logo
२०८० चैत्र १६ शुक्रवार



बत्ती बाल्दा सावधानी अपनाऔँ

मुख्य समाचार |


बत्ती बाल्दा सावधानी अपनाऔँ


यलुु जोशी

काठमाडौंँ, कात्तिक १७ गते । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भन्नुभयो, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”

काठमाडौंँलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उहाँले दिनुभयो । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो सम्झन्छौँ श्रेष्ठले भन्नुभयो, “यस प्रकारका सामानको प्रयोग गर्दा सावधानी अपनाउन सकेनौँ भने आगलागीको समस्या आउन सक्छ । आगलागीको अर्को कारण भनेको यस विषयमा मानिसमा चेतनाको कमी समेत हो ।”

तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घरमा दियो तथा झिलिमिली बत्ती बाल्ने चलन छ तर चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ । तिहारमा सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ ।यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् सर्ट हुने सम्भावना हुन्छ । तिहारमा आउन सक्ने सबै जोखिमबारे पूर्ण तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिँदै उहाँले जुद्ध वारुणयन्त्र पनि तयारीमा रहेको जानकारी दिनुभयो । तिहारको समयमा बढी यस्ता आगलागीको अप्रिय घटना हुने भएकाले सुरक्षा दिन आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।
सावधानीका उपाय
कहिलेकाहीँ सडक जामका कारण दमकल आउन ढिला हुनसक्छ त्यस्तो अवस्थामा आफूूले केही सावधानीको उपाय अपनाउन सकिने श्रेष्ठको भनाइ छ । बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ, उहाँले भन्नुभयो, “यसका लागि हामीले बालुवा वा माटोको सहायताबाट आगो निभाउन सक्छौँ ।

यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन । सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग नगर्न सुझाव दिनुभयो । तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ ।

कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ । तेल पोखिएर वा उछिटिएर शरीरमा आगो लागेमा डराएर दौड्नु हुँदैन । दौड्दा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।
जुद्ध वारुणयन्त्रको तथ्याङ्कअनुसार महानगरपालिकाभित्र मात्रै २०७५ मा आठवटा आगलागी भएका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?