logo
२०७८ मंसिर २३ बिहीवार



लैङ्गिक हिंसारहित समाज (सम्पादकीय)

विचार/दृष्टिकोण |





बिहीबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउने र हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउने उद्देश्य लिएको छ । नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । शारीरिक, मानसिक र यौनजन्य क्षति वा पीडा पु¥याउने गरी सार्वजनिक वा निजी जीवनमा महिलामाथि लिङ्गका आधारमा हुने हिंसा महिला हिंसा हो । महिलाविरुद्धको हिंसा प्रमुख सामाजिक समस्या रहँदै आएको छ । कुरीति, पछौटेपन, आर्थिक रूपमा परनिर्भरता, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा लैङ्गिक हिंसाका घटना हुने गरेका छन् । राष्ट्रिय महिला आयोगको हेल्पलाइनमा दैनिक २० वटासम्म महिला हिंसाका उजुरी दर्ता हुने गरेका छन् । नेपाल प्रहरीमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना दर्ता हुने गरेका छन् । विभिन्न अभियान नै सञ्चालन गरिए पनि महिला हिंसाका घटना निरन्तर बढिरहनु चिन्ताको विषय हो । थोरै मात्रै महिला हिंसाका घटना कानुनी उपचारको प्रक्रियासम्म आइपुग्ने भएकाले समाजमा यस्ता घटना धेरै भएको सहज अनुमान गर्नसकिन्छ ।

समाजमा छाउपडी प्रथा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सी आरोप, छुवाछूतलगायतका कुसंस्कार व्याप्त छ । यी अभ्यास र सोच मानवका लागि कलङ्कका रूपमा सदियौँदेखि विद्यमान छन् जसको परिणामस्वरूप महिलाले पारिवारिक जीवनदेखि सार्वजनिक क्षेत्रमा विविध हिंसाको सामना गर्नुपरेको छ । घर होस् वा सार्वजनिक स्थल, महिलाविरुद्ध हिंसाका घटना हुने गरेका छन् । महामारी, प्राकृतिक प्रकोप, युद्ध, राजनीतिक अस्थिरता जस्ता जटिल परिस्थितिमा हिंसाका घटना बढ्छन् । संयुक्त राष्ट्रसङ्घले हालै १३ देशमा गरेको एक अध्ययनमा पनि कोभिड–१९ को महामारीमा महिला हिंसाका घटना बढेको पाइएको छ । महामारीबाट सुरक्षाका लागि घरमा बस्नुपर्ने बाध्यतामा पनि घरभित्रै पनि असुरक्षित हुनुपर्ने अवस्था विडम्बनापूर्ण छ । नेपालमै पनि ८० प्रतिशत महिला हिंसाका घटना घरमै हुने गरेको पाइएको छ, अझ आफन्तबाटै पीडित हुनुपर्ने अवस्था पनि छ । यस सन्दर्भमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने यो अभियानको यस वर्षको राष्ट्रिय नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ बढी सान्दर्भिक छ । महिलाविरुद्धका हिंसाले प्रत्यक्ष रूपमा पीडित महिलालाई शारीरिक, मानसिक वा यौनजन्य पीडा दिने भए पनि यसले महिलाको सर्वाङ्गीण विकासमा बाधा पार्छ । यसबाट व्यक्ति मात्र प्रभावित हुने नभई सम्पूर्ण परिवार, समाज र देशकै प्रगतिमा समेत असर पुग्छ । त्यसैले यस्ता सामाजिक रोगको अन्त्य गर्न घरबाटै सुरु गर्नु जरुरी छ ।

समाजमा महिला हिंसा हुनुको पछाडि धेरै आर्थिक, सामाजिक र धार्मिक कारण छन् । रुढिवादी सोच, कुसंस्कार र कुप्रचलन मुख्य छन् । मादक पदार्थको प्रयोग, आर्थिक प्रलोभन र इन्टरनेटको दुरुपयोगका कारण हिंसाका घटना बढ्दै गएका छन् । यिनै समस्याको जरो पहिल्याएर समाधानका उपाय खोज्न सकिन्छ । यस्ता घटनाबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, कम पढेका वा अशिक्षित र आर्थिक रूपले परनिर्भर महिला बढी प्रभावित छन् । त्यसैले कुसंस्कार र कुरीति उन्मूलन गर्न जनचेतना र शिक्षा दिनुका साथै महिलालाई आर्थिक र सामाजिक रूपमा बलियो र आत्मनिर्भर बनाउनसक्ने हो भने पनि यस्ता घटना कम गर्न सहयोग पुग्छ । यसका लागि प्रत्येक नागरिक, परिवार, समाज र राष्ट्रले महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र सार्वजनिक कार्यमा महिलाको सहभागिता सुनिश्चित गर्न सहयोग गर्नुपर्छ । सबभन्दा महìवपूर्ण कुरा प्रत्येक व्यक्तिले महिला हिंसाविरुद्ध उभिनुपर्छ । लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माण आजको आवश्यकता हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?