logo
२०७८ कार्तिक ११ बिहीवार



व्यास नपाको आफ्नै पिसिआर ल्याब सञ्चालन

स्वास्थ्य |
प्रदेश |


व्यास नपाको आफ्नै पिसिआर ल्याब सञ्चालन


प्रकाशचन्द्र भट्टराई
दमौली, असोज ७ गते । तनहुँको व्यास नगरपालिकाले आफ्नै पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । वडा नम्बर १० को दुम्सीमा स्थापना गरिएको ल्यावको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले विहिबार उद्घाटन गर्नुभयो ।

पिसिआर रिर्पाेट आउन ढिलाई भएपछि व्यास नगरपालिको आफ्नै पिसिआर ल्याव सञ्चालन गर्ने निर्णय गरेको थियो । ल्याव सञ्चालनका लागि सङ्घीय सरकारले ५० लाख, प्रदेश सरकारले २५ लाख रुपियाँ उपलब्ध गराएको थियो । त्यसबाहेक नगरपालिकाका जनप्रतिनिधिले १३ लाख, कर्मचारीहरुले आठ लाख, हेफर इन्टरनेशनल नेपालले चार लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले तीन लाख, तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाले दुई÷दुई लाख रुपियाँ उपलब्ध गराएका थिए ।

ल्याब सञ्चालनका लागि सरकारी निकाय र सङ्घ संस्थाको तर्फबाट एक करोड ७ लाख ७६ हजार रुपियाँ प्राप्त भएको थियो भने खर्च एक करोड ३२ लाख १५ हजार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उक्त रकम पूर्वाधार निर्माण र ल्याव मेसिन खरिद कार्यमा खर्च भएको सिग्देलले बताउनुभयो ।

ल्यावको उद्घाटन गर्दै मन्त्री अधिकारीले कोरोना महामारीका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारवीच हातेमालो हुनु आवश्यक भएको बताउनुभयो । परीक्षणका लागि स्थानीय सरकारको आफ्नै प्रयोगशाला हुनु स्वागतयोग्य भएको मन्त्री अधिकारीले बताउनुभयो । व्यास नपाका प्रमुख बैकुण्ठ न्यौपानेले सबैको साथ र सहयोगले पिसिआर ल्याब सञ्चालन गर्न सकिने बताउनुभयो । उक्त ल्याबबाट तनहुँका सबै स्थानीय तहको पिसिआर परिक्षण गर्न सकिने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

सो कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त प्रयोगशालामा बिहीबारबाट नै सेवा सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । सोतीकाअनुसार प्रयोगशालामा एक पटकमा ९६ जनाको परीक्षण गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?