logo
२०८१ बैशाख १३ बिहीवार



कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको मृत्यु

स्वास्थ्य |
प्रदेश |


कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको मृत्यु


अविनाश चौधरी
धनगढी, माघ ९ गते । कैलालीमा आइतबार कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको खोप लगाएको केही समयपछि मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ ‘के गाउँ’ का ५३ वर्षीय रामदास डङ्गौराको मृत्युभएको हो ।

मृतक डङ्गौराले आइतबार सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल दोस्रो डोज खोप लगाउनु भएको थियो । खोप लगाएर घरतर्फ हिँडेका उहाँको केही समयपछि मृत्युभएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताउनुभयो । ‘खोप लगाएर घर नपुग्दै बाटोमै बेहोस भएको र मृत्यु भएको परिवारका सदस्यहरुको भनाई छ’, उहाँले भन्नुभयो ।

डङ्गौराको मृत्यु खोपकै वा अन्य कारणले भएको हो भन्ने विषयमा छानबिन हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो । ‘हामीले जिल्ला स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई खोप लगाएको समय, खोप नम्बरसहित जानकारी गराएका छौं’, उहाँले भन्नुभयो, ‘यसबारे ती निकायले छानबिन गर्नेछन् ।’

मृतक डङ्गौरा हिडेर खोप लगाउन आएको र हिडेर घरतर्फ गएको सापकोटाको भनाई छ । डङ्गौराले यसअघि, मङ्सिर १३ गते भेरोसेलको पहिलो डोज लगाउनुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप लगाएपछि डङ्गौराको मृत्यु भएकोबारे विश्व स्वास्थ्य सङ्गठनमा जानकारी गराइसकेको बताउनुभयो ।

यसबारे विश्व स्वास्थ्य सङ्गठनकै विज्ञहरुका टोलीले छानबिन गर्ने उहाँले बताउनुभयो । ‘खोपको कारणले मृत्यु भएको हो वा अन्य कारणले, त्यसबारे छानबिन हुन्छ’, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?