जिल्लाको सिस्ने गाउँपालिका–८ सुनखानाका भीउसन नाथको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ ।
दाङ तुलसीपुरका स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दुर्गाबहादुर खत्रीले सामाजिक सुरक्षाबापतको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई पोषणयुक्त खानेकुरा खरिद गरी वितरण गर्नुभएको छ। तुलसीपुर–१९ का ८४ वर्षीय खत्रीले सामाजिक सुरक्षाबापत प्राप्त गर्दै आएको रकमले प्रत्येक वर्ष सामाजिक र धार्मिक कार्यमा हस्तान्तरण गर्दै आउनुभएको छ।
चिसो मौसम सुरु भएसँगै तराईका जिल्लामा बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ।
सर्लाहीको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिका–१५, स्थित झरझरा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई खोला वारपार गर्न निकै सहज भएको छ।
सप्तरी सदरमुकाम राजविराजमा अव्यवस्थित, दुर्गन्धित र शौचालयबिना ल्याबहरू सञ्चालन गरिएको छ। महदेवा गाउँपालिका–४ का नजवुन खातुन बिरामी नातीको दिसा जाँच गराउन सोमबार बिहानै मङ्गलम डायग्नोस्टिकमा पुग्नुभएको थियो। डाक्टरले दिसा जाँच गराउन लगाएपछि उहाँ ल्याबमा पुग्नुभएको थियो। उहाँले जाँच गराउन गएको ल्याबमा शौचालय नहुँदा ल्याब अगाडिकै सडकमा उहाँले नातीलाई दिसा गराइरहनुभएको थियो। उहाँले ल्याबमा ट्वाइलेट नभएर बच्चालाई यहाँ दिसा गराउन लागेको सुनाउनुभयो।
बागमती प्रदेशमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सुरु गर्न लागेको नयाँ अङ्कभार प्रणाली विवादपछि रोकिएको छ ।
सिन्धुली जिल्लामा आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव आयोजना गरी दमकल खरिद गर्ने तयारी गरिएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ देखि १८ गतेसम्म छैटौँ सिन्धुली महोत्सव–२०७९ आयोजना गरी दमकल खरिद गर्ने योजना बनाइएको छ । “पुस ८ देखि १० दिनसम्म छैटौँ सिन्धुली महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ,” सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भन्नुभयो । महोत्सवको मुख्य उद्देश्य रकम जुटाएर शक्तिशाली दमकल किन्ने योजना बनाइएको छ ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मङ्गलबार सुरु हुनेभएको छ। रोयल नेपाल गल्फ क्लबमा हुने सो प्रतियोगिता ७२ होलमा खेलाइनेछ। दुई चरणपछि २१ व्यावसायिक गल्फरले मात्र ३६ होलका लागि अन्तिम चरणमा स्थान बनाउनेछन्। अन्तिम चरणमा छ एमेच्योर गल्फरले पनि प्रवेश पाउनेछन्।
कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएको छैन। हुन त रोनाल्डो पहिलो खेलमा घानाविरुद्ध गोल गरेर पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको थियो। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। उहाँको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ तर रोनाल्डो त्यसपछि दुई खेलमा शान्त नै देखिनुभयो। रोनाल्डोका समर्थकहरू उहाँले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणका लागि बचाएर राख्नुभएको विश्वास गर्छन्। पोर्चुगलले मङ्गलबार अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध खेल्दा रोनाल्डोसमक्ष समर्थकको अपेक्षामा खरो उत्रने चुनौती तथा अवसर हुनेछ। यद्यपि
हाम्रो समाजमा महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकाले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकका रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ । यसैलाई आधार बनाएर महिला अब कमजोर छैनन् भन्ने हेतुका साथ समाजलाई देखाउन लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अभियानमा कचहरी नाटक मञ्चन भएको छ ।
नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताउनुभयो । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ सङ्केत भएको जनाउनुभयो ।
आगामी पुस २२ बाट प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पुस १५ गते रिलिज हुने भनिएको चलचित्र एक हप्ता पर सरेको निर्माण टिमले जनाएको छ । अहिलेको अवस्थामा दुई राम्रा नेपाली चलचित्र एउटै मितिमा जुधाउनुभन्दा एक हप्तापछि सोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रवर्तीले बताउनुभयो । बलिउड र हलिउड चलचित्रसँग भागेर नेपाली चलचित्र एकआपसमा जुधाउने परम्परा तोड्ने हेतुले ‘चि मुसी चि’ पुस २२ गते रिलिज गर्न लागिएको निर्माता चक्रवर्तीको
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउनुहुने भएको छ । महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ । काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर २२ देखि २६ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाइएको छ ।
कर्णाली प्रदेशमा स्याउ उत्पादन धेरै हुने भए पनि बजारको अभाव, यातायातको असुविधा, महँगो हवाई ढुवानी र चिस्यान केन्द्रको अभावले बजार पाइरहेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा मुलुकभर १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा ४८ हजार ६११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । सो आर्थिक वर्ष कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य प्रदेशमा पनि स्याउ थोरै उत्पादन हुने भए पनि मधेश प्रदेशमा हुँदैन ।
नयाँ संविधान घोषणापश्चात् दोस्रो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका निम्ति आमनिर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भई नतिजा आइसकेको छ। निर्वाचनको निष्पक्षता तथा स्वच्छताले लोकतन्त्रका संस्थागत विकासमा नयाँ इँटा थपेको छ। नेपाली जनतामा राजनीतिक जनचेतनाको अभिवृद्धि यो निर्वाचनमा स्पष्ट देख्न सकिन्छ। निर्वाचनमा एक करोड नौ लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै मुलुकको संवैधानिक व्यवस्थालाई सुदृढ बनाउन योगदान गरिसकेका छन्। मतदाताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले आफ्नो तर्फबाट गर्नु जरुरी छ। विपन्न मुलुक नेपाल र नेपालीका समृद्ध हुने चाहना र लक्ष्यलाई निर्वाचित सबैले आ–आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न ढिला गर्ने बेला छैन।