logo
२०८१ बैशाख १२ बुधवार



ताप्लेजुङ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिँदै

स्वास्थ्य |
प्रदेश |


ताप्लेजुङ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिँदै


चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १ गते । ताप्लेजुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरिने भएको छ । जिल्ला अस्पताललाई १५ शैयाको क्षमताबाट ५० शैयामा स्तरोन्नति गर्न लागिएको हो ।

पञ्चायती शासनकालमा स्थापना भएको जिल्ला अस्पताललाई करिब ४० वर्षपछि स्तरोन्नति गर्न लागिएको अस्पताल व्यवस्थापनले बताएको छ । हाल कायम रहेको शैया क्षमतालाई बढाएर ५० शैया क्षमतामा स्तरोन्नति गर्नेगरी प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले सोमबार शुभारम्भ गर्नुभयो ।

लामो समयपछि जिल्ला अस्पतालको स्तरोन्नति हुने भएपछि जिल्लाबासीलाई राहत पुग्नेभएको छ । पर्याप्त शैया सङ्ख्या नहुँदा भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्थाको अब अन्त्य हुने जिल्लावासीले अपेक्षा राखेका छन् । शुभारम्भ कार्यक्रममा सामाजिक विकासमन्त्री साम्सोहाङले शैया वृद्धिसहित अस्पतालको स्तरोन्नतिले उपचार सेवा लिन आउने बिरामीलाई राहत पुग्ने बताउनुभयो ।

जिल्ला अस्पतालको स्तरोन्नतिसँगै सोहीअनुसार सेवा सुविधा उपलब्ध हुनेहुँदा जिल्लाबासी तथा उपचार सेवा लिन आउने सेवाग्राहीलाई राहत पुग्ने साम्सोहाङले विश्वास व्यक्त गर्नुभयो । अस्पताल स्तरोन्नतिको शुभारम्भसँगै पूर्वाधारको आवश्यक व्यवस्था, उपकरण र जनशक्ति व्यवस्थाका लागि प्रदेश सरकारले थप योजना बनाइरहेको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले बनाएको योजनालाई क्रमशः कार्यान्वयन गर्दैजाने उहाँले बताउनुभयो ।

एक महिना अघिमात्र जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिता वाइबाका अनुसार प्लान्ट (प्रविधि) जडान गरिएपछि हाल नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको स्तरोन्नति हुने भएपछि पूर्वाधार, आवश्यक प्रविधि र जनशक्ति व्यवस्थापन हुनेमा डाक्टर वाइबाले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पूर्वाधार र आवश्यक जनशक्तिको भने अभाव रहेको सुनाउनुभयो । दक्ष जनशक्ति नहुँदा अस्पतालमा भेन्टिलेर प्रविधि उपलब्ध रहे पनि प्रयोगविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । शवगृह साँघुरो (सानो) भएकाले एकैपटक एकभन्दा बढी शव राख्नुपर्ने र पोष्टमार्टम गर्नुपर्ने अवस्था आएमा समस्या हुनेगरेको डा. वाइबाले बताउनुभयो ।

जिल्ला अस्पतालमा नवौं तह र आठौं तहका एक–एक गरी दुईजना मेडिकल अधिकृतको स्वीकृत दरबन्दी रहे पनि आठौं तहका एकजनाको मात्र पदपूर्ति छ । अन्य करार दरबन्दीमा चारजना डाक्टर कार्यरत रहनुभएको अस्पतालका सूचना अधिकारी विजया राईले जानकारी दिनुभयो । राईका अनुसार डाक्टरबाहेक अन्य दरबन्दी पनि रिक्त छन् । जिल्ला समन्य समिति प्रमुखसमेत रहनुभएका जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले प्रदेश र सङ्घीय दुवै सरकारको सहयोगमा स्तरोन्नतिको कार्यलाई पूरा गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?