logo
२०७८ कार्तिक १० बुधवार



साहित्यकारकी श्रीमती

शनिवार |


साहित्यकारकी श्रीमती


प्रकाश तिवारी

दीपक हर समय पढिरहेको देखिन्छ । लेखिरहेको भेटिन्छ । । ऊ हरदम शब्दहरूको बगैँचामा टहलिन्छ । सिर्जनाका बीजहरू उमार्छ । गोडमेल गर्दै हुर्काउँछ । फूलहरू फुलाउँछ । अथवा यसो भनौँ ऊ प्रत्येक क्षण साहित्य साधनामा निमग्न रहन्छ । साहित्य साधनामा लागेपछि भोक–निद्रा पनि बिर्सन्छ दीपक ! श्रीमती आशा दीपकलाई एकोहोरो मान्छे भन्ने गर्छे ।
सरकारी सेवामा छँदा सेवाग्राहीको काममा बढी नै व्यस्त रह्यो दीपक । तथापि त्यही समयमा उसले पाँचवटा उपन्यास लेख्यो । दीपकलाई आम पाठकमाझ परिचित गराउनमा ती उपन्यासहरूको ठूलो भूमिका छ । दीपकको पाँचौँ कृति त साहित्य बजारको हटकेक नै बनेको थियो ।

दीपकलाई राम्रो लगाउन र हाँसो, ठट्टा गर्नमा खासै सोख देखिँदैन । ऊ अधिकांश समय शब्दसँग खेल्छ, बरालिन्छ । दीपकको कोठाको ¥याक साहित्य, इतिहास, दर्शन, धर्मशास्त्र, समाजशास्त्रलगायतका पुस्तकले भरिभराउ छन् । राम्रा पुस्तक देख्यो कि किनेर ल्याउने गर्छ ऊ ।
एउटा अप्रिय बानी पनि छ दीपकको । त्यो हो पिउने बानी ! साथीभाइसँग जमघट हुँदा अलि धेरै नै पिउँछ ऊ । दीपकको यो बानी आशालाई पटक्कै मन परेको छैन । आशा श्रीमान्–श्रीमतीबीच गफ, ठट्टा होस्, लोग्नेले परिवारको खुसीका लागि पनि सोचोस् भन्ने चाहन्छे । आशालाई हप्तामा एक दुई पटक श्रीमान्को साथमा घुम्न, किनमेल गर्न वा होटल–रेस्टुरेन्टमा खान जाने रहर छ । तर अपवादबाहेक आशाको चाहना पूरा भएको छैन ।

एक दिन करकापमा आशालाई लिएर घुम्न निस्किेको थियो दीपक । केही सय मिटर पर पुगेको मात्र थियो, दीपकको मनमा पूरा गर्न बाँकी कथाको उपसंहार फुर्न थाल्यो । उसकै भनाइमा त्यसले कथानकलाई चामत्कारिक निचोडमा पु¥याउन सक्दथ्यो । पछि लेखौँला भनी बाटो तताउँदा बिर्सने सम्भावना पनि त्यति नै थियो । ऊ
‘एकैछिनमा आइहाल्छु’ भन्दै पुनः घर फर्कियो । अनि कथाको अन्तिम अनुच्छेद लिपिबद्ध गर्न लाग्यो । यसबीचमा झण्डै आधा घण्टाभन्दा बढी हरायो दीपक । आशा बाटो किनारमा कुरेको कुर्यै भई ।

दीपक र आशाबीचका यस्ता घटना अनगिन्ती छन् ।
दीपक एक रात ओछ्यानबाट जुरुक्क उठ्यो । अनि सरासर माथिल्लो तलामा उक्लियो । लामो समयसम्म नफर्केपछि आशाको मनमा शङ्का–उपशङ्का खेल्न थाले । ऊ दीपकको खोजी गर्दै माथिल्लो तलामा पुगी । उसले देख्दा दीपक कम्युटर स्क्रिनमा सिर्जनाको बीज रोपिरहेको थियो । कहानीका अवाञ्छित हाँगाबिँगा काँटछाँट गरिरहेको थियो । लोग्नेको अवस्था देखेर हाँसो पनि उठ्यो आशालाई । तर ऊ मुसुमुसु हाँसी मात्र । आशा आएको चाल पाएर दीपक स्वयं बोल्न लाग्यो –
“आज मैले गजबको सपना देखेँ ! सपनामा मभित्र सिर्जनाका मीठा तरङ्गहरू सल्बलाइरहेका थिए । जब ब्युँझेँ, तिनलाई कथाको आयामभित्र छिराउने सोच तीव्रतर हुँदै गयो । ममा भोलि पर्खिने धैर्यता रहेन । भोलि लेखौँला भनी छोडेको भए फूलको सुगन्धबाट बिमुख मालीझैँ हुने थिएँ ।” उसले भन्यो ।
आशाले तर्कनै तर्कनामा रात बिताई ।

अर्को दिन थप नयाँ परिवेश लिएर उदायो । दीपक र आशालाई विवाह पार्टीमा बानेश्वर जानुपर्ने थियो । आशा ‘यस्ता लहडीसँग हिँड्दिन’ भन्दै एक्लै ट्याक्सीमा हुइँकिई । दीपक कलङ्कीबाट भक्तपुर जाने बस चढ्यो ।
बस गुड्दै गर्दा दीपकभित्र फेरि सिर्जनाको मुना पलाउन थाल्यो । शब्दहरू साउने भेलझैँ गड्गडाउन लागे । दीपक सिर्जनाको पालुवासँग सहयात्रा गर्दै अगाडि बढ्यो । ऊसँग लेख्नका लागि कम्प्युटर वा कागज कलम थिएन । तब उसले सिर्जनाको भेललाई स्मृतिको क्यानभासमा बन्द गर्ने विकल्प रोझ्यो । ऊ कहानीलाई निरन्तर रट्दै गयो ।

दीपक पूर्णतया आन्तरिक संसारमा हरायो, हराइरह्यो । ऊ बाहिरी दुनियाँबाट बेखबर हुनथाल्यो । बस एकपछि अर्को स्टेसन गर्दै अन्तिम गन्तव्यतर्फ लम्किरहेको थियो । धेरैपछि निद्राबाट झल्याँस्स ब्युँझेँजस्तो भयो दीपक । तर त्यतिबेलासम्म ऊ चढेको बस सूर्यविनायक भक्तपुर पुगिसकेको थियो ।
आशाको मनमा गढेको अर्को घटना पनि त्यत्तिकै पेचिलो छ । त्यस दिन दीपकले प्रतिष्ठित पुरस्कार विजेता साहित्यकारलाई मेजमानीका लागि घर बोलाएको थियो । उसले स्वागतका लागि दुई बोतल रक्सीको जोहो गरिसकेको थियो । साहित्यकार आए । खानपिन सुरुभयो । साहित्यकार निकै पियक्कडमा गनिन्थे । राति अबेरसम्म खानपिन चल्यो । ठूला साहित्यकारले त्यस रात झण्डै डेढ बोतल रक्सी पिए । त्यो पनि पानी नहाली–निट !
साहित्यकार भोलिपल्ट ढिलो गरी उठे । उठ्नेबित्तिकै घरतर्फ लागे । आशा पाहुना सुतेको कोठा मिलाउन भित्र पसेकी मात्र थिई, वाक्क–वाक्क गर्दै बाहिर निस्किई ।

“जानुस् तपाईंको साथीले मुतेको तन्ना धुनुस् । डसना घाममा सुकाउनुस् । म त्यो कोठामा पस्न पनि सक्दिनँ । झण्डै वान्ता आयो । कम्ती घिचेको हो र ? तिमी साहित्यकारहरूको दिमागको सुई रक्सी बेगर घुम्दैन कि कसो ?” आशा बम्किई ।
केही हप्तापछिको कुरो हो, अन्तर्राष्ट्रिय साहित्यकारहरूसँग भेटघाट गर्नुछ भन्दै निस्किएको दीपक रक्सीले ढुनमुनिँदै आधा रातमा फर्कियो । अनि चुपचाप ओछ्यानमा पल्टियो । सुतेको केहीबेरमा मस्तसँग निदायो ।
दीपक निद्रामा थियो, उसको मोबाइलमा फोन आयो । आशाले फोन उठाई । फोनमा सुधा नाम गरेकी महिला बोल्दै थिई ।
“एक घण्टादेखि घरबाहिर छु । लोग्नेले मरिगए ढोका खोल्दैन । तिम्रोमा आउँकी भनेर फोन गरेकी !” ऊ रुँदै भनिरहेकी थिई । आशाले केही नबोली फोन काटिदिई ।
“सुधा भन्ने को हो ?” बिहान दीपक उठ्नेबित्तिकै आशाले सोधी ।

“उनी पनि साहित्यकार हुन् ।” जबाफ आयो ।
“तपाईं इन्तु न चिन्तु हुनुहुन्थ्यो । राति एक बजेतिर फोन गरेकी थिई । लोग्नेले मरिगए ढोका खोलेन, अलपत्र परेँ । त्यहाँ आउन खोजेकी भन्छे । जगल्टा लुछुँजस्तो भो मलाई त ।” आशाले सुनाई ।
“हामी हिजो ककटेल पार्टीमा थियौँ । अन्तर्राष्ट्रिय साहित्य मञ्चको सदस्यका नाताले सुधा पनि पार्टीमा सामेल थिइन् । खाँदाखाँदै एघार बज्यो । सुधालाई घरमा छोडेर यता आएँ ।” दीपकले सफाइ पेस ग¥यो ।
दिनहरू बित्दै गए ।

दीपकको शैलेन्द्र नाम गरेको कवि साथी थियो । उसले ‘ढुङ्गा सुसायो’ नामको खण्डकाव्य प्रकाशित गरिसकेको थियो । कागजको टुक्रा भेट्यो कि कविता लेख्ने, मानिस भेट्यो कि कविता सुनाउने उसका खास विशेषता थिए । समयमा काममा पुग्नुपर्नेहरू शैलेन्द्रलाई देख्ना साथ परपर भाग्थे । ऊ कविता सुनाउन थालेपछि पाँच–सात कविता त सुनाउँथ्यो–सुनाउँथ्यो ।
एक दिन दीपक बिना सूचना दिनभर घरबाट गायव भयो । आशाले पटक पटक फोन गरी तर सम्पर्क हुन सकेन ।

बेलुकीपख माइती जान निस्केकी थिई आशा । उसको कानमा कविता वाचन गरेको आवाज प¥यो । हिँड्दै जाँदा उसले देखी, चोकमा दश–बाह्र जना मानिस भेला भएका थिए । बजारको एउटा कुनामा ‘सडक कविता गोष्ठी’ लेखिएको ब्यानर टाँगिएको थियो । ब्यानर अगाडिको बेञ्च र कुर्सीमा पाँच जना वरिष्ठ साहित्य अनुरागी बिराजमान थिए । त्यसमध्येको एक जना दीपक थियो । दीपक कार्यक्रमको प्रमुख अतिथि थियो । शैलेन्द्र धाराबाहिक रूपमा कविता वाचन गरिरहेको देखिन्थ्यो ।
शैलेन्द्र दशौँ सकेर एघारौँ कविता वाचन गर्ने तयारीमा थियो । उसले कोटको खल्तीबाट नयाँ कविता निकाल्यो । कविताको शीर्षक थियो ‘क्लाइमेक्स’ । कौतूहलपूर्ण शीर्षक सुनेर श्रोतागणले उत्साहित हुँदै ताली पिटे । कविता वाचन गर्नुअघि शैलेन्द्रले चारै दिशामा एकसरो नजर दौडायो । उसका आँखा तुफानी वेगमा मञ्चतर्फ आइरहेकी आफ्नी श्रीमतीमाथि परे । शैलेन्द्रको अनुहारको रूप–रङ पोखराको मौसमझैँ फेरियो ।
शैलेन्द्रकी श्रीमती सरासर मञ्चमा पुगी ।

“नातिलाई १०५ डिग्री ज्वरो आएको छ । छोराबुहारी विदेशमा छन् । बिहानै घरबाट निस्केको मान्छे दिनभर बेपत्ता ! यहाँ खोज्छु छैन, त्यहाँ खोज्छु छैन ! कवि टोपलिएको छ । दिनभर कविता सुनाउँदै हिँड्छ । सपना पनि कविताकै देख्छ । कमाइ भने दुई पैसाको छैन ! खुरुक्क घर हिँड्ने कि ...... ?” उसले कडा चेतावनी दिई ।
शैलेन्द्र चुपचाप श्रीमतीको पछि लाग्यो ।

अब पालो आयो आशाको । उपयुक्त समयको पर्खाइमा रहेकी ऊ आज ‘ऋषि दुर्वासा’ को अवतारमा थिई । आशा कथानकलाई ‘क्लाइमेक्स’ दिन दीपकसामु पुगी । “बिहानदेखि कता बेपत्ता ? फलानो ठाउँमा छु भन्न त पर्छ । फोन गर्छु मोबाइल स्विच अफ छ । तिमी साहित्यकारहरू कहानी खोज्न देश–विदेश चहार्छौं तर आफ्नै द्वारभित्रको कथाबाट बेखबर रहन्छौँ । तिमीजस्ता साहित्यकारबाट आजित भइसकेँ म । अब म माइती जान्छु । आमाको काखमा पीडाको भारी बिसाउँदै बाँकी जीवन उतै बिताउँछु । बाई बाई दीपक !” आशाले ज्वारभाटा विस्फोट गरी ।

आशा यति भन्दै ट्याक्सीतिर लम्किई । दीपक
‘आशा–आशा’ पुकार्दै पछिपछि कुँद्यो ।
आशा रोकिने पक्षमा थिइन । ऊ दायाँ–बायाँ नहेरी ट्याक्सीमा हुइँकिई । सेकेण्ड–सेकेण्डमा आशा र दीपकबीचको दूरी बढ्दै गयो । दीपकका आँखा तलाउझैँ भरिए । परेलीको बाँध छिचोल्दै अश्रुधारा बहन थाले । दीपकले आशा चढेको ट्याक्सीलाई हेरिरह्यो । फगत हेरिरह्यो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?