रतिशत विन्दुले कम गरिएको हो ।