logo
२०८१ बैशाख १३ बिहीवार



‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’

मुख्य समाचार |


‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’


चाँदनी हमाल

काठमाडौँ, मङ्सिर ५ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूको समान धारणा आवश्यक हुने बताउनुभएको छ । विश्व शक्ति राष्ट्रबीच शक्ति सन्तुलनको होडबाजीले विश्व राजनीतिमा ल्याएको तरङ्ग सामना गर्नसमेत नेपालका सबै राजतीनिक दलको ऐक्यबद्धतासहितको साझा दृष्टिकोण आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयस्थित सेन्टर फर नेपाल एन्ड एसियन स्टडिजद्वारा प्रकाशित रणनीतिक अध्ययन शृङ्खलाको ११औँ अङ्क सार्वजनिक कार्यक्रममा शनिबार उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलका उच्च नेतृत्वसँग छलफल अघि बढाएकोसमेत उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “ठूला शक्ति राष्ट्रको राजनीतिक नेतृत्वमा परिवर्तन आएसँगै त्यसको तरङ्ग नेपाल आउन थालिसकेको छ, झन् दक्षिण एसियामा कडा रूपले आइरहेको छ, यस्तोमा हाम्रो स्वतन्त्र योजना कसरी बनाउने भन्ने चुनौती छ ।” युरोपपछि अमेरिका हुँदै अहिले एसियातर्फ शक्ति राष्ट्र बन्ने होडको लहर सुरु भइसकेको उहाँले बताउनुभयो । भारत र चीन उदाउँदो शक्ति राष्ट्रका रूपमा रहेकाले तिनलाई सन्तुलनमा राख्न युरोप र अमेरिकासँगै छिमेकी मुलुकको ध्यान नेपालमा केन्द्रित हुनु स्वाभाविक रहेकोसमेत परराष्ट्रमन्त्री डा. खड्काले बताउनुभयो ।

“यस्तो भूराजनीतिक सिफ्टको अवस्थामा कुनै मुलुकलाई बढी स्थान दिने र कुनै मुलुकलाई कम स्थान दिने चलन अहिलेमात्र हैन, दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालमा पनि भएको थियो,” उहाँले भन्नुभयो, “त्यो बेलामा पनि नेपालले आफ्नो राष्ट्रिय एकता र सम्मानसाथ त्यसको सामना गर्दै सबै मुलुकसँग समान व्यवहार गरेको थियो ।”

शक्ति राष्ट्रबीचको होडबाजीले नेपालको घरेलु राजनीतिमा समेत प्रभाव पार्न सक्ने भएकाले त्यसलाई रोक्नकै लागि साझा अवधारणासाथ अघि बढ्न तयार रहनुपर्ने उहाँले प्रस्ट पार्नुभयो । राजतन्त्रकालमा राजा स्वयंले अन्तर्राष्ट्रिय सम्बन्ध निकै सुझबुझसाथ हेर्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यहाँसम्म कि अन्तर्राष्ट्रिय सम्मेलन र विषयमा बोल्ने सम्बोधनलाई धेरै बुद्धिजीवीले हेरेपछि पनि जाँचबुझ समितिले अन्तिम परीक्षण गथ्र्यो । देशको हितमा छैन भने त्यो भाषण वा लिखत फेरि तयार गरेर लगिन्थ्यो ।”

चीनलाई ध्यान दिनुपर्छ : ज्ञवाली

पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई सय वर्ष युरोप र त्यसपछि अमेरिकाकेन्द्रित आर्थिक विकास एसियातिर सर्दै आएकाले चीन र भारतसँगको सन्त्ुलित सम्बन्धलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हिमालपारि के भइरहेको छ भन्ने ध्यान दिइएन तर अब चीनको सम्भावनालाई नेपालले उपयोग गर्न सक्नुपर्छ ।”

कसैले स्वीकार गरे पनि नगरे पनि चीन भोलिको शक्तिराष्ट्र भएकाले उसको गतिशीलतालाई जोड्दै विगतमा भएका र गरेका निर्णयलाई सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । गरिबीको रेखामुनिबाट ८० करोड जनतालाई बाहिर ल्याउन सफल बनेको चीनको योगदान दिगो विकासका लागि समेत उच्च रहेको विषयलाई नकार्न नसकिने उहाँले बताउनुभयो । चीनसँगको सीमा विवाद कसरी र किन उब्जिएको हो भन्ने प्रश्नसमेत गर्दै उहाँले भन्नुभयो, “अघिल्लो सरकारले नेपालको चीनसँग कुनै सीमा विवाद नरहेको प्रस्ट पारिसक्दा अहिले फेरि सीमा विवादको विषय कसरी उब्जियो ?” यदि चीनसँग सीमा समस्या छ भने अध्ययन प्रतिवेदन सार्वजनिक गरेर सुल्झाउन पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

आफ्नै रणनीति हुनुपर्छ : कार्की
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री राम कार्कीले विश्वका पुँजीपतिको आर्थिक विकासलाई तल पार्दै भारत र चीन आर्थिक वृद्धिमा अघि बढेको बताउनुभयो । कस्तो रणनीति बनाएर अगाडि बढ्ने भन्ने विषयमा नेपालले सोच्ने बेला आइसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कुनै पनि राजनीतिक दलको विकास रणनीति छैन, यस्तोमा हाम्रो राष्ट्रिय हित के हो भनेर कसरी बुझ्ने ।”

शक्ति राष्ट्र र छिमेकी मुलुकबाट के लिने र नलिने भन्ने सवालमा नेपाल आफैँले निर्णय गर्न सक्ने बलियो अवस्था बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्कीले भन्नुभयो, “एमसीसी र बीआरआईजस्ता परियोजनाका सवालमा पनि यस्तो रणनीति सरकारले पहिल्यै तयार गरेको भए अहिले विवादमा अल्झिनुपर्ने अवस्था आउने थिएन ।” यस्तै, त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले सिनासलगायतका अनुसन्धानकेन्द्रित नेपालका संस्थालाई राज्यले पहिलोजस्तो प्राथमिकता दिन नसकेको बताउनुभयो ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले सरकारको आडभरोसा पाए सिनासले देशहितका लागि धेरै योगदान गर्न सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?