logo
२०८१ बैशाख ८ शनिवार

   मोबाइल इन्टरनेट   



फोरजीमा थपिए, थ्रीजीमा घटे

मुख्य समाचार |
बिज्ञान |


फोरजीमा थपिए, थ्रीजीमा घटे


विश्वास रेग्मी

काठमाडौँ, कात्तिक १५ गते । चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो ।

फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले नेपाल टेलिकम सबैभन्दा अगाडि छ । तथ्याङ्कअनुसार टेलिकमका ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता छन् । टेलिकम एक महिनाकै अन्तरमा करिब १० लाख फोरजी प्रयोगकर्ता थप्न सफल भएको छ ।
चाडबाड तथा कोभिड सङ्क्रमण न्यून भएपछि बढेको आवतजावतले ग्रामीण क्षेत्रसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या बढ्दा कुल प्रयोगकर्ता एकै पटक बढेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । टेलिकमले २० अर्ब रुपियाँभन्दा बढी लगानीमा देशैभर फोरजी विस्तार गर्ने परियोजना कार्यान्वयन गरेको थियो ।

दोस्रो स्थानमा एनसेल रहेको छ । जसका ५७ लाख २५ हजार फोरजी प्रयोगकर्ता छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्याको हिसाबले एनसेल लामो समयसम्म अग्रस्थानमा थियो । भदौमा एकै पटक करिब १० लाख प्रयोगकर्ता थपिएपछि टेलिकम पहिलो पटक धेरै फोरजी प्रयोगकर्ता हुनेको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । सीमित क्षेत्रमा मात्र सेवा उपलब्ध गराइरहेको स्मार्ट टेलिकमका सबैभन्दा कम फोरजी प्रयोगकर्ता छन् । प्राधिकरणको तथ्याङ्कअनुसार एक लाख ७६ हजारले स्मार्ट टेलिकमको फोरजी प्रयोग गर्छन् ।
फोरजी प्रयोगकर्ताको सङ्ख्यामा निरन्तर वृद्धि भइरहँदा तेस्रो पुस्ताको थ्रीजी प्रविधिका प्रयोगकर्ता भने घटेका छन् । फोरजीका तुलनामा निकै कम गतिको इन्टरनेट सुविधा उपलब्ध हुने थ्रीजी देशभर एक करोड २६ लाख ४८ हजार प्रयोग गर्छन् । जब कि साउनसम्म एक करोड २६ लाख ७२ हजारले थ्रीजी प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ । त्यसअघि असारसम्म करिब एक करोड २९ लाखले थ्रीजी प्रयोग गरेको देखिन्छ । असारयता थ्रीजी प्रयोगकर्ता घटिरहेको प्राधिकरणको तथ्याङ्कले पुष्टि गर्छ ।

थ्रीजी प्रयोगकर्तामा पनि टेलिकम निकै अगाडि देखिन्छ । टेलिकमका मात्रै एक करोड दुई लाखभन्दा बढी थ्रीजी प्रयोगकर्ता छन् । त्यसपछि एनसेलका २४ लाख ४३ हजार थ्रीजी प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाउँछ । स्मार्ट टेलिकमका भने थ्रीजी प्रयोगकर्ता छैनन् ।
इन्टरनेट पहुँचको हिसाबले कुल जनसङ्ख्यामध्ये ८२.५५ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिन्छ । त्यसपछि २७.४४ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने पाइएको छ ।
यस हिसाबले कुल जनसङ्ख्याभन्दा १० प्रतिशत अझ बढीले नेपालमा इन्टरनेट प्रयोग गर्ने देखिन्छ तर एकै व्यक्तिले एकभन्दा बढी सिमबाट इन्टरनेट प्रयोग गर्ने र मोबाइल इन्टरनेट प्रयोगकर्ता पनि फिक्स्ड इन्टरनेट प्रयोगकर्ता हुन सक्ने भएकाले तथ्याङ्क समायोजन गर्दा जनसङ्ख्याको अनुपातमा इन्टरनेटको पहुँच पछिल्लो तथ्याङ्कभन्दा कम हुने प्राधिकरणले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?