logo
२०८० चैत्र १६ शुक्रवार



पुराना सङ्क्रमितको पहिचानले सङ्ख्या बढ्यो

स्वास्थ्य |
प्रदेश |


पुराना सङ्क्रमितको पहिचानले सङ्ख्या बढ्यो



रेखीराम राना
पाल्पा, मङ्सिर २१ गते । जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढेको छ । लुकेर रहेका सङ्क्रमितको पहिचान हुन थालेपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो । नयाँ सङ्क्रमित बढेको नभई चेकजाँचबाट लुकेर रहेका पुरानै सङ्क्रमितहरूको पहिचान भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गत वर्ष दुई सय ९७ जना मात्र सङ्क्रमितको पहिचान भएकोमा यो सङ्ख्या बढेर तीन सय ३५ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले पाल्पामा हाल एक सय ७८ जना महिला र एक सय ५७ जना पुरुष सङ्क्रमित रहेको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १० जना बालिका र १२ जना बालक गरी २२ जना बालबालिका रहेको उहाँले बताउनुभयो ।

जिल्लामा पुराना तथा नयाँ सङ्क्रमित पहिचान गर्ने क्रममा यो वर्ष दुई जना नयाँ सङ्क्रमित थपिएका र बाँकी ३३ जना पुराना सङ्क्रमित चेकजाँचको क्रममा पहिचान भएको प्रतिबद्ध सहयोग समूहकी कार्यक्रम संयोजक माला न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तानसेनमा ६६ जना, रामपुरमा ६७ जना, निस्दीमा आठ जना, पूर्वखोलामा २७ जना, रम्भामा २९ जना, माथागढीमा २० जना सङ्क्रमित छन् । यस्तै, तिनाउमा १६ जना, बगनासकालीमा २५ जना, रिब्दीकोटमा ५९ जना र रैनादेवी छहरामा १८ जना सङ्क्रमित छन् ।

जिल्लाभर रहेका तीन सय ३५ जना सङ्क्रमितमध्ये दुई जनाले बाहेक सबैले एआरटी औषधि सेवन गरेको न्यौपानेले बताउनुभयो । यो वर्ष सात जना सङ्क्रमितको मृत्यु भएको उहाँले बताउनुभयो । जिल्लामा सेभ द चिल्डे«न तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक)को सहयोगमा स्क्रिनिङ् गरी एचआइभी सङ्क्रमित पत्ता लगाउने कार्य भइरहेको छ ।

भारतमा काम गरेर फर्किएका तथा विदेशमा काम गर्न गएका दुई हजार पाँच सय बढी मानिसमा एचआइभी परीक्षण गरिएको नार्डेकका कार्यक्रम प्रमुख डिवी पछाईले जानकारी दिनुभयो । सरकारले सन २०३० सम्ममा सङ्क्रमितको सङ्ख्या ९५ प्रतिशतले कम गर्ने र सङ्क्रमितको उपचारमा ९५ प्रतिशत पहुँच पु¥याउने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?