logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण

राष्ट्रिय |


काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण


अशोक अधिकारी

काठमाडौँ, मङ्सिर १० गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ ।

विभिन्न जिल्लामा सम्पन्न वडा तहको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवालाई नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले प्रतिनिधि छनोटका क्रममा अघिल्ला महाधिवेशनभन्दा यस पटक युवाको प्रतिनिधित्व वृद्धि भएको बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिको नतिजा आउने क्रम जारी रहँदा २५ वर्षभन्दा कम उमेरका युवा उषा सापकोटा, सुल्तान मियाँ, पूजा फुयाल, राज थेबे, एलिजा ढकाल र सुशान्त आचार्य निर्वाचित हुनुुभएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाकी सापकोटा २०६१ साल साउन १० गते जन्मिनुभएकी उषा सापकोटा गण्डकी प्रदेशको अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा विजयी हुनुभएको छ । सापकोटाले कुल ४६३ मध्ये २८६ मत पाउनुभएको थियो । उहाँले लाखौँ युवाको प्रतिनिधित्व गर्दै युवाका आवाजलाई उठान गर्न र समृद्धिको कार्यमा युवाको प्रतिनिधित्व बढाउने सन्देशका रूपमा आफ्नो जितलाई लिएको प्रतिक्रिया दिनुभयो ।
यसैगरी सुल्तान मियाँ बागमती प्रदेशको अधिवेशनका लागि काठमाडौँ क्षेत्र नं. ७ बाट निर्वाचित हुनुभएको छ । २०५७ माघ १० गते गोरखामा जन्मिनुभएका मियाँले भन्नुभयो, “राजनीतिमा युवाको उपस्थितिले पार्टीसँगै सिङ्गो देशको रूपान्तरणका लागि सहयोग पु-याउँछ ।”

पूजा फुयाल काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । सोलुखम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिका–३ की फुयाल २०५६ सालमा जन्मिनुभएको हो ।
उहाँले नेपाली काँग्रेसभित्र रूपान्तरणको बहस चल्दा युवाको सहभागिता बढेको प्रतिनिधि छनोटको निर्वाचनले पुष्टि गरेको बताउनुभयो ।
यस्तै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ मा २०५३ साल असार १ गते जन्मिनुभएका राज थेबे पनि सोही जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनमा हाम्रो पुस्ताका युवाको उपस्थिति निकै ठूलो मात्रामा देखिएको छ । अब काँग्रेसमा जागरण आउनेछ ।”

यसैगरी एलिजा ढकाल नेविसङ्घकी निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । २०५० साल जेठ २२ गते तनहुँको चुँदीरम्घा नगरपालिकामा जन्मिनुभएकी ढकाल तनहुँ प्रदेश सभा १ ‘क’ बाट ५३१ मतदातामध्ये सबैभन्दा बढी २८२ मत प्राप्त गरी गण्डकी प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभयो । उहाँले भन्नुभयो, “देशको समृद्धि र रूपान्तरण काँग्रेसको मुद्दा हो । यो मुद्दालाई स्थापित गर्न र समृद्धिको राष्ट्रिय अठोटलाई साकार पार्न युवाको नेतृत्व आवश्यक छ ।”

वि.सं. २०७२ मा नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका सुशान्त आचार्य काठमाडौँ क्षेत्र नं. ७ बाट बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । २०५६ वैशाख १४ गते जन्मिनुभएका आचार्यले १४औँ महाधिवेशन काँग्रेसको मात्रै नभई समग्र देशकै आमूल परिवर्तन, आर्थिक विकास, समानता र समतामूलक समाज निर्माण गर्न कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?