logo
२०८० चैत्र १६ शुक्रवार



नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

अन्तर्राष्ट्रिय |


नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा


वासिङ्टन, कात्तिक ४ गते । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उहाँका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उहाँले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले उहाँको एकाउन्ट हटाइदिएका हुन । विषेशगरेर ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उहाँलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए ।

उनीहरुले हटाएपछि पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाईन सञ्चालन गर्नु भएको थियो । तर त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहनु भएका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लाग्नु भएको जनाइएको छ ।

उहाँले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम “ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको उहाँले सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहनु भएको छ । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधि सम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने बताउनु भएको छ । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरुले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।

ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?