logo
२०८१ बैशाख १४ शुक्रवार



दमौलीमा नेपालकै पहिलो ‘‘नमुना पशुपंक्षी अस्पताल’’

स्वास्थ्य |


दमौलीमा नेपालकै पहिलो ‘‘नमुना पशुपंक्षी अस्पताल’’
 नमुना पशुपंक्षी अस्पतालको नमूना भवन


अमरराज नहर्की
तनहुँ, कार्तिक १ गते । तनहुँको सदरमुकाम दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने कार्य अघि बढेको छ ।
नेपालकै नमुना पशुपंक्षीको अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भएकाले अघि बढेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी वजेट विनियोजन गरेकोले काम अघि बढेकाे हाे ।

जिल्लाका कृषकको माग अनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको स्विकृत भई बजेट निकासी भएकोले कार्यालय परिशरमा अस्पताल निर्माण गर्ने कार्य अघि बढाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र भएकोले नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेकाले अस्पतालको प्रस्ताव गरिएको थियो ।

पशुपंक्षीको जटिल खालको रोगको उपचार, रोगहरुको बारेमा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न मेडेलको रुपमा अस्पताल बनाउने कार्य अघि बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको १० करोड रुपियाँको आर्थिक सहयोगमा ७७ जिल्लामै पहिलो पटक दमौलीमा निर्माण गर्न लागिएको केन्द्र प्रमुख डा. श्रेष्ठ बताउनुहुन्छ । १८ महिनामा नै पूरा गर्ने गरी चितवनस्थित इको बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता समेत भइसकेको डा. श्रेष्ठले बताउनुभयो ।

अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिने केन्द्रले जनाएको छ । ‘‘प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नाम जस्तै काम गर्न कठिन भएको बेला नमुना अस्पतालले नाम जस्तै काम गर्न सहयोग पुग्नेछ’’ केन्द्र प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।

नमुना अस्पताल सञ्चालनमा ल्याएसँगै पशुबाट मानवमा सर्ने विभिन्न रोगहरु न्यूनीकरण गर्न, महामारी रोगहरु फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्धत पुग्ने तथा तालिम केन्द्रको रुपमा विकास गर्न समेत टेवा पुग्ने डा. श्रेष्ठले बताउनुभयो ।

केन्द्रले नै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारी प्रस्ताब पेश गरेकोमा प्रदेश सरकारले स्वीकृत गरेको डा.श्रेष्ठले बताउनुभयो । महामारी रोग द्रुत नियन्त्रणको लागि पशुपंक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको जिल्लाको अतिरिक्त गोरखा र लमजुङका पशुपंक्षीको लागि समेत उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?