logo
२०८० चैत्र १६ शुक्रवार



सातै प्रदेशमा सिटामोल वितरण

मुख्य समाचार |


सातै प्रदेशमा सिटामोल वितरण


काठमाडौँ, माघ ८ गते । काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो । प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।

गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उहाँले बताउनुभयो । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ ।

सिटामोल छ, सञ्चित नगरौँ
सिटामोलको औषधि अभावलाई ध्यानाकर्षण गर्दै नेपाल औषधि उत्पादक सङ्घ र सरकार मातहत रहेको नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादनलाई बढाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले कोरोनाका कारण बजारमा सिटामोलको अभाव भएको बताउनुभयो ।
कोरोना बढ्ने हल्लापछि सर्वसाधारणले धेरै सिटामोल सञ्चित गर्न थालेको आरोप लगाउँदै महाप्रबन्धक सफिउल्लाहले भन्नुभयो– “केही दिनदेखि सर्वसाधारणसमेत एक दुई पत्ता सिटामोलका लागि औषधि लिमिटेडमा आउने गरेका छन् ।’’ दुई दिनमा छ लाख सिटामोल उत्पादन भइरहेको जानकारी दिँदै उहाँले मौसम परिवर्तनले गर्दा मानिसमा रुघाखोकी, ज्वरो आउने भएकाले हवात्तै माग बढेको बताउनुभयो ।

शुक्रबार मात्र शिक्षण अस्पताल वरिपरि भएका हरेक फार्मेसीमा दुई हजार पाँच सय ट्याब्लेटका दरले सिटामोल वितरण गरिएको जानकारी दिँदै उहाँले हरेक अस्पतालमा लिमिटेडले सिटामोल पु¥याउने बताउनुभयो । सिटामोल सञ्चित गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । औषधि लिमिटेडमा खरिदको झन्झटिलो प्रक्रिया र खरिदको सिलिङले पनि औषधि तथा सिटामोल उत्पादनलाई गाह्रो पारिरहेको उहाँले बताउनुभयो ।

दुई करोडभन्दा बढी उत्पादन
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले पछिल्लो समय सिटामोल उत्पादन बढाएको बताउनुभयो । सिटामोल नेपाली औषधि उत्पादकले धानिरहेको भन्दै उहाँले कोरोनाका कारण माग ह्वात्तै बढेको बताउनुभयो । महिनामा डेढ करोड सिटामोल उत्पादन गर्दै आइरहेकोमा माग बढेपछि दुई करोडभन्दा बढी सिटामोल उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।

नेपाली उत्पादकले सिटामोल नाफामूलक नभई सामाजिक उत्तरदायित्वको भावनाले उत्पादन गरिरहेको जानकारी अध्यक्ष पाण्डेले दिनुभयो । महिनाको डेढ करोड उत्पादन गरिरहेकोमा हाल माग बढेपछि उत्पादनलाई थप बढाइएको छ । कोरोनाले माग बढाएको भन्दै उहाँले २०६४ साल माघ १० गते समायोजन भएको औषधिको मूूल्य अहिलेसम्म्म त्यही मूूल्यमा बेचिरहनुपरेको गुनासो गर्नुभयो ।

औषधि उत्पादन क्षेत्रमा नयाँ प्रविधि आएका छन्, कर्मचारीको तलब बढेको छ, ढुवानी खर्च बढेको भन्दै उचित समयमा नै गरिनुपर्ने समायोजन नगर्दा व्यवसायीलाई मर्का परेको उहाँले बताउनुभयो । हाल नेपालमा १२ वटा कम्पनीले सिटामोल उत्पादन गरिरहेका छन् । उहाँले सिटामोल बनाउने कम्पनीलाई उत्पादन बढाउन आह्वान गरिसकेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?