कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाउनुभएको छ । स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्नुभयो। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बन्नुभएको छ। रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।
कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नु हुने भएको छ ।
लामो समयको चर्चा र प्रतीक्षापछि सरकारले ‘हेजिङ’सम्बन्धी काम गर्ने संस्थालाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै ‘हेजिङ’ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न सूचित गरेको हो । हेजिङ नियमावली, २०७९ अनुसार नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले हेजिङ सुविधा प्रदान गर्न सक्छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा उखुको खेतमा आगलागी हुँदा लाखौँ रुपियाँको उखु क्षति भएको छ । प्रतापपुर–५, बसहियाका बेलास सिंहको उखु खेतबाट सुरु भएको आगलागीले प्रतापपुरका सात किसानको खेतमा काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, बेलाटारीका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
कोभिड–१९ को कहरले थला परेका ह्याचरी उद्योग अहिले बैङ्क ऋणको ब्याज र उत्पादित चल्ला बिक्री नभएपछि थप सङ्कटमा छन् । यही सङ्कटले अहिले ह्याचरी उद्योग बन्द हुन थालेका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष एवं नेपाल पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष टीकाराम पोख्रेलले देशैभरि रहेका झन्डै तीन सय ह्याचरी उद्योगमध्ये अहिले सयवटाले मात्रै उत्पादन गरिरहेको जानकारी दिनुभयो । “अहिले धमाधम उद्योग बन्द भइरहेका छन् । चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द गर्नुको विकल्प रहेन,” उहाँले भन्नुभयो ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। मन्त्रिपरिषद्को मङ्सिर २० गते बसेको बैठकले निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गरेकोमा मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिने निर्णय गरेको छ।
महाभियोगका कारण निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीन अङ्गबीच टकरावको अवस्था सिर्जना भएको छ। प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकी अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद् र न्यायपालिकाबीच टकराव भएको हो। जबरालाई यसअघि कामकाज गर्न रोक लगाएको पत्र निष्प्रभावी भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमको पत्रपछि राज्यका अङ्गबीच विवाद भएको हो।
नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई रकम बाँडफाँटसमेत गरेको छ । उपदान तथा पेन्सन कोषको रकमबाट वाणिज्य बैङ्कमा दुई अर्ब ४३ करोड, विकास बैङ्कमा ४५ करोड र १५ करोड रुपियाँ वित्त कम्पनीमा राख्ने गरी सूचना जारी गरिएको छ ।
आलु र दूधको गुणस्तर र परिमाणमा अत्यधिक नोक्सान हुने गरेको एक अध्ययनले देखाएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले दूध र आलुको उत्पादन बढी हुने बागमती प्रदेशका चार जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन)मा पाँच महिना लगाएर गरेको अध्ययनले आलु र दूधको उत्पादन र गुणस्तरमा समस्या देखिएको हो । काभे्र र चितवन जिल्लाका ७७ किसान, सात दूध सङ्कलन केन्द्र र तीनवटा दुग्ध उद्योगमा अध्ययन गरिएको थियो । उत्पादन स्थलदेखि प्रशोधन केन्द्रमा दूधको गुणस्तरमा समस्या देखिएको अध्ययनमा संलग्न खाद्यविज्ञ डा. आलोक श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर खुद्रा मूल्य नघट्दा उपभोक्ताले राहत पाउन सकेका छैनन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मङ्सिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी एक सय रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ४० रुपियाँमा झरेको छ । रातो आलु पनि प्रतिकेजी ७५ रुपियाँबाट घटेर ५५ रुपियाँमा झरेको छ । मुला, बन्दा, सागलगायतका तरकारी पनि थोक कारोबारमा सस्तिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । प्रतिवेदनअनुसार आयोगले सरकारसमक्ष गरेका सिफारिसमध्ये १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी छ । आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथि निर्णय भएको छ, जसमा छवटा नीतिगत सिफारिस छन् ।
नेपालको नागरिक उड्डयन क्षेत्रमा पहिलो पटक अमेरिका र स्विट्जरल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता अघिबढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरिसकेको छ । त्यस्तै इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राजनीतिमा सक्रिय महिलामाथि पछिल्लो समय अनलाइनमार्फत लैङ्गिक हिंसा बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न संस्थाले गरेका अध्ययन प्रतिवेदनले यस्तो तथ्याङ्क उजागर गरेका हुन्।