logo
२०८१ बैशाख ७ शुक्रवार



एसईईबारे हटेको दुविधा (सम्पादकीय)

विचार/दृष्टिकोण |




यस वर्ष अर्थात् वि.सं. २०७८ को माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन हुने नहुने सम्बन्धमा निकै आम विद्यार्थीमा द्विविधापूर्ण स्थिति कायम रह्यो । औपचारिक रूपमा अझै यो द्विविधा कामयमै रहेको छ । व्यवस्थापिका संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बिना अध्ययन एसईई खारेज गर्ने भन्यो तर एसईई कुनै निकायले भन्दैमा खारेज हुँदैन । यो त कानुनले निर्धारण गरेको छ । संसदीय समितिको भनाइले विद्यार्थी र अभिभावकमा अन्योल त छँदै थियो हालै कोरोनाको नयाँ लहरले विद्यालयको पठनपाठनलाई वैकल्पिक बाटोतिर धेकेलिदिएको छ । यसमा स्पष्ट सरकारी नीति नहुँदा पनि अन्योल परिरहेको थियो तर सबै खालका अन्योल चिर्दै एसईई परीक्षा आगामी वैशाखको आरम्भमै हुने सुखद समाचार बाहिरिएको छ ।

यो वर्षको परीक्षा हुने नहुने अन्योलको कारण कार्यतालिकामा पनि हो । यसअघिका वर्षमा मङ्सिर महिनासम्म परीक्षाको तालिका सार्वजनिक भइसक्ने परम्परा रहेको थियो । यो वर्ष माघ महिनाको पहिलो सातासम्म पनि परीक्षा तालिका प्रकाशित भएको छैन । व्यवस्थापिका संसदको शिक्षा तथा स्वास्थ्य समितिको एसईई खारेज गर्नुपर्ने धारणा आएपछि यो परीक्षाको भविष्य अन्योलमा परेको हो । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई आउँदो वैशाख महिनाको आरम्भमै सञ्चालन हुने माघ ९ गतेको गोरखापत्रले समाचार सार्वजनिक गरेको छ । यो समाचार सार्वजनिक भएसँगै परीक्षा हुने सुनिश्चितता आएको हो । नयाँ जानकारीसँगै विद्यार्थी, शिक्षक तथा अभिभावकमा देखिएको अन्योलतामा पनि पूर्णविराम लागेको छ ।

नेपालको विद्यालय स्तरीय शिक्षा प्रणालीमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) तथा हालको एसईईको आफ्नो खाले महìव रहिआएको छ । यसो हुँदाहुँदै पनि समयसापेक्ष शैक्षिक सुधारअन्तर्गत यी परीक्षाहरूका शैली एवं प्रणालीमा परिवर्तन ल्याउनु जरुरी छ । यस सम्बन्धमा सम्बद्ध सरकारीलगायत अभिभावक तथा अन्य सङ्घसंस्थाहरूसँग समन्वयात्मक भूमिकाको खाँचो जरुरी देखिन्छ । सरोकारवाला पक्षहरूबीचको समन्वयपछि नै यस सम्बन्धमा ठोस निष्कर्ष एवं निक्र्योल निकाल्नु उत्तम हुन्छ । विना अध्ययन र वास्तविकता यस सम्बन्धमा लिइने निर्णयले समग्रमा मुलुककै शिक्षा प्रणालीका लागि गुणस्तरको प्रश्न उठ्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठ्यो भने त्यो राम्रो हुने छैन ।

एसईईको वर्तमानको जस्तो अन्योलपूर्ण असहज परिस्थिति निर्माणबाट कसैलाई फाइदा छैन । स्वयं सरकारी र सरोकार निकायले समयमा आफ्नो काम सम्पादन गर्न पाउने छैनन । विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय पनि तनावमा रहने छन् । भविष्यमा यस्तो स्थिति आउन नदिन सम्बन्धित निकायको जिम्मेवारपूर्ण भूमिका अति नै आवश्यक देखिन्छ । कुनै मामिलामा समयमा गरिने निर्णय सबैको हितमा हुन्छ ।

विगत दुई तीन वर्ष यतादेखि कोरोना सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिको उपजका फलस्वरूप एसईई कार्यक्रमलाई सहज रूपमा सञ्चालन गर्न कठिनाइ परेको यथार्थ हो । कोरोना कहरकै कारण गत दुई वर्ष यो परीक्षा साविक जसरी सञ्चालन हुन पाएन ।
एसईई प्रत्येक वर्षको माघ फागुन महिनामा सम्पन्न हुने गरेका विगतका परम्परा भए पनि कोरोनाकै कारण पठनपाठनमा देखिएका व्यवधानका फलस्वरूप यस वर्षको यो परीक्षा नयाँ वर्ष २०८९ को वैशाखमा तय हुनुलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । वर्तमानको आवश्यकता भनेको वैशाखमा हुने भनेर जानकारीमा ल्याइएको एसईई परीक्षालाई व्यवस्थित गर्नु जरुरी छ । मूल कुरा त कोरोना कुन तवरले नियन्त्रण हुन्छ वा कहर बाँकी नै रहन्छ । अहिले उच्च बिन्दुमै छ । त्रास छ, वैकल्पिक पद्धतिले देशको सबै भूभागलाई छुन सकेको छैन ।

मर्यादित रूपमा परीक्षा सञ्चालन गर्न आवश्यक सबै न्यूनतम पूर्वाधारको व्यवस्थाका लागि समुदायलगायत सबै पक्षको सहयोगी भावनालाई कुनै पक्षबाट पनि बेवास्ता गरिनु हुँदैन । सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, स्वास्थ्य सुरक्षा तथा अन्य महìवपूर्ण विषयमा राष्ट्रिय परीक्षा बोर्डलगायत अन्य सम्बद्ध निकायले कुनै कमी कमजोरीको आशङ्कालाई हटाउने गरी कार्य गर्नु पनि त्यत्तिकै जरुरी छ । सबैभन्दा महìवपूर्ण विषय भनेको एसईईका सम्बन्धमा लामो समयदेखि अन्योलले विद्यार्थीमा देखिएको तनाव हटाउन विद्यालय तथा अभिभावकले निकै सहयोगी भूमिका खेलेर अहिले तयारी पठनपाठनमा ध्यान दिनु जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?