logo
२०८० चैत्र १६ शुक्रवार



विमानस्थलमा यात्रुले छाडेका सामान थुप्रदै, व्यबस्थापन चुनाैतीपूर्ण

राष्ट्रिय |


विमानस्थलमा यात्रुले छाडेका सामान थुप्रदै, व्यबस्थापन चुनाैतीपूर्ण


काठमाडौं, असोज ३१ गते । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंले यात्रुहरुले भुलवश छाडेका सामग्री (व्यागेज) हरुको व्यवस्थापन हुन नसकेको पाइएको छ । विमानस्थलले यात्रुहरुले छाडेका सस्ता तथा महँगा सामग्रीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कार्यविधि आजसम्म नबनाइ कर्मचारीकै भरमा सामाग्री जिम्मा दिने गरेकाले प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ ।

विमानस्थल व्यवस्थापनले भेटिएका सामग्रीलाई आफ्नै कर्मचारीको जिम्मामा छाड्ने गर्दै आएको जनाएको छ, तर सम्वन्धित पक्षमा पुग्यो या पुगेन र कसरी व्यवस्थापन हुने गरेको छ भन्नेमा कुनै पनि अनुगमन पक्ष कम्जोर हुने गरेको छ । विमानस्थलले आफ्नो वेवसाइटमा मेत केही सामग्रीहरु सार्वजनिक गर्ने गरेको पाइएको छ । छाडिएका सामाग्री जिम्मा लिएका विमानस्थलका कर्मचारी सन्तोसकुमार पोखरेलले भने आफूहरुले सकेसम्म सम्वन्धित पक्षलाई जिम्मा लगाउन कोसिस गर्ने तर सम्भावना नभए विमानस्थलमै स्टोर राख्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानस्थलले छाडिएका यात्रुका सामाग्री सम्वन्धित व्यक्ति सम्पर्कमा नआए कति वर्षसम्म राख्ने र त्यसको व्यवस्थापन गर्ने भन्ने कुनै पनि कानुनी व्यवस्था नभएकाले समस्या हुने गरेको बताउनुभयो । विमानस्थलमा हाल १२ वर्ष भन्दा पुराना सामाग्रीहरु समेत रहेको उहाँले जानकारी दिनुभयो । छाडिएका सामग्रीमा यात्रुको नाम र ट्याग मात्र हुने र सम्पर्क नम्बर नहुने भएकाले बुझाउन समस्या हुने गरेको पोखरेलले बताउनुभयो ।

विमानस्थलले सामग्रीको जिम्मा दिएका कर्मचारी सरुवा हुने भएकाले सामाग्री कस्ले कसरी व्यवस्थापन गरेको छ या व्यक्तिले त्यो सामाग्री उपभोग गरेको छ छैन भन्ने अनुगमन समेत नहुने गरेको पाइएको छ । यसरी लामो समयसम्म छाडिएका सामाग्री व्यवस्थापनका लागि कार्यविधि बनाएर लिलामविक्री गरी राजश्व संकलन गर्न सकिने हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले सुझाव दिनुभयो । विमानस्थलमा धेरै व्यागेज छाडिने र हराउने गरेको छ तर यसमा सम्वन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नु जरुरी भएको उहाँ बताउनुहुन्छ ।

विमानस्थलमा सड्ने, गल्ने र चाँडै खराब हुने सामाग्री र महँगा तथा विद्युतीय सामग्रीहरु व्यागेजसँगै छाडिने गरेको पाइएको छ । यि सामाग्रीहरु कर्मचारी जिम्मा लिने गरेको पाइन्छ तर सम्वन्धित व्यक्तिसम्म जिम्मा लाग्यो लागेन भन्ने अनुगमन नहुदाँ यात्रुहरुले यसको व्यवस्थापनमा चासो देखाउन सुझाव दिएका छन् । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक करिव ६० वटा अन्तराष्ट्रिय उडान र २५० वटा आन्तरिक उडान हुँदै आएको छ । यी उडानबाट दैनिक जसो सामग्री छाडिने गरेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?