logo
२०८० चैत्र १६ शुक्रवार



३० मेगावाटको न्यादी आयोजनाले पुसबाट विद्युत उत्पादन थाल्ने

अर्थ |


३० मेगावाटको न्यादी आयोजनाले पुसबाट विद्युत उत्पादन थाल्ने


बेलिना थापा
लमजुङ, कात्तिक ११ गते । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माणधीन न्यादी जलविद्युत आयोजनाले आगामी पुस महिनाबाट विद्युत उत्पादन थाल्ने भएको छ ।
मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणधीन आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको र पुस महिनाबाट विद्युत उत्पादन गर्ने तयारी भएको जनाएको छ ।
आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका आयोजनाको एक प्रतिशत काम मात्र बाँकी रहेको छ । कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यवसायीक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय आगामी जनवरीबाट उत्पादन थालिने तालिका छ । पछिल्लो समय नोभेम्बरबाट उत्पादन थालिने तालिका रहेपनि प्रशारण लाइनको काम नसकिएकाले डिसेम्बरको अन्तिम वा जनवरीको पहिलो साताबाट उत्पादन सुरु गर्ने तालिका रहेको प्रशासकीय अधिकृत गड्तौलाले बताउनुभयो ।
आयोजनाको पावरहाउस, ड्यामसाइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको छ । यसको परीक्षण सफल भएको प्रमाणित गर्नका लागि विज्ञ आउनुपर्ने हुन्छ । उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएको विज्ञले परीक्षण सफल भएको प्रमाणित गरेपछि मात्र परीक्षण प्रसारण सुरु गरिने छ । आन्तरिक परीक्षणको काम अन्तिम चरणमा पुगेकाले परीक्षण प्रशारणका लागि विज्ञ टिमलाई बोलाउने तयारी भइरहेको र उहाँहरु आएपछि तुरुन्त परीक्षण हुने गड्तौलाले बताउनुभयो । आयोजनाले १० किलोमिटरको १३२ केभी विद्युत प्रसारण लाइनको काम पनि गरिरहेको छ । करिव ६५ प्रतिशत काम सकिएको जनाएको छ । पावरहाउस रहेको ठुलीबेंसीबाट मस्र्याङदी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिनेछ । हालसम्म १६ वटा टावरमा तार तान्ने काम सकिएको छ । ९ वटा टावर निर्माण भएपनि तार तान्ने काम बाँकी छ ।
एक÷डेढ महिनामा प्रशारण लाइनको काम सकिने र आन्तरिक परीक्षण पनि करिव दुई महिनामा सकिएपछि परीक्षण उत्पादन परीक्षण हुने छ । सुरुवातमा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहेपनि त्यसपछि तीन महिना सरेको थियो । त्यसपछि नोभेम्बरसम्म भनिएको थियो । विभिन्न कारण केही ढिला भएको हो । आयोजनाको मिति सर्दै जाँदा केही प्रतिशत लागत बढ्ने देखिएको छ । प्रशारण लाइनको केही खर्च बढी लाग्ने भएकाले आयोजनाको लागत बढ्ने सम्भावना रहेको गड्तौलाले बताउनुभयो ।
आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । उनीहरुकै अगुवाई र सुपरभिजनमा नेपाली कामदारले काम गरिरहेको छ । वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करीब चार अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भएपनि आयोजना निर्माण सक्दासम्म लागत बढ्ने देखिएको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । २०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलिबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तिरमा बनाइएको विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ । आयोजनामा दुईवटा पेलटन टर्बाइन रहने छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा चार रुपियाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपियाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?