logo
२०८० चैत्र १६ शुक्रवार

   कोभिडका बिरामी बढ्दै   



जनशक्ति र प्रविधि तयारी अवस्थामा

स्वास्थ्य |
मुख्य समाचार |


जनशक्ति र प्रविधि तयारी अवस्थामा


काठमाडौँ, माघ ७ गते । देशभरि कोभिड–१९ सङ्क्रमण दर वृद्धि भएपछि अस्पतालहरूले पनि उपचारको प्रबन्ध गर्न सबै पूर्वाधार र जनशक्ति तयारी अवस्थामा राखेका छन् । भर्ना हुन आउने कोभिडका बिरामीको सङ्ख्या बढोत्तरी भए पनि उपचार सेवा प्रवाहमा सबै सम्भावना खुला गर्ने गरी अस्पतालहरूले तयारी तीव्र बनाएका हुन् ।
काठमाडौँका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, ललितपुरस्थित पाटन अस्पताललगायत सबै कोभिड अस्पतालले कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई उपचारको सहज पहुँचका लागि आवश्यक स्वास्थ्य सामग्री र चिकित्सक तयारी अवस्थामा राखेका छन् ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्रकुमार बस्नेतले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका सबै सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । कोभिडका लागि एक सय भेन्टिलेटरसहित उपचारको प्रबन्ध गरिएको छ । उहाँले भन्नुभयो, “इमर्जेन्सी, आईसीयू, वार्ड तयार छन् । सबैमा अक्सिजनको व्यवस्था छ । २४सै घण्टा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था छ । ननकोभिड सेवालाई कम्प्रमाइज गरेर कोभिडको बिरामीलाई प्राथमिकता दिएर उपचार अघि बढाएका छौँ ।”

डा. बस्नेतका अनुसार बिहीबार साँझसम्ममा वीर अस्पतालमा ११० जना कोभिड सङ्क्रमित भर्ना भएर उपचार गराइरहेका छन् । बिहीबार मात्रै थप १५ जना सङ्क्रमित भर्ना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “थुप्रै स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुनुहुन्छ । १०–१५ जना एकैसाथ आइसोलेसनमा बस्नुपर्दा जनशक्ति व्यवस्थापनमा कठिनाइ हुन्छ । नयाँ जनशक्ति थप गर्दा मात्रै पनि हुँदैन तर सकेसम्म यहीँकै स्वास्थ्यकर्मीमार्फत उपचार सेवा दिइरहेको छौँ ।”

डा. बस्नेतले वीर अस्पतालमा पाँच सय जनासम्मको उपचार हुने उल्लेख गर्नुभयो । उहाँले साधारण, मध्यम किसिमका र जटिल बिरामीलाई तीन तहमा विभाजन गरी उपचार भइरहेको बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोभिड–१९ सङ्क्रमितहरू समुदायमै रहँदा सङ्क्रमितको सङ्ख्या एकैपटक बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो लहर हामीले सोच्नुभन्दा पहिल्यै भित्रिसकेको र समाजमा फैलिएको देखिन्छ । कसरी फैलियो र फैलिसकेपछि के गर्ने भन्ने रणनीतिलाई झुक्याएर पहिलो चरण पार ग¥यो ।” डा. पुनले अब उपचारसँगै सतर्क रहनुपर्ने बताउनुभयो । उहाँका अनुसार रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण लिएर नयाँ सङ्क्रमण फैलिएका कारण सङ्क्रमितहरू बढेका हुन् । उहाँले भन्नुभयो, “सङ्क्रमितहरू अस्पताल आउने र घरमै पनि स्वास्थ्यलाभ गर्ने गर्नुभएको छ । अघिल्लो लहरजस्तो तनावग्रस्त अवस्था छैन । आईसीयूहरूमा सात, आठदेखि १० जनासम्म देख्छु । भर्ना हुने बिरामी बढ्दै जाँदा उपचारको व्यवस्था पनि त्यही अनुपातमा वृद्धि गर्छौं ।”

डेल्टा भाइरसको लहरमा नौ हजारको हाराहारी सङ्क्रमित थपिएको उल्लेख गर्दै डा. पुनले त्यो तथ्याङ्क नयाँ लहरले पार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “डेल्टाको लहर र अहिले ओमिक्रोनको लहर बराबरी छ । मलाई लाग्छ, यसको प्रभाव धेरै लामो जाँदैन । एक–डेढ सातापछि सङ्क्रमण दर घट्छ । ”
अघिल्लो लहरमा स्वास्थ्य प्रणाली नै तहसनहस भएको बताउँदै डा. पुनले अहिले स्वास्थ्यकर्मीहरू एकपछि अर्को गर्दै आइसोलेसनमा बस्दा स्वास्थ्य प्रणालीमा यस पटक केही चुनौती आएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल अस्पतालमा आधिकारिक रूपमा एक सय शøया सञ्चालन गरिएको छ तर अघिल्लो बिरामीको सङ्ख्या वृद्धि भएपछि बेड थपी उपचारको व्यवस्था मिलाइएको थियो । डा. पुनले भन्नुभयो, “अहिले डेल्टाको लहरजस्तो ठूलो फ्लो छैन तर अक्सिजन र बेड थपेर पनि उपचार गर्छौं । तयारीमै छौँ । ”

भर्ना हुने बढे
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकलपर्सन डा. निरज बमका अनुसार यो साता भर्ना हुन आउने कोभिड सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ । बिहीबार मात्रै थप १४ जना सङ्क्रमित भर्ना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुसको दोस्रो सातासम्म चार–पाँच जनासम्म मात्रै बिरामी आउनु हुन्थ्यो । आज इमर्जेन्सीमै ४५ जना आउनुभयो, १४ जना भर्ना हुनुभयो । बुधबार १३ जना भर्ना हुनुभएको थियो । ”

सहप्राध्यापक डा. बमका अनुसार त्रिवि शिक्षण अस्पतालमा तीनवटा फ्लोरमा कोभिड वार्ड सञ्चालन गरिएको छ । ती सबै वार्ड भरिएपछि क्यान्सरका बिरामीको उपचार गर्ने वार्डलाई पनि बिहीबारदेखि कोभिड वार्डमा रूपान्तरण गरिएको उहाँले बताउनुभयो । शिक्षण अस्पतालमा बिहीबारसम्ममा ८५ जना बिरामीको उपचार चलिरहेको छ । उहाँले भन्नुभयो, “३६ बेडको आईसीयू–एचडीयू थियो । बिहीबार ११ वटा बेड थपेर ४७ वटा पु-याइएको छ । जनरल वार्डका बेड ६० वटा थिए । बिहीबार २२ वटा थपिएको छ । ”

डा. बमले बिरामीको सङ्ख्या वृद्धि भएमा शिक्षण अस्पतालका ननकोभिड वार्डलाई कोभिड वार्ड बनाउँदै लाने बताउनुभयो । वार्डहरू गाभ्ने र त्यहाँ रहेको जनशक्तिलाई परिचालन गर्ने रणनीति अस्पतालले लिएको छ । उपचार सेवामा खटिएका डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र भएको छ । जसका कारण केही चुनौती थपिएको डा. बमले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो लहरमा चिकित्सकहरूमा धेरै सङ्क्रमण थिएन । हामीले ४०५ जनासम्मको उपचार गरेको थियौँ तर यस पटक अग्रपङ्क्तिमा खटिनेहरू नै सङ्क्रमित हुँदा जनशक्ति व्यवस्थापनमा चुनौती भएको छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?