logo
२०८० चैत्र १६ शुक्रवार



खोप नलागाएकामा दोहो-याएर संक्रमण हुने जोखिम बढी : बिज्ञ

स्वास्थ्य |
राष्ट्रिय |


खोप नलागाएकामा दोहो-याएर संक्रमण हुने जोखिम बढी : बिज्ञ


काठमाडौं, कात्तिक ९ गते । खोप लगाएको तुलनामा खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने स्वास्थ्य विज्ञले बताउनुभएको छ । कोरोना भाइरविरुद्धको खोप लगाएकाको तुलनामा खोप नलगाएकामा हुने संक्रमण गम्भीर प्रकृतिको पनि हुने उहाँहरुको भनाइ छ ।
टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना विरुद्धको खोप लगाउनेको तुलनामा नलगाउनेमा दोहोर्याएर संक्रमण हुने खतरा रहेको बताउनुभयो । मृत्यु हुनेहरुमा पनि कोभिड विरुद्धको खोप नलगाएका बढी देखिएकाले उपलब्ध भएका खोपहरु लगाउन उहाँको आग्रह छ । खोप लगाउँदा हुने संक्रमण र नलगाउँदा हुने संक्रमणले शरीरमा पार्ने प्रभावमा पनि फरक पर्ने उहाँले बताउनुभयो ।
यस्तै जनस्वास्थ्यविद् डा.सुजनबाबु मरहठ्ठाले पनि खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने भएकाले खोप लगाउन व्यवास्ता गर्न नहुने बताउनुभयो । खोप लगाएकामा कोरोना संक्रमण भए छिटो निको हुने तर खोप नलगाएकाहरुमा संक्रमण हुँदा निको हुन समय लाग्ने र गम्भीर खालका लक्षणहरु पनि देखिन सक्ने उहाँको भनाइ छ ।
स्वास्थ्यविद् डा.प्रभात अधिकारीले पनि खोप नलगाएकामा भाइरसको संक्रमण दोहोरिदा झन घातक हुने बताउनुभएको छ । खोप नलगाएका व्यक्तिमा भाइरस प्रवेश गर्दा प्रतिरोध क्षमता कमजोर हुने भएका कारण पनि जोखिम धेरै हुने गरेको उहाँ बताउनुहुन्छ । तर, खोप लगाएकाहरुमा नयाँ भेरियन्ट प्रवेश गरेमा खोपले भाईसविरुद्ध पूर्ण रुपमा काम गर्न नसक्ने उहाँको दावी छ । यसकारण, खोप लगाए भन्दैमा स्वास्थ्य मापदण्डको पालनामा हेलचक्राँई गर्न नहुनेमा जोड छ । खोप लगाएको छ महिनापछि एन्टिबडी विस्तारै खस्कदै गएको देखिएकाले खोप लगाएकाहरु पनि सचेत रहनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?