logo
२०८० चैत्र १६ शुक्रवार

  खोप अभियानको एक वर्ष  



दुई करोड ९६ लाख मात्रा खाेप लगाइयाे, दुई लाख बढीलाई अतिरिक्त मात्रा

स्वास्थ्य |
मुख्य समाचार |


दुई करोड ९६ लाख मात्रा खाेप लगाइयाे, दुई लाख बढीलाई अतिरिक्त मात्रा


काठमाडौं,माघ १२ गते । सरकारले दुई लाख २३ हजार भन्दा बढीलाई अतिरिक्त मात्रा खोप लगाएको छ । माघ ४ गतेबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई अतिरिक्त मात्रा खोप दिन सुरु गरेको थियो । सात दिनमा सरकारले दुई लाख २३ हजार ९४४ जनालाई अतिरिक्त मात्रा खोप दिएको हो ।

सरकारले खोप अभियान सुरु गरेको माघ १४ गते एक वर्ष पुग्दैछ । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रामा खोप लगाएको छ । जसमा एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कम्तिमा एक मात्रा र एक करोड ३१ लाख छ हजार ७२६ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार कुल जनसंख्याको ५३.८ प्रतिशतले कम्तिमा एक मात्रा र ४३.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लक्षित जनसंख्याको ८२ प्रतिशतले एक मात्रा र ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

कुन खोप कति आयो, कतिले लगाए ?
सरकारले सोमबारसम्म कोभिसिल्ड/एस्ट्राजेनेका, भेरोसेल, जोनसेन, फाइजर मोर्डना गरेर अनुदान र खरिदमार्फत् ४ करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये सरकारले १ करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत २ करोड ८३ लाख ८८ हजार ८ सय ४० प्राप्त गरेको छ । सरकारले सोमबार र मंगलबार गरेर विश्व बैंकको सहयोगमा ४० लाख मोर्डना खोप प्राप्त गरेको छ।

जसमध्ये कोभिसिल्ड/एस्ट्राजेनेकाको एक करोड २५ लाख २४ हजार ५६० मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये ४४ लाख ८७ हजार ३०४ जनाले एक मात्रा, २८ लाख ५५ हजार ५४५ पूर्ण मात्रा र एक लाख चार हजार ९२९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । भेरोसेल एक करोड ९७ लाख ३६ हजार चार सय मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये ९७ लाख २७ हजार ४०७ ले एक मात्रा, ७७ लाख ५१ हजार १२ जनाले पूर्णमात्रा र ४१ हजार ३०८ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

अहिलेसम्म नेपालले ३७ लाख ११ हजार पाँच सय जोन्सन खोप प्राप्त गरेको छ। जसमध्ये २२ लाख ४९ हजार २४७ जनाले एक मात्रा त्यस्तै चार हजार २०० सय जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ७ लाख ६५ हजार १८० मात्रा फाइजर खोप ल्याएको छ। जसमा दुई लाख ४८ हजार ६८० जनाले एक मात्रा खोप लगाएका छन् । ४३ हजार ११९ जनाले अतिरिक्ति मात्रा खोप लगाएका छन् ।

अलिहेसम्म ३६ लाख ५१ हजार दुई सय मात्रा खोप प्राप्त गरेको छ। जसमध्ये १७ लाख ९२ हजार ६३४ जनाले एक मात्रा खोप प्राप्त गरेको छ ।

१८ वर्ष माथिकाले प्रदेश अनुसार कसले कति खोप लगाए ?
आइतबारको तथ्याङ्क अनुसार प्रदेश १ मा ७५ प्रतिशतले एक मात्रा र ५९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै प्रदेश २ मा ६० प्रतिशतले एक मात्रा र ५२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । बागमती प्रदेशमा ८५ प्रतिशतले एक मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक मात्रा र ८७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

लुम्बिनी प्रदेशमा ७४ प्रतिशतले एक मात्रा र ६३ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । कर्णली प्रदेशमा ५७ प्रतिशतले एक मात्रा र ५५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सुदूरपश्चिमा ६४ प्रतिशतले एक मात्रा र ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

१२ वर्ष माथिकाले प्रदेश अनुसार कतिले लगाए खोप ?
प्रदेश १ मा ७० प्रतिशतले एक मात्रा र ५० प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले एक मात्रा र ४४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । बागमती प्रदेमा ७७ प्रतिशतले एक मात्रा र ६७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । गण्डकी प्रदेशमा ८७ प्रतिशतले एक मात्रा र ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले एक मात्रा र ५४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा ६० प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सुदूरपश्चिमा ६४ एक मात्रा र ५२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

कसले कहिले लगाए खोप ?
सरकारले गतवर्ष माघ १४ गतेबाट कोराना विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा फागुन १० गतेसम्म अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइएको थियो । दोस्रो चरणमा फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र हिमाली जिल्लामा ५५ वर्षदेखि माथिका र तेस्रो चरणमा ५५ देखि ६३ वर्ष समूहका नागरिकलाई खोप दिइएको थियो ।

त्यसपछि सरकारले १८ वर्ष माथिका जनसंख्यालाई खोप लगाउन सुरु गरेको थियो । सरकारले कार्तिक २८ बाट मङ्सिर ४ गतेसम्म १२ देखि १८ वर्ष उमेर समूहका दीर्घ रोग भएका बालबालिकालाई खोप लगाइएको थियो ।

बाँकी रहेको खोप १२ देखि १७ वर्षका बालबालिकालाई मङ्सिर ५ गतेबाट खोप लगाउन थालिएको छ । सरकारले माघ ४ गतेबाट फ्रन्टलाइमा खरिएका कर्मचारी, ६० वर्ष उमेका वृद्धवृद्धा र जटिल ८ प्रकारका दीर्घ रोगीहरुलाई कोरोना विरुद्धको खोप दिन सुरु गरेको छ । सरकारले अहिले १२ वर्ष माथिकालाई खोप लगाउन सुरु गरे पनि ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकालाई भने खोप लगाएको छैन ।

८६ लाख भन्दा बढी फाइजर खोपलाई पत्रचार
नेपालमा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिन राष्ट्रिय खोप समितिले सुझाव दिइसकेको छ । सोही अनुरुप बालबालिकाहरुलाई लक्षित गरी सरकाले फाइजर खोप खरिदको काम अगाडि बढाएको छ। बालबालिकालाई पुग्ने ८६ लाख डोज खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो । बालबालिकालाई लगाइएको मोडर्ना र फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको अध्ययनले देखाएका छन् । सरकारले चैत महिना भित्र सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?