logo
२०८० चैत्र १५ बिहीवार



‘खोप कुनै पनि हालतमा रोकिनुहुन्न’

ओमिक्रोनबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ र स्वास्थ्य परीक्षण केन्द्र स्थापना गर्न निर्देशन

स्वास्थ्य |
मुख्य समाचार |


‘खोप कुनै पनि हालतमा रोकिनुहुन्न’


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ र स्वास्थ्य परीक्षण केन्द्र स्थापना गर्न निर्देशन दिनुभएको छ ।
कोभिड–१९ निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले खुला सिमानाका कारण भारतबाट आउनेको सङ्ख्या बढ्दै गइरहेकाले प्रवेश नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र गाउँघरतिर जान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सबै प्रवेश नाकामा स्वास्थ्य परीक्षण कडाइसाथ गर्नुप-यो । स्वास्थ्य अवस्था राम्रो नभएका व्यक्तिलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य अवस्था सुध्रिएपछि छोड्ने व्यवस्था मिलाउनुपर्छ ।’’

ओमिक्रोन छिटो फैलिन सकिने विज्ञहरूले जानकारी दिएको बताउनुहुँदै उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभयो–“ओमिक्रोन फैलिन नदिने वातावरण बनाउनुहोस् । त्यसका लागि मन्त्रालयले ठोस कार्ययोजना बनाउनुप-यो । कार्ययोजना कार्यान्वयन गर्न सबैले सहयोग गर्नुप-यो ।”

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘स्वास्थ्य मन्त्रालयले अब बुस्टर डोजलाई पनि व्यापक बनाउनुपर्छ । खोपलाई कुनै पनि हालतमा रोक्नुहुन्न । सारा काम छाडेर भए पनि खोपका पछाडि लाग्नुहोस् ।’’ अक्सिजन र बेडको समस्या आउन नदिने व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई सक्रिय हुन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजोको जस्तो अवस्था भोलि नआओस् । कहीँ कतै अक्सिजन र बेड नपाएर नागरिकको ज्यान जाने अवस्था आउन दिनुभएन । काम गर्नका लागि बजेटको अभाव नहोस्, यसमा अर्थ मन्त्रालयले ध्यान देओस् ।’’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भारतबाट नेपाल भित्रिने बढेसँगै चुनौती थपिएको बताउँदै नाका क्षेत्रमा स्वास्थ्य परीक्षण र थप व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती थपिएको बताउनुभयो । उहाँले हाल खोप एक करोड दुई लाख भण्डारमा भए पनि सिरिन्ज नभएका कारण खोप दिन समस्या भइरहेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई माघको पहिलो हप्ताबाट बुस्टर खोप दिइने र दोस्रो हप्ताबाट ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा अशक्त बिरामी व्यक्तिलाई लगाउन सुरु गर्ने कार्ययोजना रहेको बैठकमा जानकारी दिनुभयो  ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप सङ्कट आउनेतर्फ बेलैमा सचेत हुन र भीडभाड हुने कार्यक्रमहरू कम गर्न निर्देशन दिनुपर्ने धारणा राख्नुभयो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने यात्रुलाई विशेष निगरानी राख्नुपर्ने र आन्तरिक उडानमा पनि पीसीआर परीक्षणलाई अनिवार्य गरिनुपर्ने सुझाव दिनुभयो । गृहमन्त्री बालकृष्ण खाड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, मुख्यसचिव शङ्करदास बैरागीले ओमिक्रोन भेरियन्टबाट बच्न स्पष्ट कार्ययोजना निर्माण गर्नुपर्ने, राजनीतिक दलका कार्यक्रमलाई कम गर्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको अवस्थामा विश्वविद्यालय,  विद्यालयलाई बन्द गर्न नहुने र कोरोना नियन्त्रण गर्नसक्ने परिस्थितिसम्म बन्दाबन्दी गर्न नहुने बताउनुभयो । बैठकमा नेपाली सेनाले सातै प्रदेशमा होल्डिङ सेन्टर निर्माणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेको थियो । सेनाले सातै प्रदेशमा नौवटा एक, एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माण भइरहेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अघिल्लो वर्षको जस्तो समस्या नपर्ने, खोप लगाउने अभियानलाई प्रभावकारी बनाउँदै लगिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?