logo
२०८१ बैशाख ८ शनिवार



हुम्लामा ४९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |
प्रदेश |


हुम्लामा ४९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप


राजन रावत
हुम्ला, मङ्सिर ८ गते । हिमाली जिल्ला हुम्लामा कोरोनाविरुद्धकोे खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाउनुभएको छ । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएको उमेर समूहका नागरिकलाई लगाउने काम भएको हो ।

कार्यालय प्रमुख प्रेमबहादुर सिंहका अनुसार जिल्लामा उपलब्ध भएको भ्याक्सिन ३६ हजार ४४७ डोजमा ३३ हजार २४७ डोज खर्च भएको छ । उहाँले कुल खर्च भएको खोपमा कोरोनाविरुद्ध दुबै डोज लगाउने नागरिक मङ्गलबारसम्म १६ हजार ६९१ रहेको बताउनुभयो । उहाँले खोप लगाउनेमा १८ वर्षका युवा युवतीदेखि ९० वर्षका जेष्ठ नागरिक रहेको बताउनुभयो । खोप लगाउनेमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको कार्यालयले जनाएको छ ।

हुम्लामा जोन्सन एण्ड जोन्सन, भेरोसेल र कोभिशिल्ड खोप उपलब्ध भएको थियो । यो खोप जिल्लाका सातवटै गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा लगाइएको छ । यसमा हिमालपारीको गाउँ लिमी, चाला, ताँजाकोट गाउँपालिकाको बस्ती मासपुर र अर्को टाढाको चंखेली गाउँपालिकाको नेक्पामा स्वास्थ्यकर्मी पुगेर लगाइएको छ ।

यसका लागि ८० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन भएको कार्यालयले जनाएको छ । हाल कार्यालयसँग तीन हजार दुई सय डोज मौज्दात रहेको र त्यो पनि लगाउने कार्य जारी रहेको छ । उहाँले जिल्लाको कुल ५१ हजार ५४३ जनसङ्ख्यामा मा १८ वर्षमाथि उमेर समूहका खोप लगाउनुपर्ने नागरिक ३४ हजार रहेको अनुमान कार्यालयले गरेको बताउनुभयो । अब बाँकी खोपका लागि पनि माग भइसकेको बताउँदै उहाँले खोप आउने बित्तिक्कै सबैतिर स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?