logo
२०८१ बैशाख ८ शनिवार



स्वास्थ्य बीमाको साढे तीन अर्ब भुक्तानी बाँकी, सेवा बन्द गर्दै अस्पताल

स्वास्थ्य |


स्वास्थ्य बीमाको साढे तीन अर्ब भुक्तानी बाँकी, सेवा बन्द गर्दै अस्पताल


काठमाडौैं, असोज ७ गते । स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले साढे तीन अर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको स्वास्थ्य बीमा बाेर्डले जनाएको छ । यता, सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगराउँदा मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालले स्वास्थ्य बीमा बापतको सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रैसनका अनुसार सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा असोज एक गतेबाट बन्द गर्नुपरेको बताउनुभयो ।

“सरकारले हामीलाई स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नगरेको कारणले बाध्य भएर बीमा बापतको सेवा बन्द गर्नुपरेको हो”उहाँले भन्नुभयो । आफूहरुले भुक्तानी रकम उपलब्ध गराउन स्वास्थ्य बीमा बाेर्डलाई पत्र लेखेर पठाएको बताउनुभयो । दुई महिना अघिदेखि स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम उपलब्ध गराउने जनाउँदै आएपनि पछिल्लो समयमा भुक्तानी नआएकाले औषधि खरिदमै समस्या भएकाले सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाले यो साताबाट नै अस्पतालहरुलाई भुक्तानी दिन सुरु गरिने बताउनुभयो । स्वास्थ्य बीमा बोर्डमै रकम अभाव र जनशक्तिको अभावका कारण पनि रकम भुक्तानीमा समस्या भएको उहाँको भनाइ छ । केही भुक्तानीहरु प्रिमियमबाट उठेको रकमबाट समाधान गरिए पनि बाँकी भुक्तानी भने केही दिनमै प्रदान गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा बार्डका अनुसार अहिले देशभर सामुदायिक, निजी र सरकारी गरी ४२९ वटा अस्पतालले स्वास्थ्य बीमासम्बन्धी सेवा प्रदान गरिरहेका छन् । जसमा साढे १३ लाख परिवार स्वास्थ्य बीमामा जोडिएका छन् भने साढे ४५ लाख नागरिक यसमा आबद्ध छन् ।सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्धेश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएपछि स्वास्थ्य बीमामा नागरिकहरुको आकर्षण बढ्दो छ तर यसको व्यवस्थापनमा भने चुनौती सिर्जना हुनेगरेको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?