logo
२०८१ बैशाख ८ शनिवार



दुई पालिकामा कोरोना सङ्क्रमित शून्य

स्वास्थ्य |


दुई पालिकामा कोरोना सङ्क्रमित शून्य


दमौली, कात्तिक १३ गते । तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो ।

देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक सङ्क्रमितको मृत्यु भएको छ ।

हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिनुभयो । भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय सङ्क्रमित छन् । सबै सङ्क्रमित होम आइसोलेशनमा छन् ।

जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

एक लाख बढीले लगाए खोप

तनहुँमा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका एक लाख आठ हजार तीन सय एकले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार आठ सय ३८ छ ।

जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।

गण्डकीमा नौ लाखले लगाए खोप

गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७ छ ।

गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुई लाख ७८ हजार दुई सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्रा लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?