logo
२०८० चैत्र १५ बिहीवार



भासिनको निधनले नेपाल र दक्षिण एसियाकै महिला आन्दोलनमा धक्का

समाज |


भासिनको निधनले नेपाल र दक्षिण एसियाकै महिला आन्दोलनमा धक्का


काठमाडौं, असोज ९ गते । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको मृत्युले नेपाललाई ठूलो क्षति भएको महिला अधिकारकर्मीहरु बताउँछन् । दक्षिण एशिया लगायत अन्य देशमा चर्चित महिला कर्मीका रुपमा केही महिना अघि क्यान्सर रोग देखिएको थियो । सोही रोगका कारण भासिनको शनिबार बिहान ३ बजे ७५ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष एवं महिला अधिकारकर्मी कमला पराजुलीले भारतीय अधिकारकर्मी भासिनको मृत्युले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको बताउनुहुन्छ ।

करिब २५ वर्ष अगाडि भासिनसँग सम्पर्क भएको सम्झिर्दै अधिकारकर्मी पराजुलीले उहाँ एकदम राम्रो वैचारिक स्पष्टता भएको व्यक्ति भएको बताउनुभयो । ‘उहाँको निधनले दक्षिणको महिला अधिकारकर्मीका लागि ठूलो क्षति हो,’ पराजुली भन्नुहुन्छ, ‘उहाँ वर्षमा एक–दुई पटक नेपाल आउनुहुन्थ्यो । सम्माननीय राष्ट्रपति ज्यूदेखि राजनीति पार्टीका शीर्ष महिला नेताहरुसँग उहाँको राम्रो सम्बन्ध थियो ।’  पराजुलीले दोस्रो पुस्ता र तेस्रो पुस्ताका लागि भासिनले धेरै अभिमुखीकरण, तालिम र वैचारिक स्पष्टताका कुराहरु गर्नुभएको थियो भने उहाँ प्रेरणादायी व्यक्तित्व पनि हुनुहुन्थ्यो ।

‘उहाँको निधनले एक प्रकारको अभाव खड्किएको छ । महिला आन्दोलनमा लागेकाको लागि उहाँ एउटा प्रेरणा हुनुहुन्थ्यो,’ पराजुलीले भन्नुभयो, ‘तर, एकाएक यस्तो घटना भएको कुरा सुन्दा आश्चय चकित भयौं ।’ भासिनले नेपालको सदस्यको रुपमा समग्र महिलाको हक, हित र अधिकारलाई संरक्षण र संवर्द्धन गर्दै महिला सशक्तीकरण गर्न तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभावलाई निर्मूल गरी लैंगिक न्याय सुनिश्चित गर्न महिला आन्दोलनमा धेरै सहयोग गर्नुभएको उहाँ बताउनुहुन्छ ।

अर्की अधिकारीकर्मी अमृता लम्सालले भासिन नेपालको परिपेक्षमा धेरै प्रख्यात व्यक्तित्व रहेको बताउनुभयो । ‘सोसल मिडियाको साइट हेर्नुभयो भने थाहाँ हुन्छ । कोही नेपालको महिला आन्दोलनको नेतृको निधन भयो भने त्यति हुन्छ कि हुन्न ?,’ लम्सालले भन्नुभयो,‘ भासिन नेपालको परिपेक्षमा पनि त्यति चर्चित हुनुहुँदो रैछ भन्ने कुरा उहाँको फेसबुक पेजमा लेखिएको शब्दले देखाएको छ ।’

उहाँ थप्दै भन्नुहुन्छ, ‘भासिन दक्षिण एसियाकै लागि एउटा प्रेरणा हुनुहुन्थ्यो । जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई कुनै एनजीओ वा कुनै संस्था चाहिएन सम्झनलाई । एउटा व्यक्तिको रुपमै प्रेरणादायि व्यक्तित्व हुनुहुन्थ्यो ।’ उहाँको निधनले नेपाललाई पनि ठूलो क्षति भएको बताउनुहुन्छ । ‘नेपालमा एक संस्थामा चार–पाँच वर्षदेखि आवद्ध हुनुहुन्थ्यो । प्रत्येक वर्ष नेपाल आएर उहाँले तालिम दिइराख्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘संस्थाबाट सिकाउने मान्छेहरु, संस्थाबाट प्रशिक्षण दिनेकुराहरु धेरै हुन्छ । तर, उहाँ आफैं व्यक्ति भएर हरेक कोणबाट प्रेरित गर्नुहुन्छ । उहाँ जस्तो महिला कमै हुनुहुन्छ ।’ लम्सालले भासिन एउटा विचार हुनुहुन्थ्यो । नेपाल, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशहरुको लागि एउटा प्रेरणा हुनेगरेको बताउनुभयो ।

को हुन कमला भासिन
कमला भासिनको जन्म सन् १९४६, अप्रिल २४ मा राजस्थानमा भएको थियो । भासिनका पिता चिकित्सक हुनुहुन्थ्यो । ६ सन्तानमध्ये उहाँ चौथो हुनुहुनथ्यो । उहाँले संगत नामक महिलाहरुको सञ्जालमा गरेको कामका लागि चिनिनुहुन्थ्यो । महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उहाँले अभियान चलाउनुभएको थियो । उहाँको कविता ‘क्यूँ कि मे लड्की हुँ, मुझे पढ्ना हे’ निकै चर्चित रहेको छ । भासिनले समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउनुहुन्थ्यो ।

३५ वर्षभन्दा बढी उहाँले विकास, शिक्षा, लैङ्गिक, मिडिया र अन्य क्षेत्रका मुद्दाहरूको बारेमा काम गर्नुभएको थियो । उहाँले महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको बताउनुहुन्थ्यो । उहाँ बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘मध्यमवर्गीय महिलाहरूलाई श्रीमान् या घर परिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमानबाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन् । उनीहरूलाई लाग्छ कि खान लाउन र यत्रो गरगहना पु¥याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुर–बाजुर र कचहरी गर्नु ।’

सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उहाँले आफ्नो अभियान चलाउनुभएको थियो । सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन(एफएओ) मा उहाँले काम गर्नुभएको थियो । सन् २००२ मा उनले राष्ट्रसंघबाट राजीनामा दिएर उहाँले ‘संगत’ मार्फत विभिन्न अभियान चलाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?