logo
२०८० चैत्र १६ शुक्रवार



‘अब कोरोनाबाट बच्न सकिन्छ’

स्वास्थ्य |
मुख्य समाचार |


‘अब कोरोनाबाट बच्न सकिन्छ’


सरोज ढुङ्गेल

काठमाडौँ, पुस २८ गते । काठमाडौँ उपत्यकामा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप मङ्गलबारदेखि लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका पहाडी तथा हिमाली क्षेत्रस्थित ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिइसकेको छ । सरकारले उपत्यकालगायतका अन्य २० जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप दिने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार मङ्गलबारबाट काठमाडौँ र भक्तपुरमा कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो । भक्तपुरका बालबालिकालाई भने गत शुक्रबारदेखि नै खोप लगाउन सुरु गरिएको छ । भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा उत्साहजनक रूपमा विद्यार्थीले खोप लगाइरहेको बताउनुभयो ।

काठमाडौँमा डिल्लीबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, निजी विद्यालयहरूमा समेत खोप लगाउन सुरु गरिएको छ । शहीद शुक्र माध्यमिक विद्यालयमा खोप लगाउन लामबद्ध स्वीकृति भुसाल आफ्नो जन्मदर्ता लिएर खोप लगाउन बस्नुभएको थियो । खोप लगाउन पाउँदा उहाँ खुसी हुनुहुन्छ । पछिल्लो समय बालबालिकामा पनि कोरोना सङ्क्रमण फैलिरहेको छ, भुसालले भन्नुभयो,“खोप लगाउन पाउँदा कोरोनाबाट बचिन्छ भन्नेमा ढुक्क छु ।”

पाटन विद्यालयमा अध्ययनरत सलिना शर्माले पनि आज खोप लगाउनुभएको छ । केही समयअघिदेखि खोप लगाउने चाहना थियो । तर १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप नदिएका कारण खोप लगाउन पाउनुभएको थिएन । उहाँका आमा तथा दिदीहरूले यसअघि नै कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको थियो । सलिनाले आज खोप लगाउन पाउनुभयो । सलिनाले भन्नुभयो, “दैनिक हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमित हुँदा डर लागेको थियो, अब कोरोनाबाट बच्न सकिन्छ भन्ने आशा पलाएको छ ।”

यस्तै, भक्तपुरको रेन्बो सेकेन्डरी स्कुलमा पनि कोरोनाविरुद्धको खोप लगाइएको छ । कक्षा ८ मा अध्ययनरत स्मृति अधिकारीले तीन दिनअघि खोप लगाउनुभयो । विद्यालयमै खोप लगाउन पाउँदा स्मृति पनि धेरै खुसी हुनुहुन्छ । खोप लगाइसकेपछि अनुभव सुनाउँदै उहाँले यसअघि बन्दाबन्दीमा धेरै महिना घरमा बस्दा दिक्क लागेको हुनाले यस पटक बन्दाबन्दी नभइदिए हुन्थ्यो भन्ने छ तर सरकारले कोरोना बढ्दै जाँदा लकडाउन गर्छ होला, अधिकारीले भन्नुभयो, “सबैलाई खोप लगाइसकेपछि विद्यालय सञ्चालन गर्नुपर्छ ।” काठमाडौँ महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि कुँवरले विद्यार्थीको खोपप्रति आकर्षण रहेको बताउनुभयो । उहाँले कोरोना बढ्दै गएर पनि होला, विद्यार्थीले उत्साहजनक ढङ्गले कोरोनाविरुद्धको खोप लगाइरहेका बताउनुभयो ।

मङ्गलबारबाट विद्यालय बन्द भएका कारण खोप लगाउन समस्या भएको उहाँले बताउनुभयो । महानगरभित्रका एक लाख ४० हजार बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारीमा महानगर रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सधँै एउटै विद्यालयमा खोप केन्द्र हँुदैन, महानगरभित्रका छ सय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने लक्ष्य लिएका छौँ ।”

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले यो पटक हरेक विद्यालयमा खोपको व्यवस्था गरिएको जानकारी दिनुभयो । लक्षित समूह विद्यालयमा अध्ययनरत छात्रछात्राहरू भएकाले विद्यालयमै खोप केन्द्र रहने गरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । उहाँले आवश्यक खोपसहित स्थानीय पालिकालाई पठाइसकेको जानकारी दिँदै खोप लगाउने कार्य सम्बन्धित पालिकाले गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?