logo
२०८१ बैशाख ६ बिहीवार

माघे सङ्क्रान्तिमा तरूलको व्यापार (फोटो फिचर)

अर्थ |
फोटो फिचर |


2022-01-13-55192
तस्बिर सुजन गुरुङ


काठमाडौं, पुस २९ गते । नेपालका हरेक चाडपर्वको फरक विशेषता छन् । नेपालीले फरकफरक चाडपर्वमा फरक परिकार खाने गर्छन्। दसैँमा दही, चिउरा र मासुको परिकार खाइन्छ भने तिहारमा सेलरोटीको महत्व हुन्छ । माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुल, चाकु र तिलका लड्डुको याद आइहाल्छ। चाकु र तिलका लड्डुको चलन सहर क्षेत्रमा बढी देखिन्छ । माघे सङ्क्रान्ति भन्ने बित्तिकै धेरै नेपालीले खाने तरुल, पिँडालु, सखरखण्ड हुन् ।

माघे सङ्क्रान्तिमा अत्यधिक खपत हुने तरुल, सखरखण्ड र पिँडालुमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख भएको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको विवरण अनुसार माघे सङ्क्रान्तिकै लागि पुस २९ गतेसम्म तरुल एक हजार २२९ टन भित्रिएको छ । जसमध्ये ८९ प्रतिशत तरुल आन्तरिक उत्पादन हो । बाँकी ११ प्रतिशत भारतबाट आयात भएको छ ।

सोही अवधिमा कालिमाटीमा पिँडालु २५३ टन भित्रिएको छ । जसमध्ये भारतबाट करिब १ प्रतिशत मात्रै भित्रिएको र अरु स्वदेशी नै आएको समितिका प्रवक्ता विनय श्रेष्ठले बताउनुभयो । सखरखण्डको हकमा भने ५१ प्रतिशत भारतबाट आयात भएको समितिको तथ्यांक छ ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा उपलब्ध तरुलमध्ये ४१ प्रतिशत सर्लाही जिल्लाको उत्पादन हो । यसका साथै बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सिन्धुली लगायतका जिल्लाबाट पनि तरुल/पिँडालु कालिमाटी आइपुग्छ । सखरखण्ड नुवाकोट, मकवानवुर, झापा, दाङ, बारा लगायतका जिल्लाबाट आउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कालीमाटीको तथ्याङ्क अनुसार अहिले तरुल प्रतिकेजी ७० देखि ८० रुपियाँमा कारोबार भइरहेको छ । यस्तै पिँडालु प्रतिकेजी ४० देखि ५० रुपियाँमा कोरोबार भइरहेको छ । सखरखण्ड प्रतिकेजी ६० देखि ७० रुपियाँमा कारोबार भइरहेको समितिका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

गतवर्षको तुलनामा यस वर्ष तरुल, सखरखण्ड र पिँडालुको खपत बढेको श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा बनेर देशका विभिन्न भागमा पुग्ने चाकुको व्यापारसमेत यो समयमा चम्किएको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन क्षेत्रमा बन्ने चाकु चर्चित छ ।