कपिलवस्तुको शिवराज नगरपालिकामा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाइएको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो ।
दोलखाका युवा अभिनय कार्कीले दोलखाको प्रसिद्ध तथा पवित्र कालिञ्चोक मन्दिरबाट इलामको श्रीअन्तुसम्मको साइकलयात्रा सुरु गर्नुभएको छ ।
धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् ।
बुधवार मध्यान्न चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट आई पुगेको छ ।
सालोको हत्या गरेर फरार भएका कैलालीको जोशीपुर नगरपालिका–६ का ५० वर्षीय गौरीलाल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुगुका अधिकांश ग्रामीण भेकमा फोरजी सेवा विस्तारका लागि अझै टावर विस्तार हुन सकेको छैन। मुगुमा फोरजी विस्तारका लागि पाँच वर्षअघि टावर विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा ग्रामीण भेकका सेवाग्राही फोरजी सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकम मुगुका निमित्त प्रमुख गणेश डीसीले जिल्लाको ग्रामीण बस्तीमा टावर विस्तारको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सबैतिर फोरजी सेवा विस्तार हुन नसकेको बताउनुभयो।
२०७२ सालको भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका २६ वटा स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौँका अनुसार भूकम्पबाट क्षति भएका काभ्रेपलाञ्चोकका २६ वटा स्वास्थ्य संस्थामध्ये १४ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य संस्था भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । भारत सरकारको सहयोगमा महाभारत गाउँपालिकामा रहेको बनखु स्वास्थ्य चौकीको भवन निर्माण जग्गा विवादका कारण हालसम्म पनि काम भने सुरु हुन सकेको छैन ।
अदालतमा दर्ता भएका मुद्दा प्रकृतिको आधारमा अधिकतम डेढ वर्ष (१८ महिना)भित्र टुङ्गो लाग्नुपर्ने उल्लेख भए पनि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दो मात्रामा रहेको छ ।
भरतपुर महानगरपालिकाभित्र चार वर्षको अवधिमा खानेपानी प्रयोग गर्ने १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार नयाँ थपिकासँगै खानेपानी प्रयोग गर्नेहरूमा ३५ हजार घरधुरी पुगेको छ । अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्तयता सङ्घीय सरकार, बागमती प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एवं मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपियाँ खानेपानीको क्षेत्रमा खर्च भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसमा हरेक वर्ष झन्डै दुई साता हिंसाविरुद्धका गतिविधि गरेर निरन्तरता दिइँदै आएको छ तर यस्ता कार्यक्रम न लक्षित वर्गमा पुग्न सकेका छन् न त अभियानको प्रभावकारिता नै देखिएको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सरकारी तथा गैरसरकारी निकायबाट विविध कार्यक्रम गरिएको छ। अभियान चलिरहेकै बेला मङ्गलबार दिउँसो पन्चपुरी नगरपालिका–३, तोक्माका अमरबहादुर आलेमगरले श्रीमती मीना आलेमगरको हत्या गरी टाउको लिएर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर भाग्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आलेमगरलाई पन्चपुरी नगरपालिका–२, पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो।
सदरमुकाम बिजुवारमा रहेको जिल्ला अस्पताल विगत नौ महिनादेखि मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)विहीन भएको छ। मेसु डा. नवीन दर्नालको सरुवा भएपछि नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ।
भूमे गाउँपालिका–३ स्थित छरिएको बस्ती रहेको झुम्लाबाङ गाउँको छुट्टै र विशेष किसिमको पृष्ठभूमि रहेको छ। विभिन्न जातजातिको साझा थलोका रूपमा रहेको यो गाउँको इतिहास पृथक् र गौरवमय छ। यो गाउँ १९६४ साल (करिब ११५ वर्ष)अघि तामाखानीका कारण स्थापना भएको इतिहास छ। हालको जिल्ला सदरमुकाम रहेको रुकुमकोटदेखि निकै टाढाको दूरीमा झुम्लाबाङ गाउँ रहेको छ।
बेनी नगरपालिकाभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत घरटहरा हटाउन नगरले पटक–पटक ताकेता गर्दा पनि अटेरी भएको छ। नगरपालिका चिठी पठाउने र सूचना प्रकाशनमै सीमित छ। सार्वजनिक जग्गा–जमिन सीमित व्यक्तिले अनधिकृत रूपमा कब्जा गरेको र नगरपालिकाले खाली गराउन नसकेको नगरवासीको चर्को गुनासो छ।