logo
२०८० चैत्र १५ बिहीवार



आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अन्तर्राष्ट्रिय |


आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश


वासिङटन, माघ १० गते । अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूतावासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।

पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन् ।

किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो ।

सो दूतावासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ ।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकलाई उक्त आदेश जारी गरेको बताइएको छ ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ । रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ ।

तर, पनि अघिल्लो महिनादेखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमाक्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले यो कुरा उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?