logo
२०८१ बैशाख ७ शुक्रवार



पेट सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य

पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर पहिचान गर्न सकिन्छ

स्वास्थ्य |
मुख्य समाचार |


पेट सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १७ गते । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।
न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् । चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो । भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराउनुभएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो । लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गर्नुभयो ।
यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उहाँको भनाइ छ । उहाँले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताउनुभयो ।
ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उहाँको भनाइ छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा केही समयका लागि पेट स्क्यान सेवा भएपछि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले पहिले जेड एयरवेजबाट पेट सिटिस्क्यानका लागि आवश्यक औषधि ल्याइने गरेकोमा उक्त एयरवेज बन्द भएपछि नेपालमा पेट स्क्यान हुन नसकेको बताउनुभयो । पछि कोरोना भाइरसका कारण सम्र्पूण एयरलाइन्स बन्द हुँदा नेपालमा पेट सिटिस्क्यान हुन
सकेको छैन ।
सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याए पनि हालसम्म खरिद गर्न सकेको छैन । २०७० असारमा पेटमा कालो दाग देखिएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको शङ्कामा थप उपचारका लागि जापान लगिएको थियो । उहाँको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेट स्क्यान गरेपछि क्यान्सर नभएको पुष्टि भएको थियो ।
डा. यादव जापानबाट फर्केलगत्तै उहाँको पहलमा पेट स्क्यान खरिद गर्न सरकारले पटक–पटक बजेट छुट्याएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याएको भए पनि हालसम्म सरकारी स्तरबाट पेट स्क्यान मेसिन खरिद हुन नसकेको बताउनुभयो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवका अनुसार पेट सिटीले क्यान्सर कहाँँसम्म फैलिएको हो भन्नेबारे जानकारी दिने हुँदा उपचार गर्न सहज हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?