logo
२०८० चैत्र १६ शुक्रवार



बिरामीको पहिलो रोजाइमा 'ल्याप्रोस्कोपिक' शल्यक्रिया

स्वास्थ्य |


बिरामीको पहिलो रोजाइमा 'ल्याप्रोस्कोपिक' शल्यक्रिया


काठमाडौं पुस २९ गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याप्रोस्कोपिक (दूरबीन शल्यचिकित्सा) विधिबाट गरिने बिरामीको शल्यक्रिया पहिलो रोजाइमा परेको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीमध्ये ८०–९० प्रतिशत बिरामीको रोजाइमा ल्याप्रोस्कोपिक विधि पर्नेगरेको अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीले बताउनुभयो । दूरविनबाट शल्यक्रिया छिटो छरितो र सस्तोे भएकाले ल्याप्रोस्कोपिक विधिको सबैको रोजाइमा परेको डा अधिकारीको भनाई छ ।

‘शल्यक्रिया गर्दा सानो घाउ बनाउने हुँदा चाँडो निको हुने र डिस्चार्ज भएर चाँडो घर जान सक्ने र घाउ पनि नदुख्ने हुँदा पछिल्लो समय शल्यक्रिया गर्नुपर्ने बिरामीमध्ये ९० प्रतिशत बिरामीको रोजाइमा ल्याप्रोस्कोपिक विधि पर्नेगरेको छ’ डा. अधिकारीले भन्नुभयो ।

अस्पतालले ल्याप्रोस्कोपिक विधि १० वर्षअघि सुरु गरेको थियो । सुरुवाती चरणमा हप्तामा एक दुई जनाको मात्र ल्याप्रोस्कोपीबाट शल्यक्रिया हुनेगर्थ्याे । वर्षमा ५० देखि एकसय वटा मात्र यो विधिबाट शल्यक्रिया हुनेगरेको अस्पतालको भनाइ छ । पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्ने बिरामी बढेसँगै हप्तामा १० वटा ल्याप्रोस्कोपिक शल्यक्रिया गर्नेगरेको डा. अधिकारीले जानकारी दिनुभयो । डा. अधिकारीका अनुसार अस्पतालमा एक महिनामा ३० देखि ४० जनाको ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया हुनेगरेको छ ।

अस्पतालले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा २५० जनाले ल्याप्रोस्कोपीबाट शल्यक्रिया गराउनुभएको थियो । अस्पतालमा अहिले डा. अधिकारीलगायतका पाँच जना चिकित्सकको टोलीले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्नेगरेको अधिकारीले जानकारी दिनुभयो । ल्याप्रोस्कोपी सेवा लिनेको सङ्ख्या बढे पनि अझै जनशक्ति र प्रविधिको कमीले सेवा चाहे अनुरुपमा दिन नसकेको डा. अधिकारीले बताउनुभयो ।

‘यो विधिबाट शल्यक्रिया गर्ने विभिन्न विभागमा पाँच जना सिनियर सर्जन छौँ, तर ल्याप्रोस्कोपी मेसिन एउटा मात्र छ त्यसैले चाहेअनुसार सेवा दिन सकिएको छैन’ डा. अधिकारीले भन्नुभयो,
“सरकारले चिकित्सकलाई तालिम र अर्को मेसिनको व्यवस्था गरिदिएमा अझ प्रभावकारी ढङ्गले सेवा सञ्चालन गर्न सकिने डा. अधिकारीले बताउनुभयो । डा. अधिकारीका अनुसार हाल अस्पतालमा १० देखि २० हजार जनामा रोगअनुसार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिन्छ ।”

यो विधिबाट शल्यक्रिया गर्दा पालो कुर्न नपर्ने अधिकारीले बताउनुभयो । उहाँकाअनुसार ल्याप्रोस्कोपीबाट शल्यक्रिया गर्न चाहनेहरुका लागि दुई हप्तामा पालो आउने गर्छ । सेवा निरन्तता गर्न जुनियर डाक्टरलाई ल्यप्रोस्कोपिक तालिम सेवालाई निरन्तता दिन अस्पतालले जुनियर चिकित्सकलाई ल्याप्रोस्कोपिक बेसिक सर्जरी ट्रेनिङ भनेर तालिम दिनेगरेको छ ।

डा. अधिकारीका अनुसार अस्पतालले बेला बेलामा यस्तो तलिमको आयोजना गर्दा, कोही चिकित्सक सरुवा भएर अर्को अस्पतालमा जाँदा पनि सेवा प्रभावित नहोस् भन्नेमा ध्यान दिनुपर्छ । जुनिएर चिकित्सकहरु तालिम लिन बाहिर जान नपरोस् भनेर जुनिएर चिकित्सकलाई तालिम दिइएको उहाँले बताउनुभयो । म्हिनामा एक पटक आयोजना हुने सो तालिममा एउटा ब्याचका करिब ५–६ जना चिकित्सक सहभागी हुने गर्छन ।

के हो ल्याप्रोस्कोपी ?
ल्याप्रोस्कोपी एक अत्याधुनिक शल्यचिकित्सा पद्धति पनि हो । पेटमा सानो घाउ बनाई ‘फाइबर अप्टिक इन्डोस्कोप’ दूरबिनको सहयताले भित्री अङ्गका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ ।

शल्यक्रिया गर्ने पद्धति
शल्यक्रिया गर्नुपर्ने अङ्गमाथि प्वाल बनाएर क्यामरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ । डा अधिकारीकाअनुसार शल्यक्रिया गर्ने अङ्गमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखिन्छ । पेटभित्र भएका अङ्गमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अङ्गको अवस्था हेरिन्छ । अप्रेसन गर्ने अङ्गको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मेसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ ।

यो विधिबाट शल्यक्रिया गर्दा लामो समय लाग्नेगरेको चिकित्सकको भनाइ छ । त्यसैले दिनमा दुई तीन वटा मात्र गर्न सकिने डा. अधिकारीले जानकारी दिनुभयो । डा. अधिकारीका अनुसार दृश्य हेरर शल्यक्रिया गर्ने हुँदा यो विधि सुरक्षित र भरपर्दा रहेको चिकित्सकको सुझाव छ ।

ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने पद्धति
ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा धेरै किसिमका रोगको उपचार गरिन्छ । डा. अधिकारीका अनुसार ल्याप्रोस्कोपिक विधिबाट अस्पतालले स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।

ल्याप्रोस्कोपीका फाइदा
चिरफार गर्नु नपर्ने भएकाले बिरामी छोटो समयमा नै हिँडडुल गर्न सक्ने चिकित्सकको भनाइ छ । कम चिर्ने भएका कारण रगत कम बग्छ । सानो घाउ भएको कारणले दुःखाइ कम हुन्छ । शल्यक्रियापछि बिरामी छिटो निको भएर आफ्नो नियमित काममा फर्कन सक्छन् ।

यो विधि धेरै मोटो महिलालाई धेरै प्रभावकारी हुने अधिकारी बताउनुहुन्छ । ‘पुरानो तरिकाबाट धेरै मोटा शरीर भएका महिलाको चिरेर अप्रेसन गर्दा धेरै घाउ पाक्ने सम्भावना हुनेगरेको चिकित्सकको भनाइ छ । दूरबिनबाट अप्रेसन गरिएको खण्डमा नपाक्ने उहाँहरुको भनाइ छ । चिरफार गर्न नपर्ने भएकाले बिरामी छिटो समयमा नै हिँडडुल गर्न सक्छन्’ अधिकारीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?