logo
२०८१ बैशाख ६ बिहीवार



भूकम्पबाट सुरक्षित रहन बलियो संरचना निर्माण गरौं : गृहमन्त्री खाँण

राजनीति |


भूकम्पबाट सुरक्षित रहन बलियो संरचना निर्माण गरौं : गृहमन्त्री खाँण
भूकम्प दिवसको अवसरमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाँण । तस्बिर गृहमन्त्रीको निजी सचिवालय


काठमाडौं, माघ २ गते । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पबाट सुरक्षित रहन बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार २४ औं भूकम्प सुरक्षा दिवस, २०७८ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘देशभर पटक–पटक गरेर आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछौँ,’ गृहमन्त्री खाँणले भन्नुभयो ।

भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औं नम्बरमा रहेको जानकारी गराउँदै उहाँले सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

लतिलपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उल्लेख गर्नुभयो ।

उहाँले भूकम्प दिवसको अवसरमा १९९० सालको भूकम्पको प्रसङ्ग उल्लेख गर्नुभयो । त्यसपछि आएका भूकम्पलेसमेत भौतिक र मानवीय क्षति गरेको उहाँको भनाइ छ । ‘१९९० साल माघ २ गतेको भूकम्पलाई नेपालको इतिहासमा ठूलो भूकम्पको रुपमा अंकित गरेको पाइछ’, गृहमन्त्री खाँणले भन्नुभयो, ‘त्यसपछि आएका साना तथा ठूला भूकम्पले नेपालले भौतिक र मानवीय क्षति गरेका थुप्रै घटना छन् ।’

१९९० सालको भूकम्पपछि सुरक्षित भवन निर्माण गर्ने प्रण गरेको र २०५५ सालदेखि दिवस मनाएको उहाँको भनाइ छ । ‘१९९० सालयता भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने प्रण गर्दै २०५५ सालदेखि दिवस मनाउँदै आएका छौँ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो । ‘मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता, २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरपालिकाभित्र कम क्षति भएको जिकिर गर्नुभयो । ‘हामीले विपद्का बेला प्रयोग हुने मानवीयका साथै भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धवारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छौं’, मेयर महर्जनले भन्नुभयो । महानगरपालिकाभित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाउने भनेर नीति निर्माण गरिसकेको उहाँले बताउनुभयो ।

भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले गएको भूकम्पमा भएका क्षति र विनाशलाई मध्यनजर गरेर पूर्वतयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गर्नुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सन् २०३० सम्ममा मुलुकलाई सुरक्षित बनाउनका लागि प्रशस्तै योजना अघि बढाइने बताउनुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जोखिम न्यूनीकरणका लागि संस्थागतका साथै व्यवस्थित काम गर्न जरुरी भएको धारणा राख्नुभयो । संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवाडले मुलुकका समुदायस्तरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको चेतना पु¥याउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय सुरक्षा डिजिटल प्रविधिका साथै लपु महानगरपालिकाले प्रकाशित गरेको ‘विपद् पुस्तिका’ समेत भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले भने पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर अगाडि रहेको ‘भूकम्प स्तम्भ’मा माल्यापर्णका साथै दीप प्रज्ज्वलन गरेर सो नगरमा कुनै प्रकारको विपद्को जोखिम भोग्नु नपरोस् भन्ने कामनासमेत गर्नुभयो ।

उक्त कार्यक्रममा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ भन्ने राष्ट्रिय अभ्यास कार्यान्वयनका लागि नमूना प्रदर्शनका साथै उपस्थित महानुभावहरुले सोको एकपटक पालना पनि गरेर देखाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?